कभर स्टोरी

राजसंस्था फर्काउन भारतको चलखेल, पशुपति र लोहनीबीच नसोचेको मिलन

पार्टीको नाम–‘राप्रपा उदारवादी’,  सिद्धान्त–‘राजसंस्थासहितको प्रजातन्त्र’

राजसंस्था फर्काउन भारतको चलखेल, पशुपति र लोहनीबीच नसोचेको मिलन

उमेरले नेटो काट्न थालेपनि राप्रपा (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर राणा ठम्ठम्ती हिंड्छन् । उनको जोश जाँगरमा कुनै कमी छैन । जति राजनीतिक  उतारचढाव आएपनि, पार्टीमा जतिसुकै बिग्रह र आँधीबेहेरी चलेपनि उनको जोश र धैर्यता अचम्मको छ । 

 


राप्रपाबाट छुट्टिएर एकीकृत राप्रपा राष्ट्रवादी गठन गरेका अर्का नेता डा. प्रकाशचन्द्र लोहनी बिद्वान छन् तर उनको नेतृत्व क्षमता राणाको जस्तो छैन । राणाको सम्र्पक, धन र शान सौकतका अगाडि लोहनीको बिद्वताबाहेक सबै हलुका छन । लामो समय अलग–अलग पार्टीमा रहेका यीनै दुई नेता शुक्रवारबाट एक हुँदैछन । अर्थात राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकता हुँदैछ । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले तीनवटा टुक्रामा बिभक्त छ । तेस्रो राप्रपा भनेको कमल थापाको हो । राप्रपा प्रजातान्त्रिक र  एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता हुने भएपछि दुई टुक्राको योग ‘राप्रपा उदारवादी’ बन्ने छ । अर्थात, एकीकरणपछिको पार्टीको नाम ‘राप्रपा उदारवादी’ हुनेछ ।  पार्टीको मार्गनिर्देशक सिद्धान्त ‘सर्वस्वीकार्य राजसंस्थासहितको प्रजातन्त्र’ मा सहमति भएको छ । अर्थात, आफूलाई गणतन्त्रमा गएको बताउने राणाले राजसंस्था स्वीकार गरेका छन् ।

 

हिन्दू राष्ट्र र स्थानीय स्वायत्त शासनको बिषयमा पहिलेदेखि नै सहमति भएकाले यो बिषयमा कुनै समस्या भएन । अब राजसंस्था फर्किदैन, यसको काम छैन भन्न थालेका राणाले राजसंस्थासहितको प्रजातन्त्रमा फर्किनु पक्कै चानचुने कुरा होइन । भारतसंग निकै घनिष्ट र पारिवारिक सम्बन्धसमेत रहेका राणाको यो कोल्टे फेराईलाई भारतको भित्रि चालको संकेतकारुपमा समेत बुझन सकिन्छ । 

 


अध्यक्ष राणाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र  बिदेशमन्त्री शुष्मा स्वराजसँग अन्योन्याश्रित सम्बन्ध छ । बिदेशमन्त्री शुष्माले पहिलोपटक काठमाडौं आउँदा बत्तिसपुतलीस्थित होटल द्धारिकामा पशुपतिशम्शेर राणासंग सबैभन्दा पहिलो भेट गरेकी थिइन् । त्यो निकै पारिवारिक भेट थियो । भेट चल्दै गर्दा घरमा कुकुर मरेको खबर आएपछि राणाले भेटबीचैमा छोडी अस्पतालतर्फ गएको खबरले निकै चर्चा लिएको थियो । त्यो बेला मरेको कुकुरलाई अंकमालगरी पशुपति लामो समय अस्पतालमै रोएका थिए ।  

 


पशुपति शमशेर राणाकी आफनै साली बसुन्धरा राजे भारतको राजस्थानमा मुख्यमन्त्री समेत बनीसकेकी छन । भारत सरकार र स्वयं भाजपासँग गहिरो सम्बन्ध रहेका राणाले राजसंस्था अवलम्बन गर्नुलाई भारतको इशाराकारुपमा समेत अथ्र्याइएको छ । हुनपनि, भाजपाले नेपाललाई हिन्दू राष्ट्र बनाउन र राजसंस्था ल्याउन भित्रिरुपमा ठूलो पहल अहिले पनि गरिरहेको छ । 

 


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग पूर्वराजा ज्ञानेन्द्रको अर्थपूर्ण भेट, शाहलाई भारतमा राजाकै हैसियतमा गरिएको अभिनन्दन, नेपालमा हिन्दू राष्ट्र र राजाको स्थानका सवालमा भारतसंगै चीनको पनि सकारात्मक इशारा लगायतका बिषयले मुुलुकको राजनीतिले चाँडै कोल्टे फेर्ने र त्यसमा राजसंस्थाको प्रमुख स्थान रहने आंकलन गर्न थालिएको छ । पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीबीचको एकताले तत्काल स्पष्ट संकेत गरेको चुरो कुरो यही हो । अझ यसमा कमल थापा समूहमा रहेका लोकेन्द्रबहादुर चन्द, जयन्त चन्द, दिलनाथ गिरी, दिनेश श्रेष्ठ लगायतका नेताहरुसमेत आउने भएपछि राणा र लोहनीको फूर्तिफार्ती पनि निकै बढेको छ । 

 


समस्या के छ भने केशरबहादुर बिष्ट र दीपक बोहराले यो एकतालाई भित्रैदेखि स्वीकार्न सकेका छैनन् । नयाँ पार्टीमा राणा र लोहनी दुवै जना अध्यक्ष हुने कुरामा उनीहरु सहमत छैनन् । राणा अध्यक्ष भएपनि लोहनी अध्यक्ष नभए हुन्थ्यो भन्ने उनीहरुको धारणा छ । लोहनीलाई अध्यक्ष स्वीकार्न गाहे हुने स्पष्ट जवाफ पनि उनीहरुले राणालाई दिइसकेका छन । बिष्ट र बोहरा तत्काल असन्तुष्ट जस्तो देखिएपनि बिस्तारै सहमतिमा आउने उनीहरुको बिश्वास छ । 

 


तत्कालीन राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि कमल थापा राप्रपाको अध्यक्ष भएका थिए । अहिले थाप बाहेकको एकता हुँदैछ । थापाको दम्भ र धोकाधडी शैलीका कारण उनलाई पार्टीमा ल्याए फेरि संकट निम्तिने उनीहरुको बुझाइ छ । यसकारण, थापाको पार्टीमा रहेका प्रतिभावान नेताहरुलाई मात्र पार्टीमा भित्र्याउने उनीहरुको योजना छ । 

 


पार्टी एकतापछि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका प्रजातान्त्रिक पार्टीसँग सहकार्य गरी बर्तमान बामपन्थी सरकारबिरुद्ध आन्दोलन चर्काउने योजना छ । कांग्रेस आफै आन्दोलनमा गैसकेकोहुँदा राप्रपासँगको सहकार्य उसलाई सहज नै हुनेछ । राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारीमा रहेकाले तीनवटै शक्ति आन्दोलनमा एकसाथ हुने लगभग निश्चित छ । 

 


क्रिश्चियानीटीलाई प्रवद्र्यन गर्दै आयोजित एशिया प्यासिफिक समिट, अमेरिकासँगको द्वन्द्व, अन्तर पार्टी विवाद, चिकित्सा शिक्षा बिधेयक, बढ्दो भ्रष्टाचार, बेथिती, महङ्गीलगायतका कारण सरकार दैनिक लोकप्रियता गुमाउँदै गैरहेको छ । 


राजनीतिको पानी धमिलिएको बेला राणा र लोहनीको राजासहितको प्रजातान्त्रिक व्यवस्थाको सपना तुहिन्छ वा पूरा हुन्छ, यसको लागि केही समय कुर्नैपर्छ । 
 

पशुपतिशम्शेर राणा पूर्वराजा ज्ञानेन्द्र शाह राजसंस्था लाेहनी

विशेष