स्वास्थ्य

 पत्नीलाई चाहिँदा ‘मरे अर्की ल्याउँला’ भन्छन् पति 

 पत्नीलाई चाहिँदा ‘मरे अर्की ल्याउँला’  भन्छन् पति 

काठमाडौं । रोगले लिगं, जात, धर्म, पेशा केही पनि भन्दैन तर हाम्रोमा भने पुरुष बिरामी भए महिलाले ज्यान जोखिममा पारेर बचाउने अनि स्त्री बिरामी परेमा चाहिँ ‘मरे अर्की बिहे गरौंला नि’ भन्ने विकृत चिन्तन हावी छ । जनसंख्या महिला र पुरुषको ५०–५० प्रतिशत अर्थात् बराबरी हो । तर, पुरुषको जीवन बचाउन महिला ९० प्रतिशत लागि पर्ने र पुरुष भने महिलाका लागि १० प्रतिशत मात्र अघि सर्ने गरेको डरलाग्दो तथ्यांक भेटिएको छ । श्रीमतीको किड्नी फेल हुँदा लोग्नेले नदिने, तर लोग्ने मानिसको बिग्रिएमा श्रीमती, छोरी, आमा सबै अघि सर्ने । 

 

अझ सेना, प्रहरीको तल्लो तहमा त पत्नी बिरामी भएमा किड्नी दिनु या महंगो उपचार खर्च व्यहोरिरहनुको सट्टा बरु मरे अर्की भित्र्याउँला भन्ने मान्यताले घर गरेको पाइएको छ ।  नेपालमा किड्नी प्रत्यारोपण शुरु भएको पाँच वर्षभन्दा बढी भयो मिर्गौलामा समस्या आए यसको परीक्षणलगायत कार्यमा लाखभन्दा बढी खर्च गनुपर्छ । शुरुवाती समयमा सेना तथा प्रहरीका जागिरेले श्रीमतीको किड्नीमा समस्या देखिँदा डायलोसिसमा धेरै रकम लाग्ने भएकोले सो पैसा जुटाउनतिर लाग्नुको सट्टा बरु अर्की बिहे गर्छु भन्ने अवस्थासम्म थियो । 

 

चार वर्षअघि वीर अस्पतालमा किड्नी प्रत्यारोपण शुरु गर्दा अप्रेरशन थिएटर, स्वास्थ्य सहयोगी नदिने, एनेस्थेपिया नै छैन भनी हैरान पार्ने स्थिति थियो । बेलायतबाट स्वदेश फर्केर बिरामीलाई लाखौं लाख खर्च गरी भारत पठाउने हैन कि नेपालमै जीवनदान दिनुपर्छ भन्ने डा. पुकारचन्द्र श्रेष्ठको लगन र परिश्रमबाट प्रभावित भएका डा. प्रवीण मिश्र स्वास्थ्य सचिव भएपछि उनले त्यहाँ किड्नी प्रत्यारोपण केन्द्र स्थापना गरिदिएका हुन् । 

 

हालसम्म नेपालमा जम्मा ६ सय ५० जति किड्नी प्रत्यारोपण गरिएको छ । यसमा ९९ प्रतिशतभन्दा बढी सफलता प्राप्त भएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । 

यो समाचार जनआस्था साप्ताहिकबाट लिइएको हो ।
 

विशेष