मनोरञ्जन

रेखा थापा कन्ट्रोभर्सी, पत्रकारलाई झाप्पडदेखि ठगीमुद्दासम्म

रेखा थापा कन्ट्रोभर्सी, पत्रकारलाई झाप्पडदेखि ठगीमुद्दासम्म

काठमाडौं ।कुनै समय नेपली चलचित्र क्षेत्रमा एकक्षत्र राज गरेकी नायिका रेखा थापाको फिल्मी क्यारियर अहिले ओरालो लाग्दो अवस्थामा छ । रेखाका पछिल्ला तीन फिल्म ‘मालिका’, ‘रुद्रप्रिया’ र ‘पलाँस’ले राम्रो व्यापार गर्न सकेनन् । मालिका र पलाँसले त पानी पनि नमागी फ्लप भएपछि उनको ‘फिल्म राम्रो बनाउछु’ भन्ने आत्मविश्वास सप्रमाण बेकार भएको छ ।  
नेपालका वरिष्ठ पत्रकारहरुले रेखालाई हिरोइन नभएर ‘हिरो’ हुन् र ‘उनका स्टारडमले फिल्म चल्छ’ भन्दै भरिने गरेको शाब्दिक फूलबुट्टा पनि ओइलाएका छन् । 

 

निखिल उप्रेती 

कुनै समय यस्तो पनि थियो जतिबेला रेखा र निखिललाई लिएर फिल्म बनाउन निर्देशक निर्माता जोडतोड कोसिस गर्थे । रेखा र निखिलका फिल्महरूले बजार तताउथ्यो । एकअर्काको स्टारडमको घमण्डले उनीहरूको सम्बन्धमा दरार आयो । रेखाले निखिललाई आफू जसरी नाचेर अभिनय गरेर देखाउन च्यालेन्जसमेत गर्न थालिन् । तर रेखालाई नृत्यमा अब्बल भनेर नेपाली फिल्मी क्षेत्रले चिन्दैन ।  

 

विराज भट्टलाई मरेको कुकुर

रेखा थापाको चलचित्र ‘हिम्मत’बाट विराज भट्ट नायकको पूर्ण भूमिकामा आए । यसअघि उनी सहायक भूमिकामा सिमित थिए । दुवैको जोडीलाई दर्शकले पनि रुचाए । विराज र रेखा चलेका नायक नायिकाको सूचीमा थिए । केही समयपछि कहानी फेरियो । विराज भट्ट अभिनित फिल्म ‘दामिनी’ र रेखा थापाको फिल्म ‘काली’ एकसाथ प्रदर्शनमा आयो । ‘काली’ फिल्मले राम्रै व्यापार ग¥यो । ‘दामिनि’ कमजोर साबित भयो । लगत्तै रेखा थापाले ‘मरेको कुकुरलाई काँध राखेर बाघसँग प्रतिस्पर्धा गर्न नआउनू’ भनिन् । त्यो अभिव्यक्तिलाई धेरैले विराजलाई रेखाले मरेको कुकुर भनेको अर्थमा बुझे । जवाफमा विराजले रेखालाई ‘अनपढ’ र ‘म्यानरलेस’को संज्ञा दिए । रेखाको औपचारिक पढाई कक्षा ८ सम्म मात्रै हो । 

 

आर्यन सिग्देल 

रेखा थापाकै फिल्म ‘किस्मत’बाट आर्यन सिग्देलले सिने क्षेत्रमा पाइला राखे । रेखा–आर्यनको जोडी पनि जम्यो । उनीहरुले ‘हिफाजत’, ‘कसले चो¥यो मेरो मन’ जस्ता फिल्ममा एकसाथ काम गरे । ‘कसले चो¥यो मेरो मन’ पछि रेखाको र आर्यनको सम्बन्धमा पनि खटपट आयो । यतिमात्र होइन, दुवैले एकअर्काको आलोचना गर्दै पनि हिँडे । आठ वर्षसम्मको पानी बराबरको सम्बन्धलाई तोडेर यी दुईको पूनर्मिलन भयो । त्यसपछि पछिल्लो पटक फिल्म ‘रूद्रप्रिया’ मा उनीहरूले एकसाथ काम गरे । अहिले उनीहरूको सम्बन्ध राम्रो छ । रेखा र आर्यनको आठ वर्षपछिको पूनर्मिलनको चर्चाले फिल्म ‘रूद्रप्रिया’ को राम्रै प्रचार भएको थियो । दुईबीचको खटपटको कारण भने उनीहरू दुवैले खुलाएका छैनन् । 

 

सुर्दशन गौतम 

रेखा थापाले आफ्नो फिल्म ‘हिम्मतवाली’ मा दुई हात नभएका नेपालका पूर्वनागरिक सुुर्दशन गौतमलाई नायकको रुपमा लिइन् । त्यतिबेला सुदर्शनले सगरमाथाको सफल आरोहण गरेको हास्यास्पद खबरले बजार तताएको थियो । चलेका पात्रलाई प्रयोग गरेर सिनेमा चलाउन जानेकी रेखा र शेर्पाको बुई चढेर सगरमाथा आरोहरणको अफवाह फैल्याउने क्यानेडियन सुदर्शनको केमेष्ट्रि मिल्यो । 
रेखाले आफूलाई प्रेमको मामिलामा ‘ग्रिन सिग्नल दिइन्’ भन्ने अभिव्यक्ति सुदर्शनले दिए । हिम्मतवाली हलबाट उत्रिसक्दा सुदर्शनसँगको प्रपोगाण्डाको यात्रा पनि सकियो । रेखाबाट आर्दशका रुपमा प्रस्तुत गरिएका सुदर्शन मानव तस्करीको अभियोगमा पक्राउ परे । 

 

निकम्मा निर्देशक श्याम भट्टराई

रेखा थापा र चलचित्र निर्देशक श्याम भट्टराईको विवाद पनि निकै चल्यो । रेखाले फिल्म ‘हिम्मतवाली’ मा श्याम भट्टराईलाई निर्देशकको रुममा लिइन् । तर फिल्मकोबीचमा नै रेखाले श्याम भट्टराईलाई ‘निकम्मा निर्देशक’ भन्दै किक आउट गरिन् । स्मरण रहोस, विवाद भन्दाअगाडि रेखा र श्याम एक अर्कालाइ दाजु बहिनी मान्थे । हिम्मतवाली व्यापारिक रूपमा सफल रह्यो । भट्टराईले मर्यादा, मौसम, च्यालेन्ज, लंका जस्ता फिल्म निर्देशन गरेका छन् भने गहना, जानकी, कथा, दुइ थोपा आँशु जस्ता टेलिसिरियलको निर्देशन गरेका छन् । 

 

दश वर्ष छविसँग बसेर पनि ‘भर्जिन’/ आफ्नै कुरालाई ‘ननसेन्स’

निर्माता छवि ओझासगँको सम्वन्ध त जग जाहेर नै छ । रेखा थापालाई नेपाली चलचित्र क्षेत्रमा भित्र्याउने निर्माता हुन् छवि ओझा  । निर्माता र नायिकाको जोडी प्रेम सम्बन्ध हुँदै वैवाहिक बन्धनमा बाँधियो । वैवाहिक सम्बन्धको दशांै वर्षमा विवाद बढ्यो । दुवैले एक अर्का प्रति खुल्ला रुपमा नै विष ओकल्न थाले र अन्यमा सम्बन्ध टुट्यो । सम्बन्ध विच्छेदको केहि समयपछि एक अन्र्तवार्तामा रेखाले आफू भर्जिन भएको दावी गरिन् र जग हसाइन् । फिल्म ‘आधी बाटो’ हेर्न पुगेकी रेखाले पत्रकारसँको कुराकानीमा आफूले कहिल्यै विवाह नगरेको वकालत गरिन् । यससँगै उनले अफू अहिलेसम्म भर्जिन रहेकोसमेत दाबी गरेकी थिइन् । पछि पत्रपत्रिकामा यो समाचार आउन थालेपछि रेखालाई आफैेंले बोलेको कुरा बोक्नु न टोक्नु भएपछि यो कुरा ‘ननसेन्स’ भएको पनि दाबी गर्न भ्याइन् । 

 

पत्रकारको झापु भेटेपछि घाँटी दबाउन गइन् 

गाईजात्रा अङ्कमा पत्रकार चिरञ्जीवि पैडेलले वि स २०६९ को गाइजात्रामा रेखा थापाको विषयमा एक लेख लेखेका थिए । आफ्नो व्यक्तिगत विषयमा लेख लेखेको भनेर रेखाले पत्रकार चिरञ्जीवी पौडेललाइ उनकै अफिसमा गएर झापड लागाइदिन् । गाइजात्राको अंकमा रेखा थापा सौर्य दैनिकमा ‘रेखा थापाको मिनिस्कर्ट रहस्य’ शिर्षकमा अश्लील, अभद्र सामाग्री छापेपछि स्थिति कुटाकुटसम्म पुगेको थियो । घटनापछि ‘सौर्य दैनिक’मा ‘रेखा थापासँग जे भयो’ शिर्षकमा एक पेजको लेख छापिएको थियो । 
रेखाले पौडेललाई केको आधारमा लेख्यौ भनेर सोध्दा पौडेलले उत्तर दिएछन्, ‘गाईजात्रे लेखमा पनि आधार चाहिन्छ र ? कल्पना गरेर लेखेको हुँ ।’ त्यसपछि रेखाले जुरुक्क उठेर भनिन्, ‘म पनि कल्पना गर्छु है ।’ पौडेलको नजिक गएर उनले एकाएक गालामा एक थप्पड हानिन् । तत्काल पौडेलले पनि रेखालाई अर्को झापड फर्काए । त्यसपछि रन्थनिएकी रेखाले पौडेलको घाँटी समाउन गइन् । सँगै रहेका एक व्यक्तिले घटना साम्य बनाएका थिए । 

 

कलाकारहरुप्रति दृष्टिकोण बिगार्नमा रेखा 

सांस्कृतिक कार्यक्रमहरुमा आउनु भनेर आयोजकसँग प्रतिबद्धता जनाउने, पैसा पनि लिने तर तोकिएको दिन कार्यक्रम स्थलमै नजाने र फोन पनि नउठाउनेमा नायिका रेखा थापाको पनि नाम छ । रेखाले २०७२ सालमा खोटाङमा जनसेवा समाजले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने भनेर अग्रिम पारिश्रमिक लिइन् । कार्यक्रमका लागि प्रमोसनल भिडियो पनि तयार गरियो । रेखाले सबै खोटाङबासीलाई कार्यक्रममा आउन भिडियोमार्फत आह्वान पनि गरिन् । तर कार्यक्रम हुने दिन रेखा आफै गइनन् । रेखा आउने भनेर आयोजकले टिकट बेच्ने, स्पोन्सर खोज्नेदेखि जनतालाई समेत बोलाए । तर यता रेखाले आयोजकको फोन पनि उठाइनन् । आयोजकले पनि रेखाविरुद्ध ठगीमुद्दामा उजुरी दियो । 
यस्तो हर्कत मलेसियामा गर्ने भनिएको कार्यक्रममा पनि उनले यस्तै गरिन् । आउँछु भन्दै कार्यक्रमको पोस्टरमा फोटो छपाउन लगाइन् तर गइनन् । 

 

उडन्ते शैलीमा राजनीति

तत्कालीन एकीकृत नेकपा माओवादीको सिंहदारवार घेराउ कार्यक्रम चलिरहँदा प्रचण्डसँग नाचेपछि रेखा थापाको राजनीतिक रुपमा चर्चा चल्यो ।

प्रचण्डसँग नाचेको फुटेज भाइरल नै भयो । त्यसकै परिणाम मान्नु पर्छ २०७४ जेष्ठ ४ मा रेखा थापा औपचारिक रुपमा नै एमाओवादीमा प्रवेश गरिन् । पार्टी प्रवेश गर्दादेखि नै यस्तो गर्छु उस्तो गर्छुको भाषण शुरु भइसकेको थियो । रेखा थापाले टिकट पाउने पनि पक्का भयो । तर रेखाको सांसद बन्ने सपनाले पूर्णरुप पाउन सकेन । जब निर्वाचन आयोगले रेखाको नाम मतदाता नामावलीमा नभएकको खुलासा गरिदियो । मतदाता नामावलीमा आफ्नो नाम छैन भन्ने पनि सम्भवतः रेखालाई थाहा थिएन । मतदाता नामावलीमा नाम नभए पनि सांसद हुन दौडधुप गरेकी रेखाको त्यो हस्याङफस्याङलाई धेरैका लागि खिसिट्युरीको मसला बन्यो । 

दोस्रो संविधानसभाको चुनावमा एमाओवादी पहिलोबाट तेस्रोमा झ¥यो । त्यसपछि रेखाको शक्तिप्रतिको मोह भंग भयो । रेखाले पार्टी छोडिन् कि पार्टीले रेखा थाहा भएन । एमाओवादी छाडेपछि रेखा कमल थापाको पार्टी राप्रपा प्रवेश गरिन् । लोकतन्त्र र धर्मनिरपेक्ष राष्ट्रको कुरा गर्ने रेखा एका एक हिन्दु राष्ट्र र राजतन्त्रको माग गर्न थालिन् । राप्रपा पनि फुट्यो । कमल थापा छाडेर रेखाले पशुपति शमशेरको राप्रपा छानिन् । अहिले रेखाको राजनीतिक चर्चा मौन छ । 

राजनीतिमा स्थान बनाउन फिल्ममा झै रेखालाई सजिलो भएन । सँगसँगै जस्तो राजनीतिमा प्रवेश गरेकी कोमल वली अहिले सांसद छिन् । करिश्मा मानन्धर नयाँ शक्तिमा छिन् । उनी पढ्नसमेत थालेकी छिन् । तर रेखाले बौद्धिक क्षमता उकास्न भन्दा सस्तो चर्चा हुने काममा आफूलाई व्यस्त राखेको टिप्पणी हुने गरेको छ । 


 
 

रेखा थापा कन्ट्रोभर्सी

विशेष