खेल

मेस्सीलाई पछि पारे फुटबल स्टार सुनील छेत्रीले, को हुन क्षेत्री ?

मेस्सीलाई पछि पारे फुटबल स्टार सुनील छेत्रीले, को हुन क्षेत्री ?

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन् । यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन् ।

 

तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् ।

 

आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको खेलमा सुनील छेत्रीले दुई गोल गर्दा भारत ४-१ ले विजयी मात्रै भएन,  क्षेत्रीले १०५ खेलमा व्यक्तिगत अन्तर्राष्ट्रिय गोल सङ्ख्या ६७ पुर्‍याउँदै सक्रिय खेलाडीहरूको गोल सङ्ख्यामा मेस्सी र नेयमारभन्दा माथि उक्लिए ।

 

मेस्सीले अहिलेसम्म आर्जेन्टिनाका लागि १२८ खेलमा ६५ गोल र नेयमारले ब्राजिलका लागि ९५ खेलमा ६० गोल गरेका छन् । तर छेत्री रोनाल्डोभन्दा निकै पछाडि नै छन्। रोनाल्डोले पोर्चुगलका लागि १५४ खेलमा ८५ गोल गरिसकेका छन् ।

 

छेत्री सक्रिय खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा भए पनि सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीहरूको सूचीमा २० औँ स्थानमा छन् । इरानका अलि देई १४९ खेलमा १०९ गोलसहित शीर्षस्थानमा रहेको सूचीमा छेत्रीभन्दा तल डिडियर ड्रोग्बा र ब्राजिलका रोनाल्डो छन् ।

 

छेत्रीले दुई गोल गरेपछि एशियाली कप २०१९ को पहिलो खेलमा भारत विजयी भयो र यो नतिजा भारतको प्रतियोगिताको ५५ वर्षको इतिहासमा पहिलो जित हो।

 

नेपालविरुद्ध क्षेत्री

नेपाली मूलका भएका कारण छेत्री नेपाली फुलबल समर्थकमाझ प्रिय छन् । नेपालविरुद्ध खेल्दा भने उनके प्रदर्शन नेपाली समर्थकमाझ अप्रिय बन्छ । उनले अन्तर्राष्ट्रिय फुटबल खेल्न शुरू गरेयता भारतले नेपालसँग नौवटा अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमध्ये उनले आठ खेल खेलेर पाँच गोल गरेका छन् । र, तीमध्ये छ खेलमा भारत र एक खेलमा नेपाल विजयी भएको छ ।

 

को हुन क्षेत्री ?

३४ वर्षीय सुनील छेत्री भारतीय सुपर लिगमा बेङ्गालुरु फुटबल टोलीका कप्तान हुन् । 'क्याप्टेन फ्यान्टास्टिक' उपनामले चिनिने छेत्री भारतीय राष्ट्रिय टोलीबाट सबैभन्दा बढी खेल खेल्ने खेलाडीसमेत हुन्। गत वर्ष एशियाली फुटबल परिषद् (एएफसी) ले छेत्रीलाई 'एशियन आइकन' घोषणा गरेको थियो ।

 

छेत्रीका बुवा भारतीय सैनिक टोलीबाट फुटबल खेल्थे भने उनकी आमा सुशीला छेत्री नेपाली राष्ट्रिय महिला टोलीको सदस्य थिइन् । सन् २००२ मा मोहन बगानसँग आबद्ध भएर व्यावसायिक रूपमा खेल्न शुरू गरेका छेत्रीले २००५ देखि भारतको राष्ट्रिय टोलीबाट पाकिस्तानविरुद्ध पहिलो खेल खेलेका थिए र गोल पनि गरेका थिए।

 

त्यसयता छेत्रीले सन् २००७, २०११, २०१३, २०१४ र २०१७ मा गरी पाँच पटक भारतका उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरिसकेका छन्।  सुनील छेत्री फुटबलमा भारतको सबैभन्दा ठूलो उपलब्धि मानिने एएफसी च्यालेञ्ज कप २००८ जित्ने बेला नायक थिए। प्रतियोगितामा उनले ४ गोल गरेका थिए। बिबिसीबाट

सुनील छेत्री लियोनेल मेस्सी

विशेष