मुख्य समाचार

प्रधानमन्त्री ओलीको डायलाइसिस, स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी लुकाउने प्रयास

प्रधानमन्त्री ओलीको डायलाइसिस, स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी लुकाउने प्रयास

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ । ‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

अस्पताल प्रशासनले प्रधानमन्त्रीका विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । ‘अस्पतालको निर्देशकका रूपमा मेरो पहिलो काम भनेको बिरामीको उपचार हो । प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा जानकारी दिन आग्रह नगरेसम्म मैले केही पनि भन्न मिल्दैन । मेरो बाध्यता बुझिदिनुस्,’ निर्देशक पाण्डेले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ९ बजे अस्पताल लगिएको बताए । ‘उहाँ नियमित परीक्षणका लागि अस्पताल जानुभएको हो । परीक्षणको रिपोर्ट आएपछि बालुवाटार फर्कनुहुन्छ,’ उनले भने । तर ग्रान्डीकै केही चिकित्सकले यसलाई नियमित फलोअप भन्न नसकिने टिप्पणी गरे । ‘यो नियमित फलोअप होइन,’ एक चिकित्सकले भने, ‘स्वास्थ्य समस्याका लागि विशेष परीक्षण, उपचार प्रक्रियाको क्षमतायुक्त अस्पताल नै पुर्‍याउनुपर्ने बाध्यताले उहाँलाई ल्याइएको हो ।’ उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यस्थिति, उपचार आदिबारे अन्य चिकित्सक, पदाधिकारीलाई समेत सूचना दिइएको छैन । निजी चिकित्सक शाह र अर्का चिकित्सक दिलीप शर्मालाई मात्र रिपोर्ट हेर्न दिइएको छ ।

प्रधानमन्त्री भदौ ५ गते उपचारका लागि सिंगापुर प्रस्थान गर्नुपूर्व शाहले प्रेस नोट जारी गर्दै तत्कालीन स्वास्थ्यस्थिति र उपचार प्रक्रियाबारे जानकारी गराएकी थिइन् । उक्त जानकारीअनुसार प्रधानमन्त्रीको पहिलो पटक साउन १८ देखि २७ सम्म नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरिएको र उनको शरीरमा ‘एन्टीबडी’को मात्रा धेरै देखिएको थियो । त्यसलाई निराकरण गर्न प्लाज्माफेरेसिस प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले दोस्रो पटक पनि सिंगापुर जान लागिएको बताइएको थियो । प्रधानमन्त्री दोस्रो पटक सिंगापुरबाट भदौ २० गते फर्किएका थिए ।

‘एन्टीबडी’ भनेको शरीरलाई बाहिरी तत्त्वबाट जोगाउन उत्पादन गरिने एक प्रकारको लडाकु कोष हो । चिकित्सकका अनुसार १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको शरीरमा एन्टीबडी घटाउन प्लाज्माफेरेसिस गरिनु सामान्य प्रक्रिया नै थियो । प्लाज्माफेरेसिस पद्धतिमा शरीरबाट रगतलाई नलीको माध्यमबाट ‘एफेरेसिस’ मेसिनमा पठाइन्छ । मेसिनले धेरै मात्रामा रहेको एन्टीबडी निकालेर रगत पुनः शरीरमै पठाउँछ । एन्टीबडी फेरि बढ्न नदिन केही औषधि दिइन्छ । त्यो औषधिले राम्रो काम गरे तत्काललाई मिर्गौला प्रत्यारोपण गर्नुपर्दैन । तर, एन्टीबडी उत्पादन नियन्त्रण नभए प्रत्यारोपणको विकल्प हुँदैन । उक्त औषधिले कहिलेकाहीँ सकारात्मक असर देखाउँछ भने कहिले थप जटिलता पनि निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ ।

‘अहिले प्रधानमन्त्रीको स्वस्थ्य अवस्था के छ भनेर आकलन मात्र गर्न सक्छौं । उपचारमा प्रत्यक्ष संलग्न चिकित्सकले औपचारिक रूपमा नभनेसम्म केही पनि भन्न मिल्दैन,’ एक विज्ञ चिकित्सकले भने, ‘तर डायलाइसिस नै गर्न थालिएको हो भने उहाँको शरीरले डोनरबाट प्राप्त मिर्गौला अस्वीकार गर्न थाल्यो कि भन्ने नै हो । मृगौला प्रत्यारोपण गरिएका बिरामीमा ११–१२ वर्षपछि यस्तो समस्या देखिनु सामान्य नै हो ।’ विज्ञका अनुसार कहिलेकाहीँ सामान्य मानिसलाई पनि विभिन्न संक्रमणका कारण डायलाइसिस गर्नुपर्ने हुन सक्छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।  

केपी शर्मा ओली स्वास्थ्य अवस्था डायलाइसिस

विशेष