खेल

टी–२० मा एबी डिविलियर्सले बनाए नयाँ कीर्तिमान

टी–२० मा एबी डिविलियर्सले बनाए नयाँ कीर्तिमान

काठमाडौं । गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटका तीन वटै स्पर्धाबाट सन्यास लिएका एबी डिविलियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका छन् । ३५ वर्ष पुग्न लागेका साउथ अफ्रीकी लोकप्रिय खेलाडी डिविलियर्सले आइपीएल (इन्डियन प्रिमियर लिग) २०१९ अघि ५० बलमा अविजीत शतक प्रहार गरेका हुन् । साथै, उनले इंग्ल्याण्ड क्रिकेट टोलीका ओपनर एलेक्स हेल्स (अविजीत ८५) सँग तेस्रो विकेटका लागि अविजीत १८५ रनको साझेदारी गर्दै विश्व कीर्तिमान बनाएका छन् । 

 

सोमबार चटगाउको जहर अहमद चौधरी रंगशालामा ढाका डाइनामाइट्सविरुद्ध भएको खेलमा १८७ रनको लक्ष्य पछ्याउने क्रममा डिविलियर्सको टोली रंगपुर राइडर्सले पाँच रन बनाउँदा २ विकेट गुमाएको थियो । क्रीस गेललाई १ र रिली रोसो शून्य रनमा आन्द्रे रसलले आउट गरेपछि तेस्रो नम्बरमा डिविलियर्स ब्याटिङ गर्न मैदान प्रवेश गरे । उनी मैदान प्रवेशसँगै बलर चुुटिन थालिए । डिविलियर्स नायक बनेको यो खेलमा रंगपुर राइडर्स १० बल अगावै विजयी भयो ।  


आइपीएलमा रोयल च्यालेन्जर्स बेङ्लोरबाट खेलिरहेका डिविलियर्सको टी-२० मा यो चौंथो शतक हो । उनका अलवा क्विन्टन डि कक पनि अफ्रीकी क्रिकेटर हुुुन् । उनले पनि टी-२० मा ४ शतक प्रहार गरेका छन् । बीपीएलमा गरेको कीर्तिमानी साझेदारीसँगै डिविलियर्सले टी-२० मा पाँच पटक १५० माथिको साझेदारी गरेका छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पनि पाँच पटक नै १५० रन माथिको साझेदारी गरेका छन् । क्रीस गेलले सात पटक सय रनमाथिको साझेदारी गरेका छन् । 

टी २० मा तेस्रो विकेटका लागि रेकर्ड साझेदारी 
१. एबी डिविलियर्स एलेक्स हेल्सः अविजीत १८५ रन, २०१९ चटगाउँ, बंगलादेश
२. इयान बेल र एडम होजः १७१ रन, २०१८
३. सुरेश रैना र अक्षदीप नाथः १६३ रन, २०१८ कोलकाता

एबी डिविलियर्स

विशेष