मन छुने भाषण कसरी गर्ने ?
मानसिक शक्तिको विकासका लागि सर्वोत्तम उपाय हो– आत्माभिव्यक्ति अर्थात आफ्नो विचार प्रकट गर्ने शक्ति । यो शक्ति कहिले संगीतको रुपमा प्रकट हुन्छ त कहिले चित्रकलाका रुपमा, कहिले कवितामा त कहिले पुस्तकमा । अझ भाषणकलाको माध्यमबाट यसको प्रभावकारितामा थप बृद्धि भएको देखिन्छ । त्यसो भए भाषणकलामा कसरी कसरी सफलता पाउने त ?
१. प्रभावशाली भाषणका लागि निरन्तर प्रशिक्षणको आवश्यकता पर्दछ, यसको लागि शब्द भण्डारमा वृद्धि ल्याउनु आवश्यक छ । शब्द भण्डार वृद्धिका निम्ति एउटै मात्र उपाय हो– अध्ययनशीलता बढाउनु ।
२. मञ्चमा गएर भाषण गर्दा हरेक वक्ताले धैर्यता गुमाउनु हुँदैन ।
३. भाषण गर्ने व्यक्तिले भाषण सुन्ने स्रोताको वौद्धिक स्तर कस्तो छ, त्यसलाई ठम्याएर मात्र आफ्ना विचार राख्नुपर्छ । अशिक्षित समुदायमा गएर भाषण गर्दा सिद्धान्त र दर्शनका कुरा गरेर भाषण गर्नु व्यर्थ हुन्छ ।
४. भाषण गर्दा भाषण गर्ने व्यक्तिले भाषणको उद्देश्य के हो त्यसबारे जानकारी दिनुपर्छ ।
५. भाषण गर्दा भाषणकर्ताले शिष्ट सम्बोधन गर्ने र सम्भव भएसम्म ठाउँठाउँमा उखान टुक्का, लोकोक्ति आदि विशेषण प्रयोग गरेको खण्डमा प्रभावकारी हुन्छ ।
६.भाषण गर्दा कापी वा टिपोटमा लेखिएको पढ्नुभन्दा सोझै बोलिएको कुराले राम्रो प्रभाव पर्छ ।
७.मञ्चमा गएर बोल्दा आफूले बोल्छु भनेको कुरा विर्सन सक्छ । त्यसैले आफूले बोल्ने कुरा टिपेर मञ्चमा जाँदा संगै लिएर जानुपर्छ ।
८. बोल्दाखेरि लामा र कठिन बाक्यको प्रयोग गर्नु हुँदैन ।
९. भाषण गर्दा आफूभन्दा अघि बोलिसकेका भाषणकर्ताहरुले कोट्याएको कुरालाई पुन आफूले नकोट्याउनु राम्रो हुन्छ । बोल्दा आफू पछिका वक्ताहरुले बोल्ने समयलाई ख्याल नगरिकन लामो समयसम्म बोल्नु हुँदैन ।
१०. वक्ताले मञ्चमा गएर बोल्दा भाषणकर्ताले हरेक स्रोतासंग आँखा आँखा सम्पर्क राख्नुपर्छ । यसरी बोल्दा आफू प्रस्तुत गरेको भाषणलाई स्रोताले कसरी सुनेका छन, त्यो थाहा हुन्छ ।
११. आफूले प्रस्तुत गरेको भाषणलाई स्रोताहरुले नसुनी हाई हाई गरिरहेका छन् । एकापसमा स्रोताहरुले कुरा गरिरहेका छन् । स्रोताहरु उठेर गइरहेका छन भने वक्ताले स्रोताहरुको मन जित्न आफूले प्रस्तुत गरिरहेको प्रसंगबाट मोडिएर अलि अर्को आकर्षक प्रसंगतर्फ मोड्नुपर्छ ।
१२. वक्ताले बोल्ने क्रममा एक विषयबाट अर्को विषय वा प्रसंगमा जाँदा बीचमा ठूलो खाली ठाउँ छोडेर फड्को मार्नु हुँदैन । अर्थात आफूले बोलेको प्रसंगबाट अर्को प्रसंगमा जाँदा ती दुवै सन्दर्भ जोडिनु जरुरी छ ।
१३. बोल्दा स्वर सन्तुलित हुनुपर्छ । धेरै चर्को स्वरमा बोल्नु हुँदैन । बोलाइजस्तै शारीरिक गतिविधि, टाउको र हातको हाउभाउ प्रस्तुत गर्नुपर्छ ।
१४. बोल्दा बीच बीचमा अड्किनु भकभकाउनु हुँदैन । स्रोताले नबुझ्ने गरी छिटो छिटो बोल्न पनि हुँदैन । सामान्यत प्रति मिनेट सय शब्दको उच्चारणलाई बोलाइको राम्रो गति मानिन्छ ।
१५. भाषण सुरुचिपूर्ण हुन छोटो हुन जरुरी छ । थोरै भाषणमा धेरै भाव मानिसले रुचाउँछन् । भाषणकला सम्बन्धमा सिसेरो भन्छन– ‘भाषण आकर्षक बनाउनु भनेकै संक्षिप्तता हो ।’
१६. वक्ताले आफ्नो भाषण टुंग्याउनुअघि बडो शिष्टतापूर्वक थोरै शब्दमा आफ्नो सम्पूर्ण भनाइको निचोड प्रस्तुत गर्नुपर्दछ । यसो भएमा तपाईंले भन्न खोजेको सन्देश स्रोताले भुल्दैनन ।