विचार

न नाना, न खाना, न छाना

संकेत कोइराला

न नाना, न खाना, न छाना

बिरामी बाबु भेट्न धेरै समयपछि शहरबाट छोरा गाउँ पुग्यो । छोरा आएको थाहा पाएर बिरामी बाबु ओछ्यानबाट उठे । बाउछोराको कुराकानी चलिरहेकै बेला नजिकैको झ्यालमा एउटा परेवा उडेर आयो ।  दृष्टि कमजोर भएका बाबुले छोरालाई सोध्छन– ‘छोरा, के त्यो परेवा हो ?’
‘हो बा, त्यो परेवा हो ।’ छोराले जवाफ दियो । 

 

केही समयपछि फेरि बृद्ध बाले त्यही प्रश्न दोहोर्‍याए । जवाफमा छोराले त्यही उत्तर दियो । जब तेस्रो पल्ट बाको त्यही प्रश्न तेहेरियो, छोरालाई झनक्क रिस उठ्यो । उसले सन्किदै जवाफ दियो– ‘मलाई तपाईंको यही बानी मन पर्दैन । एउटै कुराको रटान लगाइरहनु हुन्छ । तपाईंको यही स्वभावका कारण मलाई घर आउन भनेपछि नौ नारी गलेर आउँछ ।’

 

दश मिनेटको सन्नाटापछि छोरालाई दराजभित्र रहेको आफ्नो डायरी निकाल्न लगाएर  पेज नम्बर दुई पढ्न आग्रह गरे ।  जसमा लेखिएको थियो– ‘आज मेरो छोरा २ बर्षको भयो । जब हामी खेलिरहेका थियौं, त्यसै बखत एउटा परेवा कौशीको डिलमा उडेर आयो । मेरो छोराले तीस चोटी सोध्यो– ‘के त्यो परेवा हो ?’ मैले हरेक चोटी खुसी हुँदै जवाफ फर्काएँ– ‘त्यो परेवा हो बाबु ।’ म त्यस खुसीको बखान गर्न सक्दिन । किनकी मेरो मुटुको टुक्राले आज बोल्न सिकेको छ । यो क्षण मेरा लागि सधैं अविष्मरणीय दिन बनेर रहने छ ।’

 

पढ्दा पढ्दै छोराको हातबाट डायरी खस्न पुग्यो । उसले रुँदै बासँग माफी माग्यो ।  बाले ढाडस दिँदै भने– ‘चिन्ता नगर बाबु, तिमी एउटा गल्तीबाट खराव मानिस हुने छैनौं । तर एउटै गल्ती बारम्बार दोहोर्‍यायौ भने तिमीभित्रको मानवता मर्नेछ । मानवता विनाको देह श्मसान घाटजस्तै हो । यही सत्य बुझाउन मैले तिमीलाई शहरबाट गाउँ बोलाएको हुँ । ’                  

 

चुलोको अर्थशास्त्र कोमामा पुग्न लागेको यो घडीमा सिंहदरबार गाउँ सारेको जस लिने प्रस्पिर्धामा उत्रिएका सरकारका अभियन्ताहरुको अवस्था त्यही उत्ताउलो छोराको मनोविज्ञानसंग हुबहु मिल्ने छाँटकाँट देखिँदैछ । जसले जतिसुकै लामो दाम्लो बाटेको दम्भ गरेपनि जब गाँठो पार्ने बेलामा सन्तुलन मिल्दैन भने त्यो तोरणमा अनुवाद हुनपुग्छ । हेक्का रहोस्, जतिसुकै पवित्र भएपनि तोरण गाईबस्तु बाँध्ने काममा उपयोग हुँदैन । आर्थिक समृद्धिका स्थायी अन्तरामा ठूलाबडा मुखियाहरुको अखण्ड प्रवचन चलिरहँदा नाना, खाना र  छानाको अर्थशास्त्रले गरीबमाथि थाल खाउँ कि भात खाउँको अवस्था ल्याउने छाँट देखिँदैछ ।

 

सबैको कान पवित्र हुने गरी सिन्डिकेट तोडेको भन्दै उत्सव मनाइयो । दुई चार थान यातायात समितिका नाममा छापिएका टिकट खोटो बनाउनु बाहेक त्यो हल्लाले अरु केही परिवर्तन गरेन । किला जरा गाडेर स्थायी शोषण गर्नेहरु रुपमा अर्को देखिएपनि सारमा उही कर्म गरिरहेका छन् । गाडीमा यात्रु कोचेर गुन्द्रुक बनाउने खेलको तमासामा अलिकति परिवर्तन आएको छैन । जुन रुटमा जस्को वर्चस्व थियो, त्यसमा चरोमुसो छिर्ने हिम्मत गरेको छैन । अस्पताल, शैक्षिक प्रतिष्ठान वैधानिक डकैतीको सुरक्षित स्थल हुनबाट रोक्ने कामको श्रीगणेश भएको पत्तो कसैलाई छैन । राजनीतिक परिवर्तनको स्वाद झण्डै आधा लाख नेताका आसेपासेहरुले जनप्रतिनिधि नामको जागिर खानु बाहेक कलेजो ठण्डा हुने खालको माखो मार्ने काम भएको छैन । 

 

पटक पटक गरी नेपाली जनताले प्रजातन्त्रको लडाईं लडेको सात दशक नाघेको छ । जनताको अधिकार स्थापित गर्ने नाममा भएका ती आन्दोलनपछिको राजनीतिक उपलब्धी संस्थागत गर्न नसक्ने दलहरुको अकर्मण्यताको पीडा अन्ततः हजुरबादेखि नातिपुस्ता सम्मले भोग्नुपरेको छ । राणा शासन विरुद्ध विक्रम संवत १९९७ देखि शुरु भएको आन्दोलन २००७, ०१७, ०४६ हुँदै ०६३ को आन्दोलनपछि मुलुक गणतन्त्रमा प्रवेश गर्दासम्म पनि जनताका अधिकार स्थापित हुन सकेका छैनन् । २०१५ सालमा नेपाली काँग्रेसले प्रस्तुत गरेको चुनावी घोषणापत्रमा भनिएको छ–‘प्रशासन यन्त्रको भ्रष्टाचार एवम् अदालतहरुमा व्यापक रुपमा फैलिएको घुसखोरीबाट जनता पीडित छन् ।

 

प्रशासन यन्त्र जनताको भलाई निमित्त हो । तर जनताको शोषण गर्नको निमित्त यसको उपयोग भइरहेको छ । शासन भार लिने वित्तिकै घूसखोरी एवम् भष्टाचारलाई नेपाली काँग्रेसले निर्मूल पार्ने छ । भ्रष्ट कर्मचारीलाई कडा सजाय र इमान्दार एवम् कर्तव्यपरायण कर्मचारीलाई कदर गर्ने नेपाली काँग्रेसको सरकारले प्रतिज्ञा गर्दैछ ।’ आज ६ दशक पछि पनि नेपालका राजनीतिक पार्टीका घोषणापत्रको सारांस यही व्यहोरासंग मेल खान्छ ।  प्रजातन्त्रको प्रतिफल केही टाठाबाठाले लिने गरेपनि सर्वसाधारणका लागि विधिको शासन आकाशको फलजस्तै बनेको छ । जनताले पाएका थोरै अधिकार पनि निगाहमा अनुवाद भएका छन् । 

 

आफू अनुकूलको राज्य व्यवस्था चलाउन नपाएपछि प्रजातन्त्रका विधि विधान सिध्याउने र जनतालाई बलीको बोको बनाउने अभ्यासमा दलहरुको अग्रसरता देखिने गरेको छ । तीन दशक यताको प्रजातान्त्रिक अभ्यासमा आफूले कुर्सी त्याग गर्नुपर्ने भएपछि अधिकांश प्रधानमन्त्रीले संसद भंग गराउनुको भित्री रहस्य पनि यही हो । 

 

शासनमा व्यक्ति फेरिएपनि प्रवृत्ति नफेरिने रोग अझै पनि उस्तै छ । जनताको हितमा हैन खल्तीपिच्छेका प्रजातन्त्रका मोडल बोकेर त्यसको व्यापार गर्ने दलहरुको शैलीका कारण प्रजातान्त्रिक व्यवस्था नै अस्थिर बन्दै आएको छ । बरु अझै पनि राजनीतिक दलहरु जनतालाई आन्दोलनका लागि उक्साइरहेका छन् । ६० वर्षअघि एशियाका नेपाल, भारत, चीन, दक्षिण कोरिया, भियतनामलगायतका जनताको प्रतिव्यक्ति आय हाराहारीजस्तै थियो । तर तिनै छिमेकी मुलुकका जनताको प्रतिव्यक्ति आय हजारौं डलर भइसक्दा नेपाली जनता भने निर्धो अंकमा खुम्चिन बाध्य छन् ।

 

प्रजातन्त्रको प्रतिफल जनताको हातमा नपुगेको एउटा कटु सत्यसंगै नयाँपुस्तामा राजनीतिप्रतिको विकर्षण भविष्यका लागि थप घातक सूचक हो । जसका कारण जनताको भाग्य निर्माणको तहमा असक्षम व्यक्तिहरुको पहुँच सुरक्षित बन्ने खतरा देखिन्छ । यसैले युवापुस्तालाई मूलधारको राजनीतिक गतिविधिमा सक्रिय गराउनु वाञ्छनीय छ । एकातिर प्रजातन्त्रको आन्दोलनमा तीनपुस्ताको समय गुज्रिसकेको छ भने अर्का्तिर हजुरबा पुस्ताको समकालिन राजनीतिमा वर्चस्व छ । जुन समयको माग होइन । अघिल्लो पुस्तालाई सम्मान, नयाँपुस्तालाई अवसर अहिलेको आवश्यकता हो । 

 

पाण्डुहरु बनबास गएपछि केही समयका लागि हस्तिनापुरको राज्य चलाउने अवसर धृतराष्ट्रले पाएका थिए । हजार हात्ती बराबरको शक्ति पाएपनि उनी अन्धा थिए । राजा हुनअघिसम्म यो पदलाई उनले पाण्डुहरुको नासोका रुपमा लिएका थिए । तर जब राजाको श्रीपेच पहिरिए उनीभित्र अर्कै अनौठो र दम्भी भावना जागृत भयो । श्रीपेच लगाएका महाराज गान्धारीतिर फर्केर बारम्बार सुहाएको बेलिविस्तार लगाउँथे रे ! अन्धा धृतराष्ट्रले श्रीपेच सुहाएको गर्व गर्नुको पछाडिको रहस्य एउटै हो– सत्ताको सुख ।

 

 

दृष्टिविहीन धृतराष्ट्रमा त शक्ति मोह थियो भने त्यो बाटोमा लागेकाहरुले आफूलाई योग्य प्रमाणित गर्न खोज्नु अनुचित हुँदै होइन । राजनीतिको गन्तव्य भनेकै सत्ता हो । राजनीतिले दृष्टिकोण र योजना बनाउँछ तर त्यो इच्छालाई परिपूर्ति गर्ने काम शासनप्रणालीले गर्छ । पदले मान्छेलाई महान पनि बनाउँछ र नजान्दा कहिल्यै निस्कन नसक्ने खाल्डोमा जाक्छ । नढाँटीभन्दा हाम्रो सन्दर्भमा सत्ता बनारसको लड्डुजस्तै खाएपनि पछुताउने, नखाएपनि पछुताउने साधन भएको छ । 

 

राजनीतिमा नैतिक धरातलको सिंढीबाट झरेपछि त्यो व्यक्ति जनताको आँखाबाट कहिल्यै माथि उठ्न सक्दैन । हो, अपवादका रुपमा नियम कानुनको सहारामा कतिपय राजनीतिक व्यक्ति निष्कलंक बनेर देखा परेका छन् । यद्यपी कागजमा सफाई पाएपनि जनताको मन मस्तिष्कमा उनीहरुको छवि कालाको कालै छ । त्यो छवि मेटाउने इरेजर सानो साधनाबाट पाउने इच्छा कसैले नगरे हुन्छ ।

 

नेपालमा क्षमतावान नेता प्रशस्तै जन्मिए । कतिले सपना देखे, समय पाएनन् । अहिलेकाले समय पाए, सपनै देखेनन् । टंकप्रसाद आचार्य एकताका चीन भ्रमणमा थिए । चीनले उनलाई शान्तिदूतका रुपमा जापान गएर दुई देशबीचको सम्बन्ध सुलह गराइदिन गरेको आग्रह उनले सफलतापूर्वक सम्पन्न गरिदिए । १४ भाषाका ज्ञाता मातृका प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाको राजदूत भएर पद सानो ठूलो हुँदैन भन्ने प्रमाणित गरे ।

 

२० वर्ष नपुग्दै भारतका तात्कालिन प्रतिभाशाली राष्ट्रपति डा. राजेन्द्रप्रसादको निजी सहायक बने । भनिन्छ– राजेन्द्रप्रसाद दुई हातले एकैपटक दुई विषयमा जाँच लेख्न सक्थे रे ! राष्ट्रसंघमा अलिखित भाषण गर्ने मातृका त्यसवेलाका विश्वकै चर्चित वक्ता थिए । बीपीले राष्ट्रिय स्वाधिनताका लागि बमदेखि साइनाइटसम्म बोके । धोती लगाउँदैमा महात्मा गान्धी बनिदैन । त्यसको लागि जप, तप र त्याग चाहिन्छ । पद भनेको त सिंहमाथिको सवार हो ।

 

हामीले ज्ञान हैन, सूचनालाई जीवनपथ बनायौं । गुरु हैन, शिक्षकलाई सर्वैसर्वा ठान्यौं । ज्ञान गुरुले बाँड्ने हो । शिक्षकले दिने त सूचना मात्र हो । नयाँ पुस्ता कम्प्युटरको पेन्टियम सेभेन संस्करण हो । तर पेन्टियम वानमा समेत आफूलाई अपडेट नगरेका नेता र शिक्षक देशको भाग्यनिर्माता भएका छन् । बीपीले ०१५ सालमा कल्पना गरेको सानो झुप्रो, ओखती उपचार र गाई पालन भनेको अहिलेको ल्यापटप हो । तर काँग्रेसका अनुयायीलाई बीपीको समाजवाद भन्ने एउटा अन्तरा कण्ठ छ, त्यसभित्रको गुढ के हो भन्नेमा मौन छन् । समयअनुसार मान्यता फेरिन्छ भन्ने तथ्य नेतृत्वले बुझ्न आवश्यक छ ।

 

अत्यन्त वृद्ध भइसक्दा पनि महाराज यायातिले कान्छो छोरा पुरुको जवानी पैंचो लिएर कामवासनामा लिप्त रहेको तर तृप्त नभएको कथा महाभारतमा उल्लेख छ । हाम्रो नेतापुस्ता पनि तिनै पात्रजस्ता लोभी भएका छन् । 

 

रामायणकालीन इतिहास हेर्ने हो भने पन्छी राज जटायुले मृत्युको अन्तिम स्थितिमा रहंदारहंदै पनि रावणले भिक्षुको भेषमा पुष्पक विमानमा राखेर सीतालाई हरेर लंका लगेको गुप्त खबर रामलाई दिंदा त्यो सूचना नै रामकथाको मूल शूत्र बन्यो । त्यति मात्र होइन रावणलाई नाभी वाण लागेपछि मात्र उसको अन्त्य हुन्छ भन्ने गुह्य रहस्य विभीषणले नखोलिदिएको भए शायद रामको बाण त्यसै निष्फल हुन बेर लाग्ने थिएन । नेतृत्वमा रहेकाहरुले बुझ्नु पर्छ– राज्य सञ्चालनमा सूचना सवैभन्दा बढी शक्तिशाली हुन्छ । आज कुनै देश समृद्ध छ भने त्यसको पहिलो कारण हो– सूचनामा पहुँच । 

 


अमेरिकी राष्ट्रपति अब्राहम लिंकन जातीय दासता उन्मूलन गरेवापत संसारमा प्रसिद्ध भए । अमेरिकाको राष्ट्रिय अखण्डतालाई विखण्डन हुनबाट उनले जोगाउादा लाखौं अमेरिकी मरे । तैपनि उनले दक्षिणी अमेरिकी राज्यलाई छुटिन दिएनन । यसैका लागि श्रीलंकामा ७० हजार नागरिक बलिबेदीमा चढिसकेका छन । भारत र पाकिस्तानबीच बाँडिएको कास्मिरमा सन् १९४९ मा नेहरुले राष्ट्रसंघमा त्यहाँको जनताको आत्मनिर्णयको अधिकार मान्ने भनेर जनमत संग्रह स्वीकारेपनि मानिस मर्ने क्रम रोकिएको छैन ।

 

विश्वमा यस्ता मुलुक छन जहाँ सात पुस्ता बस्दा पनि नागरिकता दिइन्न । युएइमा सम्पूण नागरिक मध्ये १५ प्रतिशत मात्र स्थानीय हुन । नागरिकता दिएको भए फिजीमा महेन्द्र चौधरी उहिल्यै प्रधानमन्त्री भइसक्थे । वास्तवमा सत्य– असत्य, अँध्यारो– उज्यालो, कर्म– कुकर्मको दूरी त्यति पर छैन । 


 

विशेष