स्वास्थ्य

मदिरा धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ ?  

मदिरा धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ ?  

काठमाडौं । नयाँ वर्ष आइसकेको छ। पार्टीहरू अझै चल्दैछन्। रक्सीका गिलासहरू एक अर्कासँग ठोक्किँदैछन्। कुनै आफन्तसँग त कुनै साथीहरूसँग। अलिकति धेरै नै पिइँदैछ। तर नतिजा, रातिको पार्टी सकिएपछि टाउको भारी हुन थाल्छ, बान्ता र रिँगटा लाग्न थाल्छ। थकाइ अनुभव हुन्छ। मानिसहरू यसलाई धेरै पिएपछि भएको ‘ह्याङ्गओभर’  हो भन्छन्। हिलसा माछाको अचार खानु, अण्डा खानु वा ओएस्टर खानु, ह्याङ्गओभर हट्छ भन्छन्। अधिक रक्सी पिएपछि प्रायः मानिसहरू ह्याङ्गओभर भएको बताउँछन्।

 

फेरि जो साथीले अघिल्लो दिन धेरै पिउन बल गरेको थियो उसैले भोलिपल्ट ह्याङ्गओभर हटाउने उपायहरू पनि बताइरहेको हुन्छ। तर कुन उपायले तपाईँलाई ताजा बनाउलारु त्यस्तो कुनै उपाय छ कि छैन ? ह्याङ्गओभरबाट कसरी छुट्कारा पाउने भन्ने समस्या आजको होइन। मिश्रमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो। अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ।

 

तर आज पनि ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू बताइन्छ। जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँचो अण्डा खानु, गोलभेँडाको रस पिउनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खानु आदि।रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै रक्सी पिएर तपाईँले भोगिरहनु भएको ह्याङ्गओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यसअर्थमा समयसँगै ह्याङ्गओभर हटेर जान्छ। यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङ्गओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन।

 
किन हुन्छ त ह्याङ्गओभर ?

विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङ्गओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिंगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन।

 

त्यसो भए ह्याङ्गओभर किन हुन्छ ?

रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले टुक्रा टुक्रा पारेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ। यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याट्टि एसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङ्गओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङ्गओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ।

 

केही जानकारहरू भने रक्सीमा मिसाइने अरु नै रसायनका कारण ह्याङ्गओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ। ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्वपनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्। कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङ्गओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरक फरक हुन्छ। साथै पिउनुको असर वा ह्याङ्गओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ।


 
थकाइलागेको अनुभव किन हुन्छ

वास्तवमा कुनै एक कारणले ह्याङ्गओभर हुँदैन। यसका विविध कारणहरू हुन्छन्। रक्सी पिउँदा हाम्रो शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ। यसबेला मानिसहरू अरुबेलाभन्दा धेरै पिसाब गर्न थाल्छन्। यसले उनीहरूको शरीरमा पानीको मात्रा कम हुन पुग्छ। टाउको भारी हुनु वा दुख्नु योसँग पनि सम्बन्धित छ। रक्सी सेवनले निद्रामा पनि असर गर्छ। प्रायस् मानिसहरू राति अबेरसम्म रक्सी पिउँछन्। जसको परिणाम स्वरूप उनीहरू पर्याप्त सुत्न पाउँदैनन्। यसैकारण पनि उनीहरू थकान अनुभव गर्छन्।

 

नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्, ‘धेरै रक्सी सेवन गरेपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले हाम्रो शरीरमा धेरै खराबी नगरोस्। त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अल्मलिएको जस्तो देखिन्छन्।’ इन्टरनेटमा ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू लेखिएका भेटिन्छन्। कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्।

 

कोही मानिसहरू ह्याङ्गओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्। केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्व त अन्य खानामा पनि पाइन्छ।

 

अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुट्कारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो। रक्सी पिउनुपूर्व राम्रोसँग खानेकुरा खानु र रक्सी पनि विस्तारै विस्तारै पिए ह्याङ्गओभर कम हुन्छ। र, सबभन्दा राम्रो उपाय त धेरै रक्सी नपिउनु नै हो। बीबीसीबाट 

मदिरा ह्याङ्गओभर

विशेष