सी जिनपिङ्ग भ्रमण : नेपालको कुटनीतिमा कोसेढुंगा
चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको आसन्न नेपालको राजकीय भ्रमण हुन अब २४ घण्टा बाँकी छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा “सी” दुई दिने नेपाल भ्रमणका लागि आउन लाग्नुभएको हो । भ्रमणको तालिका बमोजिम राष्ट्रपति “सी”ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, राष्ट्रपति “सी” ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गर्ने विषय बाहिर आएको छ । यो सँगै, २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भएका छन् ।
भ्रमणलाई सफल तुल्याउन दुई देशबीच विभिन्न विषयहरुमा समझदारी पत्र र एमओयू हस्ताक्षरको तयारी दुवै पक्षबाट जोड्तोडका साथ भइरहेको देखिन्छ । भ्रमणको सुरक्षा व्यवस्था, कार्यक्रम व्यवस्थापन, भेटवार्ताको सूचीसंगै दुवै तर्फबाट उद्देश्यमूलक भेटवार्ताका लागि द्विपक्षीय हित र सम्बन्धका विभिन्न विषयवस्तुहरु माथि गृहकार्य भैरहेको छ । यसै सन्दर्भमा नेपालमा विभिन्न वर्ग तथा तहबाट उक्त भ्रमण सम्बन्धी आफ्ना दृष्टिकोण तथा हाल विद्यमान राष्ट्रिय हित एवम सवालका विषयवस्तुहरु सम्बन्धित रायहरु आइरहेको देखिन्छ ।
नेपाल–चीन आर्थिक, भौतिक पूर्वाधार, जलविद्युत, रेलमार्ग तथा ठूला आयोजनाहरुमा जोड दिँदै उच्चस्तरीय भेटलाई सफल पार्नुपर्ने रायहरु प्रखर रुपमा आइरहेका छन् । त्यसमा पनि द्विपक्षीय हितका विषयवस्तुमा नेपालको हित र स्वार्थलाइ अधिकतम जोड्बल दिनुपर्ने कुराहरु आइरहेका छन, जुन समय सापेक्षका बोली र विचारहरु हुन् । तर यसमा नेपालको हित र स्वार्थ भन्दा केही थप विविध पक्षहरु माथि पनि विचार विमर्श गर्नु आवश्यक छ ।
नेपालमा चल्दै आइरहेको कुटनीतिक अभ्यासमा उच्चस्तरीय भ्रमणमा धेरै जस्तो राष्ट्रिय हित, स्वार्थ र सवाल पूर्वाधार, जलविद्युत तथा आर्थिक सहायतामा केन्द्रित हुने गर्छ । यी सवालहरु सम्बन्धी सम्झौताहरु भए र जति धेरै सहायता भित्र्याउन सक्यो, त्यति नै सफल भ्रमण हुने मानसिकता अझै पनि कायम छ, जुन विचार नेपाल विकासोन्मुख मुलुक रहेकोले तर्कसंगत मेल खान्छ । त्यसैगरी सरकारको नेतृत्वकर्ताको सफलता विपक्षी दल तथा आमजनतालाई भ्रमणमा ठूलो राष्ट्रिय हितमा सम्झौता गरी भ्रमण सफल रहेको अनुभूति दिलाउन पनि हुन्छ । तर सधैं आपसी सम्बन्धलाई नापतौलका आधारमा लेनदेन गरेर मात्र सम्बन्ध विकसित हुने हैन ।
दुई देशको सम्बन्धमा विभिन्न आपसी फाइदामा मात्र सीमित नरही त्यो भन्दामाथि उठेर सौहार्द, विश्वासिलो र दीर्घकालीन सम्बन्धको अभिवृद्धि पनि उतिकै आवश्यक हुन्छ । एउटा देशको अरु देशहरुसंग विभिन्न आयामका सम्बन्ध हुन सक्छ, जसले आपसी हित र स्वार्थको रक्षा गर्दछ । तर छिमेकीको सम्बन्धमा कुनै पनि देशले गुणात्मक, पारस्परिक , सौहार्द तथा विश्वसनीय सम्बन्ध निर्माण गर्नु आवश्यक हुन्छ । भनिएकै छ– साथी परिवर्तन गर्न सकिन्छ तर छिमेकी हैन । त्यसैले छिमेकीसंग राष्ट्रिय स्वार्थ र हित भन्दा माथि उठेर आपसी भाइचारा र विश्वासिलो सम्बन्धको विकास गर्नुपर्ने आवश्यकता रहन्छ । हाल हुन लागेको सी जिनपिङ्गको भ्रमणमा नेपालले कुटनीतिमा नविनतम प्रयोग ल्याउन सक्नुपर्दछ ।
त्यो हुने सम्भावना पनि देखिदै छ । प्र.म. ओलीले विभिन्न बैठहरुमा सपिङ्ग लिस्ट तयार पार्नु नहुने जिकिर गर्दै आइराखेको देखिन्छ । यस अर्थमा हालको नेतृत्वले नेपाल सहयोगकै लागि सधैं विमानस्थलमा हात मिलाउँदै रातो कार्पेटमा स्वागत गर्ने हैन, बरु स्वार्थ केन्द्रित कुटनीतिक सम्बन्धवाट माथि उठेर दुई देशको उच्चस्तरीय भ्रमणबाट सम्बन्धका नया आयामहरु खोज्ने , उच्च तहबाटै विश्वासिलो र दिर्घकालिन सम्बन्ध विकास गर्ने सन्देश दिन हरसम्भव प्रयत्न गर्ने देखिन्छ । त्यसैले यो हुन लागेको ऐतिहासिक भ्रमणमा केही थान सम्झौताहरुमा मात्रै सीमित नरही दुई देशको अन्तरसम्बन्धमा नयाँ आयाम खोज्नु पर्ने र नेपालको तर्फबाट विश्वासिलो सम्बन्धमा दृढ्ता देखाउनुपर्ने आवश्यकता छ ।
परराष्ट्र सम्बन्धका सिद्धान्त अनुरुप आपसी हीत अन्तर्गत राष्ट्रिय स्वार्थभन्दा माथि उठेर चीनका पनि केहि मुद्दाहरुलाई अरु देशको सम्बन्धमा हानी नोक्सानी नहुने गरी सूक्ष्म ढंगले बुझिदिनु उतिकै आवश्यक छ । हाल चीनको अन्तर्राष्ट्रिय जगतमा पश्चिमा विश्व मूल्य मान्यता विरुद्ध अथवा विकल्पमा भनौं विभिन्न मुद्दा र सवालहरु छन, जसको जग अन्तर्राष्ट्रिय समर्थन र साथ हो । त्यसैले हाल चीनको अन्तरदेशीय सम्बन्धको स्वार्थ आर्थिक सम्बन्ध र व्यापार मात्रै नभई बलियो अन्तर्राष्ट्रिय समर्थन पनि हो । चीन अहिले खासगरी कम विकसित र उपेक्षित राष्ट्रहरुबाट साथ र समर्थनका लागि विआरआई तथा “सी” को “साझा भविष्य को समुदाय” कम्युनिटी अफ शेयर्ड डेस्टिनीजस्ता विचारहरु प्रवद्र्धनबाट वलियो अन्तर्राष्ट्रिय साथ र भरोसा खोज्दै छ ।
यस्तो घडीमा हुन लागेको भ्रमणमा चीनको सर्वोच्च नेतालाई नेपाल चीनको भरपर्दो साथीको रुपमा चिनाउन आवश्यक छ । यो किन पनि आवश्यक छ भने चीनको एकतन्त्रीय राजनीतिक प्रणालीको सर्वोच्च नेता सी जिनपिङ्गको अघोषित राष्ट्रपति कार्यकाल । हाल चिनियाँ नेतृत्व लामो समयमा सम्म “सी” कै हातमा रहने लगभग पक्का नै छ । सन २०१८ को चिनिया पिपुल्स कांग्रेसको वार्षिक बैठकले राष्ट्रपतिको कार्यकालको २ वर्षको अवधिको संवैधानिक संशोधन गरी आजीवन राष्ट्रपतिको लागि बाटो खोलि दिएको छ । यस्तो बेला “सी” लाई नेपाल प्रतिको विश्वासमा बढावा दिनु नेपालको दिर्घकालिन हितमा हुनेछ ।
त्यसैले नेपाल छिमेकी हुनुको नाताले चीनको जायज पक्षमा साथ, सहयोग दिने तत्पर रहेको र त्यसको लागि नेपाल अन्तर्राष्ट्रिय संघ संस्था र वहुपक्षीय फोरमहरुमा चीनसंगै उभिने विश्वास दिलाउन सक्नुपर्छ । चीन विरुद्धको कुनै पनि सहकार्य र दुवै देशको सम्बन्धमा कुनै पनि हस्तक्षेप हुन नदिने कुरामा सी लाई विश्वस्त पारिनु पर्छ ।
सी को भ्रमणमा दुई देशको सन्तुलित सम्बन्धमा नेपालको विकास अपरिहार्य रहेको र सोको लागि चीनको सहायताका लागि विन्तीभाउ गर्नु भन्दा पनि आवश्यकता लाई उद्धृत गर्नुपर्ने देखिन्छ । अन्तत नेपालले हाल सीको भ्रमणबाट लिने संगै केही दिन सक्ने सवालहरु पनि पहिल्याउनु जरुरी छ । यो नै नेपाल– चीन सम्बन्धको विश्वासिलो र दिर्घकालीन हितको कडी हुन सक्दछ ।
लेखक चीनस्थित आईएसएएस सिचुआन युनिभर्सिटीको रिसर्च फेलो हुन् ।