कमसल खानाले कलिलैमा मोटोपन !
काठमाडौँ। मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ । यो समस्या कमसल खानाले गर्दा बढेको हो । ‘विश्वका बालबालिकाको अवस्था २०१९– बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ ।
नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ । प्रतिवेदनअनुसार बढी तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ । सम्पन्न र सहरियाहरूमा मोटोपना हुने सम्भावना बढी रहेको छ । नेपालमा करिब ३६ हजार बालबालिका मोटापनाको समस्या छ ।
एकातर्फ मुलुकमा मोटोपना बढ्दै गएको छ भने अर्कोतर्फ अझै ११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन् । अझ करिब २ लाख ९० हजार बालबालिका ख्याउटे हुनुका साथै १३ लाख बालबालिकामा भिटामिन ‘ए’, आइरनजस्ता आवश्यक पोषक तत्त्वको कमी रहेको प्रतिवेदनले औंल्याएको छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन।