मुख्य समाचार

महाकाली ब्यारेजका ढोकामा भारतले लगायो ताल्चा

महाकाली ब्यारेजका ढोकामा भारतले लगायो ताल्चा

 कञ्चनपुरः नेपाल–भारतको सीमामा बग्ने महाकाली नदी दुवै देशको साझा नदी भनिए पनि शारदा ब्यारेजका १६ वटै ढोकामा ताल्चा लगाएर भारतले महाकालीको पूरै पानी भारततर्फ लैजाँदा श्मशानघाटमा लाश जलाएर खरानी बगाउनसमेत नेपालीले पानी पाउन सकेका छैनन् ।

नेपाल–भारतको सीमामा बग्ने महाकालीको पानी आधा–आधा गरिने भने पनि भारतले बर्खामा सबै ढोका खोलिदिँदा बाढी र हिउँद लागेपछि ब्यारेजका सबै ढोका थुनेर पानी लैजाँदा कञ्चनपुरमा खडेरी हुने गरेको छ । सञ्चारक्षेत्रमा काम गर्दै आइरहेको थर्डपोलले कञ्चनपुरमा आयोजना गरेको नेपाल–भारतका पत्रकारको संयुक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका उपमेयर सुशीला चन्द सिंहले महाकाली साझा नदी भनिए पनि शारदा ब्यारेजको चाबी भारतको हातमा हुँदा नेपालीले पानी नपाएको बताए । 

उपमेयर चन्दले भने, ‘भारतले शारदा ब्यारेजका १६ वटै ढोका बर्खामा खोल्ने गरेको र हिउँदमा सबै ढोका थुनेर जम्मै पानी लैजाँदा नेपालतर्फ सिँचाइ हुँदैन । घाटमा लाश जलाएर खरानी पखाल्नसमेत पानी हुँदैन । कम्तिमा एउटा ढोका खोलिदिए पनि नेपालीलाई राहत हुन्थ्यो । के गर्ने?’ ब्यारेजको चाबी भारतको हातमा छ । बर्खामा १६ वटै ढोका खोल्ने र हिउँदमा सबै ढोका बन्द हुने गरेका छन् । भीमदत्त नगरपालिका–११, भुजेलाघाटमा पाँच करोड रुपियाँको लागतमा निर्माण भइरहेको घाटमा खरानी कसरी बगाउने भन्ने चिन्ता रहेको उपमेयर चन्दले बताए । 

सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिँचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुई सय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । वि.सं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धिमा हस्ताक्षर भएको थियो ।

पञ्चेश्वर परियोजना र महाकाली नदीको एकीकृत विकाससम्बन्धी गरिएको उक्त सन्धिको धारा (२) को उपधारा २ ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउनुपर्ने पानी प्रवाहित गर्नका लागि हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ ।

दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाको बीच भागबाट बग्ने महाकाली नदीको पानी शारदा ब्यारेजबाटै थुनिएर भारत जाँदा हिउँदमा यो क्षेत्रमा खडेरी हुने गरेको पीडा स्थानीयले सुनाएका छन् । कार्यक्रममा सहभागी भारतीय सञ्चारकर्मी र सामाजिक अभियन्ताले कञ्चनपुर क्षेत्रको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाका गाउँमा भ्रमणसमेत गरेका छन् ।

स्थलगत भ्रमणपछि यो मुद्दा गम्भीर भएकोले नेपाल सरकारले भारत सरकारसँग निर्णायक वार्ता गर्नुपर्ने भारतीय सञ्चारकर्मी र सामाजिक अभियन्ताले टिप्पणी गरेका छन् । लामो समयदेखि भारतको उत्तराखण्ड राज्यमा रहेर नेपाल–भारत संयुक्त मञ्च (ईण्डो नेपाल जोइन्ट फोरम) मा काम गर्दै आइरहनुभएका तेजसिंह भण्डारीले महाकालीको पानी कञ्चनपुरका नागरिकले सदुपयोग गर्न नपाएको विषयमा आफूलाई समेत दुःख लागेको बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
 

महाकाली नदी  कञ्चनपुर महाकाली ब्यारेज ताल्चा

विशेष