प्राविधिक सहायकको भरमा वडा कार्यालय
बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ । जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन् । उनले भनिन्, “सचिवको अभावमा वडाले गर्नुपर्ने काममा बाधा पुगेको छ ।”
आठ वडा रहेको सुर्नया गाउँपालिकाका तीन वडामा सचिव छैनन् । वडा नं १, ७ र ८ मा सचिव नहुँदा एक सचिवले दुई÷दुई वडामा काम गर्नुपरिरहेको छ । दुर्गम गाउँपालिकाको रुपमा रहेको सिगास गाउँपालिकाका सात वडा सचिवविहीन छन् । पाटन नगरपालिकाको वडा नं ७ र ८ मा सचिव छैनन् भने दशरथचन्द नगरपालिकाको वडा नं ६ र ११ मा सचिव छैनन् ।
यस्तै मेलौली नगरपालिकाका नौ वडामध्ये पाँचमा सचिव नभएको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए । पञ्चेश्वर गाउँपालिकाका छ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । दश वडा रहेको पुर्चौँडी नगरपालिकामा एउटा वडाबाहेक अन्यमा सचिव छैनन् । दोगडाकेदार गाउँपालिकाका चार वडा सचिवविहीन छन् । कर्मचारी नहुँदा काम गर्न गाह्रो भएको सो गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।
यसैगरी डिलाशैनी गाउँपालिकाका सात वडामध्ये चारमा सचिव छैनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकाका गरी ८४ वडा छन् ।
बैतडी