खेल मुख्य समाचार

महिला क्रिकेट : काठमाडौंलाई हराउँदै चितवन च्याम्पियन

महिला क्रिकेट : काठमाडौंलाई हराउँदै चितवन च्याम्पियन

पहिलो संस्करणको ‘फ्रेन्चाइज’ महिला ट्वेन्टी–२० वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटको उपाधि चितवन राइनोज्ले जितेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा ११२ रन बनाएको थियो ।

सुमन खतिवडाले सर्वाधिक २९ रन बनाएको इनिङ्समा कप्तान इन्दु वर्माले १९ बलमा अविजित रहँदै २२ रन जोडिन् ।

जवाफमा काठमाडौंले २० ओभरमा ‘अलआउट’ हुँदै ६७ रनमात्र बनाउन सक्यो ।

अप्सरी बेगमले सर्वाधिक १५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा चितवनकी ‘अलराउन्डर’ सुमनले ११ रन खर्चेर ३ तथा रितु कनौजियाले ७ रन खर्चेर ३ विकेट लिइन् । रेखा रावलले २ विकेट झारिन् ।

चितवनले काठमाडौंलाई लिग चरणमा ५ विकेटले हराएको थियो ।

अपराजित रहँदै उपाधि जितेको चितवनले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले तीन लाख रुपैयाँमा चित्त बुझायो ।

विशेष