नर्सहरूको बेरोजगारीले सीमा नाघ्यो, ८६ हजारमध्ये ४९ हजार बेरोजगार
काठमाडौं । देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् ।
काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् । निजी स्वास्थ्य संस्थामा करिब १३ हजार कार्यरत छन् ।
परिवार कल्याण महाशाखा नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको यकिन तथ्यांक नभएको बताउँछिन् । सरकारीको पनि ठ्याक्कै तथ्यांक भने छैन । मन्त्रालयले पहिलोपटक गरिरहेको कर्मचारीको विवरण संकलन सकिएपछि नर्सको आधिकारिक तथ्यांक आउने अर्यालको भनाइ छ । मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दी दुई हजार नौ सय ४५ खाली छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
नर्स बेरोजगार