कस्तो रहला आजको मौसम ?
काठमाडौ । जल तथा मौसम पूर्वानूमान महाशाखाले बिहीबार देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । काठमाडौं उपत्यकामा भने बिहीबार बिहानैदेखि मौसममा सामान्य बदली भएको थियो ।
दिउँसो पनि काठमाडौँ उपत्यकासहित देशभरका पहाडी तथा उच्च पहाडी क्षेत्रको मौसम बदलीको अवस्थामै रहने महाशाखाको अनुमान छ । केहीबेर घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने छ ।
तराईका केही क्षेत्रमा बिहान बादल लागेको तर दिउँसो भने अधिकांश स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका केही ठाउँमा छिटफुट पानी पर्ने देखिए पनि वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
बुधबार बेलुका पश्चिमबाट नेपालमा पश्चिमी वायु भित्रिएको र यसको प्रभाव रातभरमा पूर्वसम्म पुगेकाले विशेष गरी पहाडी क्षेत्रमा बदली भएको महाशाखाले जनाएको छ । बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ३.२ डिग्री मापन भएको छ । काठमाडौँ उपत्यकाको दिउँसोको तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान महाशाखाले गरेको छ ।