कभर स्टोरी

वाइडबडी,  रवीन्द्र अधिकारी र निगम थला पार्ने गिरोह 

ध्रुव रिजाल 

वाइडबडी,  रवीन्द्र अधिकारी र निगम थला पार्ने गिरोह 

काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद गर्ने प्रक्रियादेखि जहाज निर्माण भइरहेको बेलासम्म अनेक हल्ला चलाइए । अन्नपूर्ण पोस्टले त वाइडबडी भाडामा ल्याएको भन्ने हावा समाचार पनि लेख्यो ।  निगमले जहाज किन्दै नकिनोस भनेर धुप हालेर बस्ने विदेशी एअरलाईन्सहरुको चलखेल सबैभन्दा महत्वपूर्ण छ यो मामिलामा । कतिसम्म भनियो भने ‘फ्रान्सको टुलुस सहरमा निगमले किन्ने जहाज बन्दै गरेको छैन । कुनै पुरानो रंगरोगन गरेर ल्याउने मात्रै हो, जहाज नै छैन’ भनेपछि निगमका भ्रष्टहरुकालागि मौका मिल्यो । ३८ जना त जहाज बनाएको हेर्न भनेर फ्रान्स घुम्न गए । ती मध्ये २ जनाले भ्रमण प्रतिवेदन पेश गरे । बाँकीले मस्ती । 

 

धेरैले नबुझेको कुरा के हो भने युरोपको एअरबस र अमेरिकाको बोइङले जहाज किन्ने ग्राहक वा मिलाइदिने एजेन्टलाई कमिसन दिन छाडेको धेरै भयो । कम्पनीसँग सोझै खरिद गर्दा कमिसन नपाइने भएपछि नेपाल वायुसेवा निगमका सञ्चालक, विदेशमा बिचौलीयाको काम गर्ने एनआरएन नेपालीहरुको मिलेमतोमा १ हजार घण्टावाला खेल शुरु भयो । अर्थात हजार घण्टा उडेको भए पनि हुने भनेर कम्पनीसँग सोझै नकिन्ने खेल खेलियो । 

 

टेण्डरमा पनि एएआरले मात्रै पार्ने गरि खोलियो । अनि सोझै कम्पनीसँग खरिद गर्नु भन्ने सुझावविपरीत नेपाल वायुसेवा निगमले एएआरसँग सम्झौता गर्यो । एएआर निगममिलेर १ डलरे हाइफ्लाइ एक्स नामक भर्चुअल कम्पनी खडा गरेर दुईवटा बिचौलिया तयार पारियो । अब एअरबसले एएआरलाई बेचेको जहाज निगमलाई आयो । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने, ‘एएआरले हाइफ्लाइ एक्सलाई बेच्न तयार पारेको जहाज उसले नलिने भएपछि हामीलाई दिएको हो ।’ एक डलरे कम्पनीले जहाज किन्ने हावादारी कुरा शुरुमा अनुमान नै भएन । 

 

कमिसनको चक्करमा परेकाहरुले सोझै जहाज कम्पनीसँग नकिनेर बिचौलियासँग किनेका हुन् भन्ने कुरामा अब दुईमत छैन । कमिसनको मात्रा ठूलो भएका कारण सञ्चालकहरुमा त्यसको असर परेको देखिन्छ । सञ्चालक समितिका सदस्यहरुले साँझबिहान गरेर संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको अध्ययन उपसमितिका सदस्यहरुलाई तारन्तार कल गर्नुको रहस्य पनि यहि हो । 

 

 

नेपालका नेता हुन् वा सेना प्रहरी वा संस्थानहरु । सबैलाई सबैभन्दा बढी रुची खरिद गर्नुमा हुन्छ ।  राष्ट्रपतिका लागि १८ करोडको गाडी, डेढ अर्बको हेलिकोप्टर, ३ सय वटा विद्युतीय बस, रेल, पानीजहाज जति पनि किन्न हतारो देखिन्छ, त्यसभित्रको अन्तर्वस्तु कमिसन हो । ध्यान दिएर हेर्नुस् सबका सब पदाधिकारीहरुलाई किन्नमै बढी रुची छ । 

 

वाइडबडी किन्न सुगतरत्न र उनको ग्याङले जहाज खरिदका लागि जति पनि प्रयास गर्यो, त्यसको एक मात्रै कारण कमिसन थियो, हो । कमिसनको लोभमा जहाज नकिनी नछाड्ने प्रयत्नमा उनीहरु लागे । बाहिर प्रचार भयो– विदेशी एअरलाईन्सवालाहरुले जहाज नकिन्ने दिएको लालचा निगम पदाधिकारीले लत्याए । वास्तवमा विदेशी एअरलाईन्स सञ्चालकहरुको लालचा निगम पदाधिकारीले लत्याएका होइनन्, बढी पैसा आउने गन्तव्य रोजेका मात्रै हुन् । 

 

अहिले खरिद गरिएका जहाजहरुले लगातार नौ घण्टासम्म मात्रै उडन सक्छन् । तर सिड्नीसम्म उडान गर्ने भन्ने योजना पेस गरेर सरकारसँग ऋण मागिएको थियो । सिड्नीसम्म यि जहाज जानै सक्दैनन् । तौल र क्षमतामा चलखेल गरेर जहाज किनेर ठूला रकम एएआरबाट लिइएकोमा अब दुई मत रहेन । 

 

 

तर विषय यतिमात्रै छैन । यो प्रकरणको अर्को डरलाग्दो पाटो पनि छ । जसरी निगमका पदाधिकारीले विदेशी एअरलाईन्सको प्रलोभन अस्वीकार गरेर  जहाज त किने । तर त्यो जहाज चलाउनै नदिने अर्को खेल रोकिएको भने छैन । नेपालमा विदेशी एअरलाईन्सको १ सय अर्बको व्यापार छ । त्यसमा नेपाल वायु सेवा निगमको ८ अर्ब जति मात्रै छ । बाँकी सबै विदेशीकै हो । 

 

नेपालका तीन सहित अन्य मुलुकका २९ एअरलाईन्सहरुले नेपालमा उडान भर्छन् । नागरिक उड्डयन प्राधिकरणबाट अनुमति चाहिँ ३० वटाले लिएका छन् । 

 

चीनबाट पाँच एअरलाइन्स, नेपालीले जान पाएनन् 


चीनका पाँच एअरलाईन्सले नेपालमा उडान भर्दै आएका छन् ।  उडान भर्ने चिनियाँ एअरलाईन्सहरुमा एअर चाइना, चाइन स्टर्न एअरलाईन्स, चाइन साउदर्न एअरलाईन्स, टिबेट एअरलाइन्स र सिचवान एअरलाईन्स छन् । २७ कात्तिकमा चीनका पर्यटन तथा संस्कृति मन्त्री लुओ सुगाङ काठमाडौं आए । समकक्षी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बेइजिङ र ग्वान्जाओमा उडान अनुमति चीनले दिनु पर्ने माग राखे । चिनियाँ पक्षले आफ्ना पर्यटनमन्त्रीको ‘सद्भाव भ्रमण’ भनेर टार्‍यो । नेपाली पक्षको तारन्तारका कारण चीनले हिमालयन एअरलाईन्सलाई चार्टड उडानको मात्रै अनुमति दिएको छ । 

 

विश्वका धेरै मुलुकमा अमान्य चीनमा निर्मित जहाज किनिदिएर नेपालले चीनलाई गुन नै लगाएको छ । चीनसँग खरिद गरिएका चारवटा साना जहाज विविध समस्याका कारण (वाइ १२ ई) नेपाल वायुसेवा निगमका लागि टाउको दुखाई भएको छ ।  अन्य दुई मझौला जहाज (एमए ६०)ले आन्तरिक उडान भर्दै आएका छन् । 

 

सबै मालामाल 
 

नेपाल गन्तब्य बनाउने सबैजसो अन्तर्राष्ट्रिय एअरलाईन्सहरुले नेपालमा मालामाल व्यापार गरिरहेका छन् । चीनले नै आफ्ना पाँच एअरलाईन्समार्फत नेपालमा उडान भर्दै आएको छ । नेपाल एअरलाईन्स, हिमालयन एअर र बुद्ध एअरसहित नेपालमा २९ वटा एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।  नेपालबाट पैसा लैजानेमा भुटानदेखि बंगलादेश, भारत जस्ता गरिब देशहरु मात्रै छैनन् ।  कोरियन एअर, हंङकङको क्याथे ड्रागन एअर, कुवेतको उतानिया, सिंगापुरको सिल्क एअर जस्ता एअरलाइन्सहरु  पनि छन् ।  भुटान जस्तो देशबाट समेत दुई एअरलाइन्सले नेपालमा उडान भर्छन् ।  नेपालमा उडान भर्ने सबै मालामाल छन् । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार भन्छन्, ‘संसारमा कतै नभएको नाफा नेपाल गन्तव्यमा विदेशी एअरलाइन्सहलाई छ । अरु सबैले नेपालबाट कुम्ल्याएर नाफा लैजाने अनि हामीले भने भएको जहाज पनि उडाउन नपाउने स्थिति बनेको छ ।’ 

 

यतिबेला नेपाल वायुसेवा निगमले २ वटा वाइडबडी जहाज खरिद गरेको छ । त्यो जहाजले चीन, कोरिया, जापान र साउदीमा उडान गर्न पाएको छैन । जानकार स्रोतहरुका अनुसार चिनियाँ कम्पनीहरुले नै सेटिङ मिलाएर नेपाली जहाज विदेश उड्न नै नदिने चलखेल गरिरहेका छन् । नेपाल एअरलाईन्सले धमाधम विदेश उडान गर्न पाउने हो भने ती विदेशी एअरलाईन्सहरुको व्यापार साँघुरिनेमा कुनै शंका छैन । यति बेला विदेशी एअरलाइन्सहरुको मनोमानी कायम छ । जापानबाट अमेरिका जानु भन्दा नेपाल आउन तीन गुणा बढी भाडा लाग्नुको अर्थ नेपाल सबैका लागि लुट्ने गन्तब्य बनेको छ । नेपाल आउने विभिन्न विदेशी २६ एअरलाईन्सहरुको वार्षिक कारोबार १ खर्ब रहेको छ । जसमा नेपाल वायु सेवा निगमको ७–८ अर्ब मात्रै छ । प्रमुख आयको ९० प्रतिशत लाभ त विदेशी एअरलाइन्सहरुले लिइरहेका छन् । नेपाल वायु सेवा निगमले नियमित उडान गर्न थाल्यो भने अन्यको आय कम हुन थाल्छ । यहि कारण नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नै छैनन्, हुँदै होइन, भाडामा हो जस्तो प्रचार पनि भइरहेका छन् । 

 

पर्यटनको विकासको कुरा गर्ने अनि ट्रेकिङमा आएका पर्यटकहरुलाई जानेरै बिरामी बनाउने र हेलिकोप्टर चार्टड गराएर काठमाडौंका सेटिङवाला अस्पतालमा लैजाने गरिन्छ । यो धन्दामा हेलिकोप्टर व्यवसायी–ट्रेकिङ कम्पनी–अस्पतालको नेक्सस स्पष्ट छ । यो नेक्ससमा रहेका केहीको मिडिया पनि छ । हेलिकोप्टर व्यवसायीको पोल खोल्ने र कारबाही प्रक्रिया अगाडि बढाउन थालेपछि उनीहरु पर्यटनमन्त्रीसँग रिसाएका छन् । स्रोत भन्छ, ‘त्यही कारण हो नेपाल वायु सेवाको जहाज चल्न दिनु हुँदैन भनेर लविङ भइरहेको । चीनसँग किनिएका जहाज पनि सुरक्षाको दृष्टिले जोखिमयुक्त होइन । प्रचार नै यसरी गरियो कि अरु चाइनिज सामान जस्तै हुन् चीनमा बनेका जहाज पनि । कुनै पनि बेला खस्न सक्छ झै गरी हल्ला गरियो । जुन साँचो होइन ।’

 

जहाज खरिद गर्नै नदिने खेल असफल भएपछि विदेशी र स्वदेशी हवाई माफियाले लेखाको अध्ययन उपसमितिलाई प्रभावमा पारेर कमिसनखोरहरुसँगै निगमलाई समेत थला पार्ने योजना बुनेको स्रोतको दावी छ । उपसमितिका सदस्यहरुलाई निगमले खरिद गरेको विमानको सम्पूर्ण सूचना हवाई माफियाले नै उपलब्ध गराएका थिए । 

 

निगम हडप्ने दाउ
 

यती एअरलाईन्सका मालिक आङछिरिङ शेर्पाको तागत कतिसम्म भने उनले आफ्नो यसम्यान कृपाशुर शेर्पालाई त पर्यटनमन्त्री नै बनाइदिए । आङछिरिङले नेपाल वायुसेवा निगम नै सकारेर चलाउन चाहन्थे, त्यसमा अहिलेका रवीन्द्र अधिकारीले भाँजो हालेपछि उनीविरुद्ध यो अवस्था सिर्जना भएको तथ्य पनि छ । साथसाथै रवीन्द्र अधिकारी युवा र आशालाग्दा नेता हुन् । तर यिनी ललिपपमा बालबालिका लुटपुटिए झै सत्तामा लुटपुटिए । सत्तामा पुगेपछि सबैको प्रिय हुन केहीका लागि चिसो र टर्रो हुन सक्नु पर्छ । तर यिनी सबैका  लागि न्याना र मीठा हुन खोजे । 

 


ट्रेकिङमा रहेका  विदेशी पर्यटकलाई बिरामी पार्ने र हेलिकोप्टरबाट उद्धार गर्ने खेलमा एक मिडियाका मालिक पनि संलग्न रहेको देखियो । त्यो धन्दा बन्द गर्ने काम अहिले सबैको आँखाको तारो बनेका रवीन्द्रले नै गरे । त्यसको मूल्य मिडिया आक्रमणबाट तिर्नु परिरहेको छ ।

 

युनिटीको कुुरा 
 

नेटवर्क बिजनेस युनिटीका सञ्चालकहरु नेपाली नटरवलाल हुन् भन्दा फरक पर्दैैन । यिनीहरुको ठगीको धन्दा केही वर्ष चल्थ्यो । सञ्चालक विष्णु क्षेत्री र काशी गुरुङहरुले एकैपटक चारवटा वाइडबडी जहाज किनेर विदेश उडान गर्ने घोषणा गरे । त्यसको केही समयमै ‘नागरिक दैनिक’ नामक अश्त्रले यि नटरवरलालहरुको सपना सिध्याइदियो । केही वर्ष जेल पनि कोच्यो । अहिले अर्बौ निलेर यिनीहरु घुमिरहेका छन् । जहाज किनेर उडाउछु भन्नेहरुलाई विदेशी एअरलाईन्सको सिन्डिकेटले बाँकी नै राख्दैन । नेपाल वायु सेवा निगमको वाइडबडी प्रकरणमा कमिसन र सिन्डीकेट दुवैको प्रभाव छ ।

 

र यो पनि

निगमको सम्पत्ति कौडीको भाउमा कुम्ल्याउने खेल शुरु

वाडडबडी

विशेष