छैन हरमा न्यानो कपडा, आगोको भरमै बित्छ चेपाङको रात
चितवन । पर्यटकीय नगरी सौराहा नजिकै डाँडामा रहेका चेपाङ जातिले आगोको भरमा रात बिताउनुपरेको छ ।
जिल्लाको पहाडी क्षेत्रमा चेपाङको बाहुल्यता छ । त्यहाँ रहेका अधिकांश चेपाङ विपन्न अवस्थाका छन् । उनीहरुले ओढ्न र लगाउनका लागि पर्याप्त लत्ताकपडा नहुँदा आगोको भर पर्नुपरेको हो । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङका बुद्धिबहादुर चेपाङ रातमा आगो निभेपछि ब्युँझिने गरेको बताउँछन् । आठ सन्तानका बाबु बुद्धिबहादुरले भने, “आगो बलुन्जेल निन्द्रा लाग्छ, निभेपछि ब्युँझिन्छौँ ।”
चिसोले बालबच्चाको शरीर सुन्निएको र ज्यान काप्ने गरेको उनले भने । कालिका नगरपालिकाको वाग्सुराङका रामचन्द्र चेपाङले आगो बाल्न दाउरासम्म पाउन मुस्किल भएकाले बालबालिका जोगाउन कठिन भएको बताउँछन । लगाउने कपडा नहुँदा जाडो मौसममा सधैँ आगो ताप्नु पर्दा काम गर्न पनि नसकिएको उनले पीडा सुनाए ।
सोही क्षेत्रकी रेस्मीका चेपाङले गाउँमा साना बालबालिका र वृद्धवृद्धा बचाउन मुस्किल परेको जानकारी गराउँदै मौसममा कतिपयको जाडोले ज्यान लिने गरेको बताइन् । सिराइचुरीका भीमबहादुर चेपाङ आफ्ना दुई सन्तान जोगाउन मुस्किल परेको बताउँछन् । लाउने, ओढ्ने कपडा र खाने अन्न पर्याप्त नहुँदा समस्या परेको उनको गुनासो छ ।
राजबुकका भक्तबहादुर चेपाङले भने, “आगो तापिरहन्छौँ, जतिबेला निन्द्रा लाग्छ त्यही सुत्छौँ, आगो निभेपछि ब्युँझन्छौँ ।” रातमा उठेर फेरि आगो फुक्ने र केटाकेटी तताउने गरेको उनले पीडा व्यक्त गए ।
गाउँमा यतिबेला अलिअलि मकै, कोदो, सुन्तला र सागपात मात्रै छ । बस्तीका चेपाङहरु पैसा भए शहरबाट चामल किनेर ल्याउने गर्दछन् । चेपाङ बाहुल्यता भएको इच्छाकामनाका अध्यक्ष गीता गुरुङ सबैको उस्तै समस्या रहेको बताउछिन् । गाउँपालिकामा २५ हजार जनसङ्ख्या भएकामा नौ हजारभन्दा बढी चेपाङ जाति रहेको उनले बताइन् । साह्रै नै गाह्रो भएकालाई बाँड्नका लागि स्थानीय प्रशासनले १५० थान कम्मल पठाएको उनले जानकारी दिए ।
चेपाङ