मुख्य समाचार

अघिल्लो वर्षभन्दा किन चाँडै बढ्यो चिसो?

अघिल्लो वर्षभन्दा किन चाँडै बढ्यो चिसो?

काठमाडौंः काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
अघिल्लो वर्षको तुलनामा छिट्टै चिसो बढेको हो । मौसमविद् मीनकुमार अर्यालले वायुमण्डलको प्रभावका कारण चिसो बढेको बताए ।
 
‘धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको हो,’ उनले भने । अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकामा यसपटक १४ डिग्रीमा झरेको छ ।
 
‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उनले भने, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुनेछ ।’ 
 
‘अबको केही समयमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ,’ मौसमविद् अर्यालले भने । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घट्दो रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
सोमबार र मंगलबार थोरै समयका लागि मात्र घाम देखिने महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए । नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम तापक्रम घट्ने क्रममा रहेको उनले बताए । ‘अरब सागरबाट नेपाल बहने पश्चिमी जलवाष्पयुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना भने छैन,’ उनले भने ।
 
आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ७ मापन गरिएको थियो । विराटनगको न्यूनतम १८ डिग्री मापन गरिएको थियो । वीरेन्द्रनगर, सिमरा, दाङ, धनकुटा र पोखरामा पनि न्यूनतम तापक्रम घटेको महाशाखाले जनाएको छ । राजधानी दैनिकबाट
 

चिसो मौसम पूर्वानुमान महाशाखा

विशेष