भेनेजुएलाका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले गरे साइडलाइन वार्ता
काठमाडौंः असंलग्न अभियान (नाम) का राष्ट्र तथा सरकार प्रमुखहरूको १८औं शिखर सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग साइडलाइन वार्ता गरेका छन् । मदुरो नामका निवर्तमान अध्यक्ष हुन् ।
भौगोलिक दूरी टाढा भए पनि कम्युनिस्ट विचारधाराका कारण नेपाल र भेनेजुएला सरकारबीच सुमधुर सम्बन्ध छ । अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्ध लगाउँदा नेकपा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी कदमको विरोध जनाएका थिए । त्यसबाट चिढिएको अमेरिकाले नेपाललाई भेनेजुएलामाथि आफ्नो धारणा स्पष्ट पार्न दबाब दिएको थियो ।
सोही घटनाका कारण ओली र मदुरोबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ । भेटमा दुई नेताले द्विपक्षीय सम्बन्धबारे छलफल गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । मदुरोको आग्रहमा भेटवार्ता भएको उनको भनाइ छ ।
ओलीले साइडलाइन वार्ताकै क्रममा उत्तर कोरियाका राज्यव्यवस्था आयुक्त चोई योङ हईसँग भेट गरेका थिए । चोई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका निकट पात्र मानिन्छन् । उक्त भेटमा समेत द्विपक्षीय सम्बन्धबारे छलफल भएको भट्टराईले जानकारी दिए । ओलीले साइडलाइन वार्ताअन्तर्गत नै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद र पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीसँग द्विपक्षीय चासोका विषयमा वार्ता गरेका थिए । दुईदिने सम्मेलन शनिबार सकिएको छ । प्रधानमन्त्री ओली आइतबार नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल नामको १८औं शिखर सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा चयन भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार एक सत्रको सञ्चालन गर्नुका साथै नेपालका तर्फबाट आफ्नो विचारसमेत राखेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
केपी शर्मा ओली निकोलस मदुरो शिखर सम्मेलन साइडलाइन वार्ता