खेल

रियलमाथि बार्सिलोनाको शानदार जित, उक्लियो शीर्ष स्थानमा

रियलमाथि बार्सिलोनाको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौंः स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले रियल भालाडोलिडमाथि शानदार जित निकालेको छ ।

मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडमाथि बार्सिलोनाले ५–१ गोलअन्तरको जित निकालेको हो । यो जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।  

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै, क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र लुइस स्वारेजले गोल गरे । रियल भालाडोलिडका लागि किकोले गोल फर्काएका थिए ।

खेलको दोस्रो मिनेटमा नै क्लेमेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर खेलको १५औं मिनेटमा किकोले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

खेलको २९ औं मिनेटमा भिडाल र ३४औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोना पहिलो हाफसम्म ३–१ गोलअन्तरले अघि रह्यो । त्यसपछि खेलको ७५औं मिनेटमा मेस्सी र ७७औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ५–१ गोलअन्तरको जित दिलाएका हुन् ।

यो जितसँगै बार्सिलोनाले १० खेलबाट २२ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित रियल भालाडोलिड भने लिगको नवौं स्थानमा छ । लिगको दोस्रो स्थानमा भने ग्रानाडा छ ।

स्पेनिस ला लिगा फुटबल बार्सिलोना भर्सेस रियल भालाडोलिड

विशेष