Technology

यात्रु ओसार्न ‘टुटल’ र ‘पठाओ’को प्रयोग, प्रहरीले थाल्यो निगरानी

- नारायण ढुङ्गाना

यात्रु ओसार्न ‘टुटल’ र ‘पठाओ’को प्रयोग, प्रहरीले थाल्यो निगरानी

काठमाडौं । मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्छन्भन्दा तपार्इंलाई नौलो लाग्न सक्छ । तर काठमाडौँ उपत्यकामा मोटरसाइकलले यात्रु ओसार्ने क्रम यत्रतत्र रहेको पाइएको छ ।

 

विगत तीन वर्षदेखि शुरु भएको यो सेवा प्रहरीले भने बल्ल चाल पाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको छ । शुरुमा हेल्लो सरकारमा मोटरसाइकले यात्रु ओसार–पसार गरिरहेकाले यसको वैधानिकता के छ भनेर गुनासो आयो । हेल्लो सरकराबाट महानगरीय ट्राफिक प्रहरी महाशाखामा आवश्यक छानबिनका लागि निर्देशन भयो । बुझ्दै जाँदा मोबाइल एप्समार्फत मोटरसाइकलको प्रयोग गरेर यात्रु ओसारेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए ।

 

नेपालमा भाडाका सवारीसाधन र ट्याक्सीले यात्रु ओसार्दै आएका छन् । यातायात व्यवस्था ऐनमा भएको प्रावधानमा टेकेर सरकारी अनुमतिमा यस्ता सवारीसाधनले निश्चित शुल्क लिएर यात्रु बोक्छन् । तपाईं हामीले पनि भाडाका गाडी प्रयोग गर्दै आएका छौँ । कुनै पनि सवारीले यात्रु बोक्नलाई यातायात व्यवस्था विभागमा दर्ता गर्नुपर्छ । तर यातायात व्यवस्था विभागमा मोटरसाइकलले यात्रु बोक्न पाउने भनेर दर्ता नभएको पाइएपछि गैरकानूनी काम भनेर कारवाही थालिएको प्रवक्ता सापकोटा बताउँछन् ।

 

‘प्रहरीमा पनि गुनासो आउन थालेको छ, हामीले पाँच वटा मोटरसाइकललाई कारवाही गरेर अब प्रयोग नगर्ने सर्तमा छाडेका छौँ, कानूनी प्रक्रिया नपुर्‍याएसम्म यस्तो पेशा गर्न कसैलाई छुट छैन,’ प्रवक्ता सापकोटाले भने ।

 

उनका अनुसार उनीहरूले ‘टुटल’ र ‘पठाओ’ नामको मोबाइल एप्लिकेसनमार्फत सम्पर्कमा आएका यात्रुलाई शुल्क लिएर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने गरेका छन् । ‘राम्रै काम भए पनि अवैध रुपमा त गर्न पाइएन’, उनले भने, ‘यसका विषयमा थप अनुसन्धान भइरहेको छ ।‘ यसरी सेवा दिने मोटरसाइकल टुटलसँग एक हजार र ‘पठाओ’सँग एक हजार बाइक रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु विभिन्न स्थानमा रहने भएकाले जुन ठाउँका यात्रुको माग आउँछ त्यही ठाउँको मोटरसाइकल प्रयोग हुन्छ ।

 

मोटरसाइकल भएका विद्यार्थी, चिकित्सक, वकील, विदेश गएर फर्किएका, विदेश जाने तयारीमा रहेका, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु यात्रु बोक्न सहभागी हुने गरेको अनुसन्धानबाट थाहाभएको प्रहरीले जनाएको छ ।

 

यसरी गर्छ टुटलपठाओले काम

‘टुटल’ र ‘पठाओ’को मोबाइल एप्लिकेसन बनेको छ । त्यही एप्लिकेसन डाउनलोड गरी ग्राहकहरु जोडिन सक्छन् । एप्लिकेसनमार्फत यात्रुले फलानो ठाउँबाट फलानो ठाउँमा जाने भनेर लेखेर पठाउँछन् । त्यसको जवाफ तुरुन्तै आउँछ ।

 

यति मूल्यमा यति लाग्छ भनेर रुट र नक्सासहित आउँछ । यात्रुले ‘ओके’ भनेपछि एकै छिनमा तोकेको ठाउँमा मोटरसाइकल आइपुग्छ । उनीहरुले न्यूनतम रु ३० रुपैयाँ र प्रतिकिलोमिटर रु १५ का दरले शुल्क लिने गरेका छन् । यो ट्याक्सीको मिटर प्रणाली जस्तै हो । तर यसमा भने ग्राहक आफैँले प्रविधिको प्रयोग गरी सेवा लिन सक्छन् ।

 

मुख्यगरी नाकाबन्दीका बेलामा सवारीको अभाव हुँदा यो प्रविधिको विकास भएको थियो । टुटलका एक जना सञ्चालक शिशिर भट्टले प्रविधि प्रदायक कम्पनी भएकाले आफूहरुले प्रविधिको विकास मात्रै गरेको बताए । उनले आफूहरु यातायात व्यवस्था विभागसँग सम्बन्धित नै नभएको उल्लेख गरे । तर एप्समार्फत् प्रयोग हुने मोटरसाइकललाई प्रहरीले पक्राउ गरेपछि आफ्नो व्यवसाय पनि प्रभावित हुने भट्ट बताउँछन् ।

 

प्रहरीका अनुसार यो प्रविधिको प्रयोग गरेबापत ९७ प्रतिशत मोटरसाइकलवालाले र तीन प्रतिशत प्रविधि सञ्चालकले लिने गरेका छन् ।

टुटल, पठाओ

विशेष