मुख्य समाचार

अर्को वर्ष यसरी झर्दैछ मेलम्चीको पानी काठमाडौंमा

अर्को वर्ष यसरी झर्दैछ मेलम्चीको पानी काठमाडौंमा

काठमाडौंः अघिल्लो दशैँसम्ममा सम्पन्न हुने भनी प्रचार गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी अब अर्को दशैँ अघि नै काठमाडौं ल्याउने गरी काम भइरहेको एक उच्च अधिकारीले बताएका छन्।

नेपाल सरकारले केही साताअघि एक चिनियाँ निर्माण कम्पनीलाई मेलम्चीको बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएपछि अबको एक वर्षभित्र मेलम्ची आयोजनाले पूर्णता पाउन लागेको मेलम्ची बोर्डका अधिकारीहरू बताउँछन्।

तर खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले ठेकेदारले लाभांश पाउने आशामा छिटो काम सक्ने आशा गरिएपनि ऊमाथि छिटोभन्दा छिटो काम सक्न दबाव दिन नमिल्ने बताए। गत महिना चिनियाँ ठेकेदारसँग १५ महिनामा काम सक्ने गरि सम्झौता भएको थियो।

सिन्धुपाल्चोकबाट बग्ने मेलम्ची नदीको पानी काठमाडौं ल्याउने २७ किलोमिटर लामो सुरुङ छिचोल्ने काम गत वर्ष नै पूरा भइसकेपनि सुरुङको भित्री भाग सबल बनाउने काम बाँकी नै छ। त्योसँगै मेलम्ची नदीमा सानो बाँध बनाएर जम्मा हुने पानी सुरुङभित्र सोझ्याउने ‘हेडवर्क्स्’ को काम पनि सुरु हुन बाँकी नै छ।

नयाँ ठेक्कासँगै नयाँ आशा

ती काम पूरा गर्ने जिम्मेवारी नेपाल सरकारले गत सेप्टेम्बर २९ मा चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई दिएपछि मेलम्ची आयोजनाका अधुरा काम पूरा हुने वातावरण बनेको अधिकारीहरू बताउँछन्।

सिनोहाइड्रोलाई मेलम्चीको पानी झार्न १५ महिनाको म्याद दिइएको छ। त्यसको अर्थ त्यो काम २०७७ साल पुसभित्र पूरा हुनु पर्दछ। तर त्यो काम सक्दो छिटो गराउने प्रयास भइरहेको अधिकारीहरू बताउँछन्।

आशङ्काहरू कायमै रहेपनि मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्छन्, समयअगावै काम पूरा गरे ठेकेदार कम्पनीले लाभांश पाउने व्यवस्था गरिएकोले सिनोहाइड्रोले यही आर्थिक वर्षभित्र अर्थात २०७७ साल असार मसान्तभित्रै मेलम्चीका बाँकी काम पूरा गने सम्भावना प्रबल छ।


यस्तो छ योजना
 

हालैको सम्झौतामा चिनियाँ सिनोहाइड्रोलाई मेलम्चीको पानी झार्न १५ महिनाको म्याद दिइएको छ।
उनले भने, ‘हामीले ठेकेदारलाई चाँडै काम सके लाभांश दिने भनेका छौँ। त्यसैले यो आयोजनाको काम आगामी असार मसान्तभित्रै सकिन सक्छ।’ 

सिनोहाइड्रोले यसअघि नेपालमै ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजनाको काम पूरा गरिसकेको छ। उसले अहिले मेलम्चीको सुरुङ सबल तुल्याउन र मुहानमा बाँध बनाउन १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रकमको ठेक्का पाएको छ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले ठेकेदारले सुरुङभित्रको काम छिटो सकेमा पानी छिटो ल्याउन सकिने बताए। ‘मुहानको पानी सोझ्याउने जत्तिकै महत्त्वपूर्ण काम हो सुरुङभित्र गर्नु पर्ने काम। सुरुङभित्रको काम जति छिटो सकिन्छ त्यत्तिनै छिटो पानी ल्याउन सकिन्छ।’ 

सुरुङलाई सबल गराउनेलगायतका कामसँगै मुहानमा सानो बाँध बनाउने र पानीलाई सुरुङभित्र मोड्ने अभिभारा अहिले सिनोहाइड्रोको काँधमा आएको छ।

ती काम पूरा भएपछि मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डू ल्याउने सरकारी योजना छ।

अर्को विकल्प

कार्यकारी निर्देशक खत्रीका अनुसार ‘मुहानमा बाँधको काम केही महिनाभित्रै पूरा हुन नसकेमा अस्थायी संरचना बनाएरै भएपनि मेलम्चीको पानी आउने दशैँअघिसम्ममा काठमाडौं ल्याउने योजना छ’ 

मेलम्ची नेपालका राष्ट्रिय गौरवका आयोजनाहरू मध्येको एक हो। तर ३५ करोड अमेरिकी डलर लागतको मेलम्ची विवादमुक्त रहन सकेको छैन। केही साताअघि आयोजनाका मजदुर तथा सहठेकेदारहरू भुक्तानी नपाएको भन्दै क्रुद्ध भएका थिए।

यसअघि मेलम्चीको बाँकी काम पूरा गर्ने जिम्मेवारी पाएको एक कम्पनीले अचानक परियोजनाका काम परित्याग गरिदिएपछि मेलम्ची सङ्कटग्रस्त हुन पुगेको थियो। अहिले एक सरकारी टोलीले त्यो सँग जोडिएका विवाद हल गर्ने प्रयास गरिरहेको बताइएको छ। बीबीसी नेपालीबाट 

मेलम्ची खानेपानी आयोजना काठमाडौं

विशेष