जापानी विदेशमन्त्री नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने
काठमाडौं । जापानी विदेशमन्त्री तारो कोनो दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारोले नेपालको भ्रमण गर्न लागेका हुन् । नेपाल भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनी आज नै स्वदेश फर्कने कार्यक्रम छ ।
त्यस्तै, बुधबार परराष्ट्र मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र तारो नेतृत्वको जापानी प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवर्ता हुने तय भएको छ । भेटपछि दुबै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यकम छ । परराष्ट्र मन्त्री ज्ञवालीले दुई महिना अघि जापानको औपचारिक भ्रमण गरेका थिए ।