मलिसियाको जेल परेका नेपालबाट छुटाइदिन्छु भन्दै लाखौँ
काठमाडौं । मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो ठगी मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको छ ।
मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा भएपछि ‘डिपोर्ट’ गर्ने अभियान चलाएसँगै दलालले ठगी धन्दा बढाएका हुन् । उनीहरूले जेल परेका श्रमिकलाई भेटेर परिवारको सम्पर्क नम्बर लिई रकम असुल्ने गरेका छन् । ‘मलाई छुटाइदिन्छु भन्दै परिवारसँग दुई लाख २१ हजार रुपैयाँ लिएको रहेछ,’ युवराज आचार्यले कान्तिपुरसँग भने, ‘नेपाल आएपछि मात्रै थाहा पाएँ ।’
उनका आफन्तले उदयपुरका सुमन लिम्बूलाई पैसा पठाइदिएका थिए । २०१२ नोभेम्बर ९ मा युनाइटेड एचआर सोलुसनबाट मलेसिया गएका आचार्य एक वर्षपछि मेडिकल परीक्षणमा फेल भए । कम्पनीले नेपाल पठाइदिन लागेपछि भागेर अन्तै काम गरिरहेका थिए । गत जुन ६ तारिखमा पक्राउ परे । ‘मसँग १३ सय ५० मलेसियन रिङगेट र दुइटा स्मार्ट फोन थियो, प्रहरीले त्यो केही फिर्ता गरेन, मलाई लेगजिङ क्याम्प र सुन्नाई बुलोह जेलमा ५ महिना राख्यो,’ उनले भने ।
जलान कार्ड (मलेसियामा बस्न दिइएको परिचयपत्र) हुनेले एक सातामा जेलमा रहेको एक नेपालीलाई भेट्न पाउँछ । प्रहरीसँग चिनजान हुनेले भने एकैपटक धेरैलाई भेट्न सक्छन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।