खेल

टी–२० सिरिजः ‘सुपर ओभर’मा न्यूजिल्याण्डविरुद्ध इंग्ल्याण्ड विजयी

टी–२० सिरिजः ‘सुपर ओभर’मा न्यूजिल्याण्डविरुद्ध इंग्ल्याण्ड विजयी

काठमाडौंः टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा घरेलु टिम न्यूजिल्याण्डलाई ‘सुपर ओभर’मा हराउँदै ५ खेलकाे सिरिज इंग्ल्याण्डले जितेको छ ।

इंग्ल्याण्डले ३–२ ले सिरिज जितेको हो । ‘सुपर ओभर’मा इंग्ल्याण्डले दिएको १८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १ विकेट गुमाएर ८ रन मात्र बनाउन सक्यो ।

यो वर्ष नै भएको एकदिवसीय विश्वकप क्रिकेटमा पनि इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको खेलमा ‘सुपर ओभर’ भएको थियो । उक्त खेलमा पनि इंग्ल्याण्ड नै विजयी भएको थियो ।

यसअघि न्यूजिल्याण्डले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ११ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनायो ।

उसका लागि  जोनि बेरिस्टोले ४७, साम करनले २४, टम करनले १२, कप्तान इओन मोर्गनले १७, साम बिलिङ्सले ११, क्रिस जोर्डनले नटआउट १२ रन बनाए । बलिङमा जिमी नीशम, मिचेल सान्टनर, ट्रेन्ट बोल्टले २–२ र टिम साउथीले एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले ११ ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनायो । वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा मार्टिन गुप्टिलले ५०, कोलिन मुनरोले ४६, टिम सेफर्टले ३९ रन बनाए ।

बलिङमा इंग्ल्याण्डका टम करन, आदिल रशिद, साम करन शाकिव महोम्मदले एक–एक विकेट लिए । 

गुप्टिलले १९ बलमा बनाए अर्धशतक

इंग्ल्याण्डविरुद्ध आज न्यूजिल्याण्ड टिमका ओपनर मार्टिन गुप्टिलले शानदार अर्धशतक पूरा गरेका छन् ।

उनले ५ छक्का र ३ चौकाको मद्दतमा १९ बलमा अर्धशतक पूरा गरेका हुन् । हालै इंग्ल्याण्ड र वेल्समा सकिएको वानडे विश्वकपमा निराश बनाएका गुप्टिलले पछिल्लो समय फेरि चम्किन थालेका छन् ।

विस्फोटक ब्याट्सम्यानको परिचय बनाएका उनले इंग्ल्याण्ड सँगको जारी सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका छन् ।

टी–२० क्रिकेट सिरिज इंग्ल्याण्ड भर्सेस न्यूजिल्याण्ड सुपर ओभर

विशेष