टेष्ट सिरिजः दक्षिण अफ्रिकाविरुद्ध रोहित शर्माको दोहोरो शतक

काठमाडौंः दक्षिण अफिका विरुद्धको टेष्ट क्रिकेट सिरिज अन्तर्गत अन्तिम तथा तेस्रो खेलको पहिलो इनिङ्समा भारतीय टिमका ओपनर रोहित शर्माले दोहोरो शतक बनाएका छन् ।
उनले २८ चौका र ५ छक्काको मद्दतमा २४९ बलमा दोहोरो शतक पूरा गरेका हुन् । टेष्ट क्रिकेटमा रोहितको यो पहिलो दोहोरो शतक हो । टेष्ट करियरममा उनको यो उच्च स्कोर पनि हो ।
उपकप्तान रहाणेको शतक
भारतीय टेष्ट क्रिकेट टिमका उपकप्तान आजिंक रहाणेले शतक बनाउँदै आउट भएका छन् । उनले १ छक्का र १७ चौकाको मद्दतमा १९२ बलमा ११५ रनको योगदान दिए । जारी सिरिजमा रहाणेको यो पहिलो शतक हो ।
सस्तैमा गुमेको थियो ३ विकेट
भारतले ओपनर मयंक अग्रवाल, चेतेश्वर पुजारा र कप्तान विराट कोहलीलाई सस्तैमा गुमाएको थियो ।
अन्तिम खेलको पहिलो पारीमा मयंक १०, पुजारा शून्य र कप्तान कोहली १२ रनमा आउट भए । मयंक र पुजारालाई कागिसो रबाडा र विराटलाई अन्रिच नोर्त्जेले आउट गरेका हुन् ।
रबाडाले आफ्नो टिमलाई पहिलो सफलता ४ ओभरको अन्तिम बलमा मंयकलाई एल्गरको हातबाट क्याच आउट गराए ।
यस्तै रबाडाले दोस्रो विकेटकारुपमा पुजारालाई ८.३ ओभरमा एल्बीडब्लू आउट गर्न सफल भए ।
विराटलाई १५.३ ओभरमा नोत्र्जेले एल्बीडब्लू आउट गर्न सफल भए । टेष्ट क्रिकेटमा उनको यो पहिलो विकेट हो ।
सिरिजको अन्तिम खेलमा पनि टस जितेर ब्याटिङ रोजेको भारतले यो समाचार तयार पार्दासम्म ८८ ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर ३७० रन बनाएको छ ।
तीन खेलको सिरिज भारतले जितिसकेको छ । यदि यो खेल पनि भारतले नै जिते उसले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिज ‘क्लिन स्विप’ गर्नेछ ।
टेष्ट सिरिज रोहित शर्मा दोहोरो शतक