विश्वकप छनोट खेलमा जोर्डनद्वारा नेपाल ३-० गोल अन्तरले पराजित !
विश्वकप छनोट खेलमा जोर्डनसंग नेपाल पराजित भएको छ। मंगलवार राती भएको खेलमा जोर्डनले आफ्नो घरेलु मैदानमा नेपाललाई ३-० गोलले पराजित गरेको हो।
अम्मेन रंगशालामा भएको खेलमा पहिले हाफमा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो हाफमा नेपालले ३ गोल खायो। खेलको ५६ मिनेटमा नेपालले पेनाल्टीमार्फत पहिलो गोल खाएको थियो।
जोर्डनले खेलको ७८ मिनेटमा अग्रता दोब्बर पार्यो। उसका लागि अहमाद इरसनले उत्कृष्ट फिनिसिङ गर्दै दोस्रो गोल गरेका थिए।
खेल सकिन २ मिनेट बाँकी छदा नेपालले तेस्रो गोल खायो। जोर्डनका बहा फैसलले ८८ मिनेटमा गोल गरेर आफ्नो टिमलाई ३-० ले अघि बढाएका थिए।
समूह 'बी' मा नेपाल चौथो स्थानमा छ। नेपालले ४ खेलमा ३ अंक जोडेको छ।
तीनै खेलमा विजयी हुँदै ९ अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ भने जोर्डन ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ। तेस्रो स्थानको कुवेतले ४ अंक जोडेको छ। अंकबिहीन चाइनिज ताइपेई पाँचौ स्थानमा छ।
योसँगै नेपालले चार वटै अवे खेलेको छ। नेपाल पहिलो खेलमा कुवेतसँग ७-० गोलले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले चाइनिज ताइपेईलाई २-० गोलले हराएको थियो। तेस्रो खेलमा नेपालमाथि अस्ट्रेलियाले ५-० को जित हात पारेको थियो।