ओलीको भाषणः न रासन, न कासन
संकेत कोइराला
दुई दाजुभाइ नदी किनारामा घुम्न गएछन । घुम्दै जाँदा झुक्किएर भाइले दाइको खुट्टा कुल्चिएछ । दुखेर छटपटाएको दाइले भाइलाई एक झापू मारेछ । दाजुको मुक्काको कुनै प्रतिवाद नगरी भाइले बालुवामा लेख्यो– ‘खुट्टामा कुल्चिएकाले मलाई दाइले आज एक थप्पड हिर्काउनु भयो ।’
भोलिपल्ट ती दाजुभाइ नदीमा नुहाउन गएछन । नुहाउने क्रममा भाइलाई नदीको भेलले बगायो । त्यतिबेलै पानीमा हाम्फालेर दाइले भाइको उद्धार ग-यो । सामान्य अवस्थामा पुगेपछि भाइले नजिकैको ढुंगामा लेख्यो– ‘नुहाउने क्रममा नदीले बगाउँदा दाइले मलाई बचाउनु भयो ।’ भाइको व्यवहारले चकित बनेको दाइले सोध्यो–‘होइन, हिजो मैले थप्पड हान्दा तिमीले बालुवामा लेखेका लेख्यौ । तर आज मैले बचाउँदा किन ढुंगामा लेखेको ?’ दाजुको प्रश्नमा भाइको उत्तर थियो– ‘आमाले सिकाउनु भएको थियो, जिन्दगीमा नराम्रा कुरा सधैँ बालुवामा लेख्नु पर्छ, जसबाट ती कुरा छिटो मेटिएर जाओस । अनि राम्रा कुरा ढुंगामा लिपिवद्ध गर्नुपर्छ ताकी ती कुरा सधैँ अजर अमर रहिरहून ।’ भाइको कुरा सुनेर दाजुले भाइलाई हेरिरह्यो । दाजुले मनमनै सोचिरहेको थियो– ‘साँच्चै कति छिटो ठूलो भएछ मेरो फुच्चे भाइ ।’
केपी ओली र प्रचण्डबीच गल्ती सच्याउने यस्तै प्रयास संस्कृति बनिदिएको भए यतिबेला समृद्धिको गाडी धेरै अघि बढिसक्थ्यो । देश उकालो लाग्न तथ्यांक, मिथ्यांक नभएर जनताको आत्मविश्वास पहिलो र अन्तिम सर्त हो । राष्ट्रियता जमिन, जंगल, जलमा नभएर मनमा फुल्छ । ‘म’ बाट ‘हामी’ भावको प्रवेश नै राष्ट्रियताको मूल विन्दु हो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीका भाषण कागजी फूल हुन् । न त्यसमा कुनै पराग हुन्छ, न मौरीको आकर्षण नै । सरकार दुई तिहाईको छ तर समृद्धिको उज्यालो प्रधानमन्त्री नामको रोबर्ट बाहेक कसैले त्यो रंग देख्दैन । समृद्धि नामक जहाजका क्याप्टेन यति कमजोर छन कि सामाजिक सञ्जालमा एउटा सानो प्रतिक्रियाको कुहिरो देख्ने वित्तिक्कै आत्तिएर जहाज मोडिहाल्छन् । पार्टी र सरकार पक्ष, प्रतिपक्ष जस्तै छन् । क्याप्टेनले आफ्नो भूमिका ओगटेपछि सहचालक प्रचण्ड रनभूल्लमा परेका छन् । उड्ने छाँटकाँट नल्याएको यो जहाज परित्याग गर्ने हो भने उनको टेम्पो चालक हुने जमिनसम्म बाँकी छैन् ।
हाम्रो राजनीतिक संस्कृति अध्ययन र प्राज्ञिक धरातलबाट निर्देशित छैन । बरु राणाले घोडा चढ्न नदिएको आक्रोशमा काँग्रेस बनेकाहरु क्रान्तिका भीष्म पितामह बनेका छन् । पढाईमा भुस भएकाहरु बुर्जुवा शिक्षाको विरोध गर्दै राजनीतिमा होमिएका कथित क्रान्तिकारी कम्युनिष्ट बनेका छन् । काम गरेर खान जाँगर नलागेपछि बन्दुक देखाएर सित्तैमा खान पल्केकाहरु गणतन्त्रका रातारात महानायक दरिए । देश केक बनाउन पाए छोटे महाराज बन्ने सपना देख्नेहरु मधेशवादी, जातिवादी र धर्मभीरु बनेर देखा परेका छन् । राजनीतिको यही विरुप बाछिटाका कारण गरी खाने मानिसका लागि यो देश सिउँडी बन्दै गएको छ । सरकारले गरेको निर्णय दलालले एक सेकेण्डमा एक सय असी डिग्री परिवर्तन गरिदिन्छन् । किनेकोका अगाडि चिनेको धर्मराउँदै गएको छ ।
एमाले, माओवादी जमिनबाट माथि उठेका नेताहरुका लागि कार्यकर्ता बिझाउन थालेका छन् । बहुदल आएपछि तीन दशकयता एउटै पात्र र प्रवृत्तिले क्रान्तिकारीका धार भुत्ते बनाइदिएका छन् । ज्ञानेन्द्र, गिरिजाका भाइरसहरु गणतन्त्रमा झन् मौलाएका छन् । गणतन्त्र त कलमी विरुवाबाट उत्पादित बालीजस्तै भएको छ । नेपालमा देखिएका बहुरुपी चरित्र र अराजनीतिक परिवर्तन हिन्दी फिल्मीको तीन घन्टे अविश्वसनीय परिवर्तनभन्दा पनि आक्रामक देखिने गरेको छ ।
सरकारका मन्त्रीहरुलाई लाग्दो हो– सृष्टिको शुरुवात उनीहरुले शपथ लिएपछि बल्ल शुरु भएको हो । उनीहरुले बोलेको शब्द ब्रह्म वाक्य हो । जहाँ पुगेपछि कालिदासहरु रातारात चाणक्य हुन्छन् । साइलकहरु सरस्वतीका वरद्पुत्र ठहरिन्छन् । पानीमरुवाहरु वीर हनुमान कहलाइन्छन् । गाउँका कुखुरा चोरहरु मन्त्री हुनासाथ विदुर नीतिका व्याख्याता हुन पुग्छन् । अनि तीन करोड जनतालाई उल्लू बनाइन्छ– यही हो प्रजातन्त्रको सुन्दर अभ्यास । अहिले त झन् अराजकतालाई संघीय र समावेशी गणतन्त्रको पदवी भिराइने अभ्यास तीब्र गतिमा भएका छन् । प्रधानमन्त्री ओलीको बारम्बारको दलील हुने गर्छ– राजनीतिक पात्र र प्रवृत्तिको विरोध गर्नु संघीय गणतन्त्रको खिलाफमा उत्रनु हो । जनताको सरकार कस्तो हुनुपर्छ ? रामायणमा एउटा धोवीले शंका गर्दा अयोध्याका राजा रामले आफ्नी पत्नीलाई अग्निपरीक्षामा होमेका थिए ।
लबेदा सुरुवालमा चटक्क भएर निस्किने मन्त्रीहरुको पोज, उपप्रधानमन्त्रीहरुको कर्कश आवाज बाहेक सरकारको उपस्थिति शून्य छ । आफ्नै देशका एक चौथाइ भागमा नाम नसुनिएका मन्त्रीहरुको अर्ती, मुलुकको आर्थिक विकासमा २.६ प्रतिशत योगदानमा सीमित निजीक्षेत्रको पूmर्ति कसैलाई पचेको छैन् । जब एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ, उसलाई पागल भनिन्छ । जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन, त्यसलाई धर्म भनिन्छ । अहिले जताततै झुटलाई धर्म मान्ने संस्कृति हावी भएको छ । निसन्देह राजनीतिक स्वतन्त्रताले संसारमा भोकाहरुको पेट भरिएको उदाहरण छैन ।
२०१५ सालमा प्रधानमन्त्री हुँदा बीपी कोइरालाले मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्रीले पाउने तलब सुविधाबाट एक हजार कट्टी गरेर जनताप्रति ममता देखाएका थिए ।
पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट एक रुपियाँ चन्दा लिएर एकीकरणको महाभियान शुरु गरेका थिए । भला यसले देश विकास त नहोला रे तर नेतालाई राजनेता बनाउने भनेकै यस्तै क्रियाकलापले हो । ठूलो भएर के गर्नु कैंचीले छुट्याउने काम गर्छ तर हेपिएको त्यही सानो सियोले हरदम जोड्छ । त्यसैले मानिसले जोडिने कर्म गर्नुपर्छ । फाटेको त बादल मात्र राम्रो हो नि । सिक्न टाढा जानै पर्दैन । मानिसले किन दुख पाउँदो रहेछ भन्ने उत्तर खोज्न निस्कँदा सिद्धार्थ राजकुमार भगवान गौतम बुद्ध भएर प्रकट भए । कार्पेन्टरको छोरो यशुक्रिष्ट भएर उदाउलान भनेर कसले विश्वास गरेको थियो ? हामीले प्रजातन्त्रको जननी बेलायतलाई मान्यौं तर हामी त्यस्तो पावन भूमिका नागरिक हौं, जनकपुरका राजा जनकले आफ्नी छोरी सीताको विवाह गर्दा समेत प्रजातान्त्रिक प्रक्रिया अपनाएर बरको छनौट गरे । धनु उठाउने प्रतिस्पर्धामा अब्बल ठहरिएपछि अयोध्याका राजकुमार रामले सीताको हात थाम्ने अवसर पाए । धार्मिक ग्रन्थबाट नै लोकअभ्यास गरिएको त्यो भूमि अहिले जमिनका लागि काटाकाट र मारामारको अवस्थामा छ । सवैको अस्तित्व देखिने सलादजस्तो लोकतन्त्र छोडेर हामी जसको लाठी, उसको भैंसीतर्फ उन्मुख छौं ।
श्रीलंकाबाट प्रेरित लिक्वानले सिंगापुरे जनतालाई यस्तो हिरा बनाइदिए जुन देशका नागरिकले विश्वका कुनै मुलुक टेक्दा पनि कुनै तगारो लाग्दैन् । उनले विदेशीको रेडिमेड माछा कहिल्यै स्वीकारेनन् । बरु बल्छी मागेर जनतालाई माछा मार्न सिकाए । पाउरोटीको साटो पाउरोटी बनाउने सीपको अभियान छेडे । हाम्रा नेताहरु भने आफ्ना युवाहरुलाई मलेशिया पठाउन नेताहरु हौसिए । तर त्यहाँका मोहम्मद महाथिरले देश बनाउन गरेको योगदान चटक्कै बिर्सिए । केही वर्षअघि भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज मर्दा ते¥हदिने दाजुभाइ विते जसरी अनुहार विगार्ने नेताहरु चाभेजले जस्तो जनतालाई समृद्ध बनाउने काममा नौ नारी गलाएर बसे । आफ्ना जनतालाई ५० पैसा लिटर तेल उपलब्ध गराउने चाभेजको लोकप्रियता कति होला ? अनुमान मात्र गर्न सकिन्छ । जो मानिस एक्लो उभिन्छ, उही महान हो । चाभेजले बाचुन्जेल अमेरिकाजस्तो देशलाई च्यालेन्ज गरिरहे ।
अन्तिम अवस्थामा पनि छिमेकी देश ब्राजिलमा उपचार गरे तर युरोप, अमेरिका टेकेनन् । लाटो छोराले बाउ घुक्र्याएजस्तो छिमेकीलाई मनपरी भन्ने अनि आङ्मा सुके लुतो निस्कियो भने उसैले पठाइदिएको एयर एम्बुलेन्स चढेर राष्ट्रियताको पाखण्डी गीतामा शायदै अरु देशका नेता रमाउँछन् । गुलियो बचन बोल्ने त बोल्ने भइगो, कलबिख तीतो बोल्ने पनि अन्ततः प्रायोजित विज्ञापनको कलाकार रहेको भेद खुल्ने गरेको छ । मान्छे हैन, रोबर्ट मान्छे बोल्ने गरेको छ । गाई विभिन्न रंगका भएपनि दूध सेतै हुन्छ । अलग अलग धर्मको शैली अलग भएपनि आखिर त्यसको निष्कर्ष एउटै हुन्छ– मानिसले शुभ कर्म गर्नुपर्छ ।
नीति भन्छ– अन्यायपूर्वक आर्जन गरेको धनबाट महान फल दिने ठूला ठूला यज्ञ गर्नाले त्यति धर्म हुदैन जति न्यायोपार्जति थोरै भएपनि श्रद्धापूर्वक दान दिनाले हुन्छ । न्यायपूर्वक उपार्जन गरेको धनबाट जीवन निर्वाह गर्ने तथा दानको महत्व थाहा पाउने व्यक्तिले दान र तपस्याबाट स्वर्गलोक प्राप्त गर्दछ । शिक्षाको शुरुवात कितावबाट होइन, कोक्रोबाट हुनुपर्छ । ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ । कानमा लगाइएको सुनले आप्mनो विज्ञापन गर्दैन । त्यसको सौन्दर्यको मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । जीवन असन्तोष हो, जो संग जे छ त्यसले हुँदैन पुग्दैन, जे हुँदैन त्यो चाहिन्छ । नभई हुँदैन । जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो । सन्तोष पनि त्यही हो । मलाई कसैले माया गर्छ भन्ने विश्वास नै त सुख हो नि ।
माओत्सेतुङले भनेका थिए– ‘जो देश र जनताका लागि मर्छ, उसकोे मृत्यु पहाडजस्तै ग-हौ हुन्छ । आफनो निम्ति मात्र मर्नेको मृत्यु प्वा“ख जत्तिक्कै हलुका हुन्छ ।’ उनैका चेलालाई प्रश्न– ‘कस्तो मृत्यु रोज्ने कमरेडहरु ?’