सरकारबाटै पर्यटन क्षेत्रको उपेच्छा, होटल क्षेत्रको लगानी धरापमा (भिडियोसहित)
सरकारले भ्रमण वर्ष २०२० लाई भव्यतापूर्वक सफल बनाउँदै मुलुकको आर्थिक अवस्थामा समेत सुधार ल्याउने योजना बनाइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई भ्रमण वर्षलाई सफल बनाउन रात दिन खटिरहेका छन् । तर, पर्यटन क्षेत्रमै क्रियाशिल व्यवसायी भने सरकारको योजना सफल हुनेमा आशंका गरिरहेका छन् ।
पर्यटन व्यायवसायी भरत बस्नेत भन्छन्, ‘ हामी कहाँ सरदर वार्षिक १० लाख पर्यटक आउने गरेका छन् । यो वर्ष सेप्टेम्बरसम्मको आँकडा अनुसार ७ लाख मात्र पर्यटक आएका छन् । अब तीन महिनामा ३ लाख पर्यटक आउने सम्भावना कम छ । यो हिसाबले हेर्दा यो वर्ष १० लाख पर्यटक पनि पुग्ने सम्भावना कम छ । जब पर्यटक आगमन दर नै घटिरहेकाबेला भ्रमण वर्ष २०२० मा कसरी २० लाख पर्यटक आउँछन् ?’
पर्यटकको संख्या दोब्बर बनाउन हरेक क्षेत्रमा दोब्बर काम गर्नुपर्छ । सबैभन्दा पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभर विमानस्थलको गुणस्तर र सेवा दोब्बर राम्रो हुनु पर्यो । जहाजहरुको संख्या र उडान पनि दोब्बर हुनु पर्यो । स्थलगत यातायातका लागि सडक सुविधा दोब्बर गुणस्तरीय हुनु पर्यो । हवाइ तथा स्थलगत यातायातको सुरक्षा पनि त्यहि हिसाबमा हुनु पर्यो । पूर्वाधारको क्षेत्रमा कुनै काम भएको छैन । त्यत्तिकै पर्यटकको संख्या दोब्बर बढाउने भनेर मात्र कसरी हुन्छ ?
अहिले दशैं तिहारको समयमा कलंकी नागढुंगाको अवस्था के छ ? दश–दश किलोमिटरसम्म गाडीको लाइन छ । काठमाडौंबाट एउटा पर्यटक भक्तपुर जानु पर्यो भने दिनभर लाग्छ । भक्तपुरबाट एउटा पर्यटक पाटन जान पर्यो भने पनि दिनभर लाग्छ । सवारी व्यवस्थापनको हालत यस्तो छ, अनि के को भ्रमण वर्ष ? पर्यटकको संख्या यसरी बढ्छ ?
वास्तवमा नेपालमा पर्यटकको संख्या होइन पर्यटकको खर्च बढाउनु छ । नेपालमा खर्च गर्ने पर्यटक चाहिएको छ । नेपालमा एउटा पर्यटकले सरदर दैनिक ३० देखि ४० डलरसम्म खर्च गर्ने गरेको छ । त्यही पर्यटकले भुटानमा दैनिक २५० डलर खर्च गर्छ । यदि पर्यटकले खर्च गराउने परिस्थिति निर्माण गर्न सक्ने हो भने संख्यामा अल्झिरहनु पर्दैन । सरकारले लक्ष्य लिए जस्तो भ्रमण वर्षमा २० लाख पर्यटक भित्रिने सम्भावना पनि देखिँदैन ।
पछिल्लो समय नेपालमा होटल क्षेत्रमा निकै लगानी बढेको छ । राजधानी काठमाडौं लगायत उपत्यका बाहिर ठूलाठूला होटल खुलेका छन् । एउटा तारे होटलको लगानी सामान्य रुपमा पनि ५ देखि ७ अर्बसम्म हुने गर्दछ ।
होटलमा जसरी लगानी भैरहेको छ त्यस अनुसार उपयुक्त ढंगले होटल चलिरहेका छैनन् । होटल घाटामा जान थालेका छन् । होटल व्यवसायीबीच अस्वस्थ प्रतिष्पर्धा चलेको छ । नयाँ आएका होटल व्यवसायीले ग्राहक तान्न दर भाउ सबै बिगारेपछि पुराना र कहलिएका होटल पनि जोखिममा परेका छन् ।
व्यवसायी बस्नेत भन्छन्, ‘ कुनैपनि बेला नेपालको होटल क्षेत्र दुर्घटनामा पर्न सक्छ । खर्बौको लगानी डुब्न सक्छ ।’
नेपालका होटल नेपालीका लागि महंगा र विदेशीका लागि सस्ता भैरहेका छन् । नयाँ खुलेका होटलहरुका कारण पुराना होटल पनि परम्परा भत्काउन बाध्य छन् । खासअर्थमा नेपालीका लागि सस्तो र विदेशीका लागि महंगो हुनुपर्ने हो, उल्टो हिसाबले होटल व्यवसाय चलिरहेको छ ।
‘नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि अहिलेको सरकार गम्भीर छैन । पर्यटनको चर्चा र प्रचार बढी छ, तर त्यस अनुसार नीतिगतरुपमा काम भएको छैन । पर्यटनलाई उद्योगकै रुपमा अघि बढाउनुपर्छ । पर्यटन व्यवसाय अहिलेसम्म सेवामुलुकका रुपमा मात्र रहेको छ, अब यसलाई उद्योगको मान्यता दिएर त्यसै बमोजिम अघि बढाउनुपर्छ ।’ व्यवसायी बस्नेत भन्छन् ।