नेपालको दोस्रो लामो पुलको निर्माण कार्य सकियो, माघमा उद्घाटन गरिँदै
तुलसीपुरः नेपालको दोस्रो ठूलो पुलको निर्माण कार्य सम्पन्न भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुलको निर्माण कार्य सम्पन्न भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब एक अर्ब लगानीमा निर्माण पूरा भएको हो ।
अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२–७३ देखि निर्माणकार्य शुरु गरेको हो । आव २०७६–७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअगावै निर्माणको काम पूरा भएको पुल निर्माणको योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजनाप्रमुख सुनिलबाबु पन्तले बताए । ‘पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो’ उनले भभने, ‘तर सम्झौता अवधि पूरा गर्नु ४ महिनाअघि नै हामीले काम पूरा गरेका छौँ ।’
अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भइरहेको उनले बताए । उक्त पुलको आउँदो माघ महिनामा उद्घाटन हुनेसमेत उनले बताए । उक्त पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ ।
अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ । ‘पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो थियो ।
बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था नै हुँदैनथ्यो’ उनले भने, ‘भनेको बेला सवारीसाधन पनि नपाएर वारपार गर्न हैरान हुन्थ्यो । अब पुल निर्माण भएसँगै १५ मिनेटमा आवतजावत गर्न सकिनेछ ।’
यो पुल निर्माण भएपछि आयआर्जनमा टेवा पुग्नेछ । जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने भएकाले यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ । तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् ।
पुल निर्माण भएमा राप्ती नदीपारिका किसानको कृषि उत्पादनको बजारीकरण गर्न ठूलो सहयोग पुग्न सो क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताए ।
दाङ पुल