डब्लुसीएल क्रिकेट : विराटनगरको लगातार दोस्रो जित, पोखरा ६ विकेटले पराजित
काठमाडौँ । महिला च्याम्पियन्स लिग ‘डब्लुसीएल’क्रिकेटमा विराटनगर टाईटन्सले लगातार दोस्रो जित निकालेको छ । आज विहान भएको खेलमा उसले पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको हो । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको ९५ रनको सामान्य विराटनगरले १५ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो ।
विराटनगरको जितमा लक्ष्मी चौधरीले २३ तथा ज्योति पाण्डेले २२। अश्मिना कर्माचार्यले १६ र डोली भट्टले १२ रनको योगदान दिइन । पोखराकी सिता राना मगरले २ विकेट लिईन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो ।
पोखराका लागि कविता कुवरले २२, कप्तान सिता राना मगरले १६, अन्जली चन्दले १५ तथा रेवती धामीले १२ र सरस्वती मगर १० रन जोडे । विराटनगरकी सबनम राईले २ र सोनु खड्काले १ विकेट लिइन । जितसँगै विराटनगरले २ खेलमा ४ अंक जोडेको छ ।
जितसँगै विराटनगरले दुई खेलमा चार अङ्क जोडेको छ भने पोखराको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरा क्वाट क्विन्स काठमाडौँसँग ८२ रनले पराजित भएको थियो ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।