Technology

एउटै विद्युत् उत्पादन गृहमा तेस्रोपटक आगलागी, ३५ मेगावाट विद्युत् गिरावट

एउटै विद्युत् उत्पादन गृहमा तेस्रोपटक आगलागी, ३५ मेगावाट विद्युत् गिरावट

नुवाकोट । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ । एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ । 

 

बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं ६ मा रहेको छ दशमलव छ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए । उनका अनुसार आगलागीले क्षति पुर्‍याएका उपकरण मर्मत र परिवर्तन गर्न एक करोडभन्दा बढी लाग्ने देखिएको छ भने सञ्चालनका लागि करीब एक साता लाग्ने अनुमान छ । 

 

उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयवासीलाई एक घण्टाभन्दा बढी समय लागेको थियो । आगलागीका कारण उक्त केन्द्रबाट विद्युत् उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत बन्द भएकाले राष्ट्रिय प्रसारणलाइनमार्फत गए रातिदेखि विद्युत उपलब्ध गराइएको छ । उक्त उत्पादन गृहमा गत असार २६ र मङ्सिर ८ गते पनि आगलागी भएको थियो । यसअघि असोज २६ गते पनि उक्त विद्युत् उत्पादन गृहमा आगलागी भएको थियो ।

आगलागी

विशेष