रुपान्तरित प्रेम सन्देश
जीवन साथी,
धेरै धेरै प्यार !
मलाई लाग्छ यी स्वतन्त्र उड्ने
मलेवाहरुको घाँटीमा
एउटा हृदय उनेर पठाउँ
एउटा प्रेमपत्र झुण्ड्याएर पठाउँ ।
रोगी प्रेमिका पारिजातले एउटा अनाम लाहुरेलाई यस्तै भाषामा प्रेमपत्र लेखेकी छिन । स्वतन्त्र उडी हिँड्ने मलेवाहरुको भर परेर प्रेमपत्र पठाउने त्यो जमाना रहेन । अब त सामाजिक सञ्जालमा हाकाहाकी झट् मगनी, फट विवाहको अवस्था छ । न्यूर्योक सिटीमा बस्ने लुईसाले काठमाडौं बस्ने हरिप्रसादलाई पठाएको म्यासेज मात्र पढ्दा पनि लुईसाको मन पढ्न सकिन्छ । यो प्रेममा आएको वैज्ञानिकीकरण पनि हुन सक्छ । अथवा कसैको मन बुझ्ने पछिल्लो परिष्कृत शैली पनि हुन सक्छ ।
...प्रिय ! हेर त, बसन्त आइपुग्ने वित्तिक्कै सबै रुख फूलले लादिएका छन् । तलाउमा कमल फुलेका छन् । युवतीहरु रंगिएका छन् । हावामा मीठो सुगन्ध मिसिएको छ । साँझहरु सिंगारिदै छन र दिन लोभलाग्दा भएका छन् । लाग्दैछ, बसन्तमा सबै चीज अझै राम्रा हुन्छन् । ... यहाँ प्रस्तुत वसन्तको तलाउमा कमल फुलेको प्रसंग त प्रतिकात्मक मात्रै हो । उमेरको वसन्त र प्रेमको तलाउमा फुलेको फूलको यो प्रसंगलाई कालिदासले ऋतुविचार र खण्डकाव्यमा उल्लेख गरेका छन् ।
‘शायद यो प्रेमपत्र होइन’ भन्दै वियोगी बनेर प्रेमपत्र लेख्न र पठाउन समेत पछि नपर्ने प्रेमीहरुका नजरमा यी कालिदास पनि प्रेमका उर्जास्रोत हुन सक्छन् । मेघदूतदेखि ऋतुसंहारसम्मका काव्यरसहरुमा डुबुल्की मारेर प्रेमपत्र लेख्न रुचाउने प्रेमीहरुको भीडमा यो प्रेमपत्रको शिकारु आरम्भ पनि मान्य नै हुनसक्छ । ...मैले अघाउन्जेल ताजमहल हेरेको छु । सुन्दर बागहरु हेरेको छु । फेवा, बेगनास, माछापुच्छ्रे, कन्चनजंघा र अरु थुप्रै सुन्दर प्रकृतिका संरचना हेरेको छु । वनभरि लालीगुराँस फुलेको हेरेको छु । किरिया खाएर भन्छु– तिमीभन्दा सुन्दर अरु केही देखिन । हो, पटक्कै छैन । पत्यार लागेन ?
अक्सर उमेरका रंग चढेका बेला व्यावहारिक चिन्तनभन्दा पनि सपनाका कुरा भरेर प्रेमी–प्रेमिकाबीच चल्ने चिठीपत्रका जुहारीहरु प्रेमपत्रका रुपमा गनिने गर्दछन् ।
मन अन्धो हुने उमेरको सृजना नै प्रेमपत्र हो भन्नेहरु यसमा ‘शाजहाँ–मुमताज’ वा ‘रोमिया–जुलियट’का कथाहरुलाई पनि उत्तिक्कै प्रश्रय दिन्छन् । यसैकारण उमेरको एउटा उन्मादमा कवि नबन्ने र प्रेमपत्र नलेख्नेहरु विरलै हुन्छन् । स्वामी दयानन्दले भनेका छन्– ‘ईश्वर पूजाको नभई प्रेमको भोको छ । ईश्वरका नाममा यही यही प्रेमरुपी भोक जाहेर गर्न कार्ल माक्र्सदेखि दोस्तोयव्स्कीसम्म र हिटलरदेखि अस्कार वाइल्डसम्म सबैजना आआफ्नो बौद्धिक जादू प्रदर्शन गर्दै उमेरमा प्रेमपत्र लेख्न पछि परेका छैनन् । यसको उदाहरणका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रि स्तरमा लेखिएका विश्वप्रसिद्ध साहित्यिक प्रेमपत्रलाई लिन सकिन्छ ।
‘द सेकेण्ड सेक्स’ शीर्षक चर्चित पुस्तककी स्रष्टा सिमोन द संग जाँ पालले गरेको आजीवन प्रेमपुजारीका लागि उर्जास्रोत बनेको छ । अर्को चर्चित कृति लोलिता भ्लादिमिर नोवोकोभको प्रेमकथा आजपर्यन्त चर्चित छ । उनले लेखेका प्रेमपत्रहरुमा लेखिने निराशाबोध र आउटलाईडर थिम निराशावादीहरुका निम्ति मननीय रहँदै आएको छ । आफू १६ वर्ष छँदा उनले १५ वर्षीय किशोरी तमरालाई प्रेम गर्न थालेका थिए । उमेर र प्रेमको त्यो उन्मादमा उनी भूइँ र रुखमा आफ्नी प्रेमिकाको नाम लेख्थे । उनको लेखनी, चिन्तनदेखि सम्पूर्ण जीवनको तार भनेकै तमरा थिइन ।
नोवोकोभ तमरालाई जंगल चाहारेर ल्याएका सुन्दर फूल शिरमा लगाइ दिन्थे । उनले आफ्नो एउटा प्रेमपत्रमा भनेका छन्– ‘मलाई जंगली फूलको सुवास मन पर्छ । झरेर जाने त्यो फूल तिम्रो शिरमा चढेको हेर्न मन पर्छ । तिमी एउटा कुरा सम्झि राख– जीवनको दुख हामी जे खप्छौं, त्यो नभएर जे गुमाउँछौं त्यो चाहिँ हो । त्यसैले म चाहन्छु , ओइलाएर नझर्ने तिम्रो मेरो प्रेमरुपी फूल कहिल्यै हामीबाट नगुमोस् । अझ यो जंगली फूलको सुवास झैं सुवासिलो बनोस् ।
समाजको परम्परागत सोच र संस्कारले अब नयाँ रुप देखाउन थालिसकेको छ । पोल्टामा कुराउनी बोकेर आफ्नी प्रियतमालाई भेट्न ओल्लो डाँडा र पल्लो डाँडा धाउनुपर्ने त्यो जुगको अब अवसान भइसकेको छ । यसमा परिष्कृत वैज्ञानिक उपकरण, सुगम यातायात, आईटीको प्रभावले पनि प्रेममार्ग परिवर्तन गरिदिएको छ । अमेरिका लस एन्जलस निवासी केही धर्मभीहरु आफ्नो व्यस्तताका कारण जुन दिन उपासना चर्च जान भ्याउँदैनन, त्यसदिन फ्याक्स इमेल मार्फत क्राइष्टलाई सम्बोधन गर्दै सम्बन्धित चर्चमा पत्र पठाउँछन् । पत्रमा भनिएको हुन्छ– ‘प्रभु क्राइष्ट, म तपाईंको प्रेमपुजारी आज विशेष कारणवस उपासनामा सरिक हुन सकिन । हाम्रो प्रेमबन्ध अटूट रहोस् , क्षमायाचनासहित... आदि ।
साना बालबच्चाले ‘इभ’ ताका साना क्लाउसलाई प्रेमपत्र पठाए जस्तो कुरा होइन यो । एउटा अनुमानित काल्पनिक पात्र क्लाउसका नाममा मीठा मीठा कोसेलीको आग्रह गर्दै प्रेमपत्र लेख्ने बालवालिका र लस एन्जेल्स निवासी धर्मभीरुबीच भावनात्मक चिन्तनको अन्तर मात्रै पाउन सकिन्छ । सच्चा प्रेमपुजारीहरु कल्पनामै पनि आनन्दित हुन सक्छन् ।
प्रेम : एक निराशा मार्ग
... उहाँ मेरो जीवनमा आएका मानिसहरुमध्ये असाध्य भलाद्मी हुनुहुन्थ्यो । कच्चा उमेरमै देखें र मन पराएँ । चिठीपत्र हुन थाल्यो । तर प्रेममा एउटा यस्तो समय आउँदो रहेछ– भेट्न रेष्टुराँहरुमा जाने । दार्जिलिङको सानो समाज डर लाग्यो । राजी हुन सकिन । अन्तमा मै पन्छिदिएँ । र, मैले उहाँलाई गुमाएँ ।’ पारिजातले जीवनको प्रेममय घडी सम्झदै आफ्नो आत्मसंस्मरणमा उल्लेख गरेको सन्दर्भ हो यो । उनको पहिलो असफल प्रेम जुन जीवनभरका लागि नै खाटा बनेर बस्यो । यो खाटा उनका निम्ति निराशावादी चिन्तनका लागि मात्र हैन, शून्यवादी तत्वबोधका निम्ति पनि प्रेरणास्रोत बन्यो ।
एन्टोनियासंग वियोग भएपछि क्लियोपेट्राले आत्महत्या गरेकी थिइन । प्रेममा पागल भएर एडवर्डले राज्य र गद्दी त्यागेको सन्दर्भ अझै जीवन्त छ । अनारकलीसंग आशक्त भएर अकवरपुत्र सलिम बौलाएको र जोसेफिनसंग नेपोलियन हुरुक्क भएको सन्दर्भ अमरप्रेमीको इतिहास भएर रहेका छन् । हिटलरको प्रेमपासमा बाँधिएका हेलेन, गेली र लेनी तिनै युवतीले हिटलरलाई प्रेममा नपाउँदा आत्महत्या गरेका थिए । हिटलरकी अन्तिम प्रियतमा इवा ब्रान पनि प्रेम शहीद बनिन । १९४५ अप्रिल ३० का दिन हिटलर र इवाले एकसाथ आफूले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । आपसी प्रेमको उत्कर्ष र वियोगको दुखद सन्दर्भ पनि हुनसक्छ यो ।
प्रेममा विशेषत वियोग र असफलताका प्रसंग अघि सार्दै निरास बन्नु पनि प्रेम गर्नु झैं सोखको विषय बन्ने गरेको छ । यसैकारण आजका तन्नेरी प्रेमी प्रेमिकाहरु रामकृष्ण ढकालको गीत ‘ओराली लागेको हरिणको चाल भो...’को तालमा मायाले छल गरेका कुरा सुनाउन बढी उद्वेलित हुन्छन् । नारायणगोपालका निराशाजनक गीत संगीतप्रति बढी लालायित हुने गरेका छन् ।
‘ग्लुमी सण्डे’को चर्चामा आशक्त रहनु उनीहरुको स्वभाव नै बनेको छ । यो निराशाप्रतिको आशक्ति स्वाभाविक रहेको धारणामा आउट साइडर शीर्षक पुस्तकका चर्चित लेखक कोलिन विल्सनले लेखेका छन्– ‘प्रेमीहरु अक्सर भावनामा रमाउन चाहन्छन् । त्यसबेला उनीहरको भावनात्मक संवेग यति प्रबल हुन्छ कि उनीहरुले लेखेको प्रेमपत्र पनि एउटा साहित्यिक पत्र बन्न जान्छ । जसमा निराशाबोधको चिन्तनले सुनमा सुगन्धको काम गरेको हुन्छ ।