मुस्ताङमा तालको पानी जम्ने गरी चिसो
पोखरा/मुस्ताङ । हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन् । तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ । चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ ।
मुस्ताङमा आइतबार रातिदेखि हिमपात सुरु भएको थियो । सोमबार दिउँसो पनि बेलाबेला हिमपात भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालले बताए । उनका अनुसार दिउँसोको तापक्रम पनि माइनस १ डिग्रीमा झरेको छ । सदरमुकाम जोमसोम आसपासका डाँडा र खोंच हिमपातले सेताम्य बनेका छन् ।
‘तालको पानीसमेत जम्ने गरी चिसो बढेको छ,’ दाहालले भने, ‘बिहानको चिसो झनै बढी छ। माइनस ७ डिग्रीसम्म तापक्रम ओर्लेको छ।’ उनका अनुसार मंसिर अन्तिम साता उच्च हिमाली भेगमा आंशिक मात्रामा हिमपात भए पनि सदरमुकाम जोमसोम आसपासमा समेत हिमपात भएको सिजनको यो पहिलोपटक हो । ‘पहिलोपटकको हिमपातले यहाँ किसान त खुसी भएका छन्। चिसो बढेर बसाइ असहज बनेको छ,’ उनले भने, ‘पानी जमेपछि दैनिकी अप्ठेरो हुन्छ ।’ यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।
हिमपात