क्षयरोगीसंगै सुत्ने डाक्टर
पाल्पा तानसेनका बासिन्दालाई ‘जापानी डाक्टर’ भन्नासाथ डा. नोबोरु इवामुराको झल्को आउँछ । झट्ट हेर्दा लिम्बूझैं देखिने र सधैं भादगाउँले टोपीमा ठाँटिने यी नेपाली सज्जन पक्का समाजसेवीमध्ये एक थिए । यिनले सेवा गर्ने क्रममा धनी, गरिब दुवैलाई समान व्यवहार गर्दथे । डा.इवामुरा युनाइटेड मिसन टु नेपालका लागि सन् १९६० मा पत्नी फुमिकोसंगै नेपाल आएका थिए । जीवविज्ञानमा मात्सुयामा जुनियर कलेजबाट स्नातक गरेपछि सामाजिक कार्यमा स्नातक फुमिको कादावाकीसित सन् १९५४ विवाह भएको थियो ।
केही समय तोत्तोरी विश्वविद्यालयमा सहप्राध्यापक भएका उनलाई एकजना अमेरिकी मिसनरीले उक्साएका रहेछन्– ‘तपाईंहरु छिमेकीको अर्थ बुझ्नोस । म विश्वको अर्कै कुनाको मानिस, नेपाल गएर सेवा गरें । तपाईंहरु त एशियामै हुनुहुन्छ, छिमेकमा गएर सेवा गर्न त्यति कठिन छैन ।’
त्यो बेला यूएमएनमा जापानी डाक्टर थिएनन् । त्यसैले जापान ओभरसिज क्रिश्चियन मेडिकल सर्भिसबाट एशियाली मुलुकमा खटिने पहिलो चिकित्सक इवाना नै हुन पुगे । उनी नेपाल आएको काल राणा शासनको अन्त्य भएको करिब एक दशक मात्र हुँदैथ्यो । नेपाल बाह्य जगतसंग भर्खर परिचित हुँदै थियो । व्यापारिक सम्पर्क सीमित मुलुकसंग मात्र थियो । सन् १९५१ को राजनीतिक परिवर्तनपछि पनि विदेशीलाई नेपालभित्र निर्वाध भ्रमण अनुमति थिएन । काठमाडौं र तराई गरी जम्मा केही सय माइल मात्र सडक थियो । घोडेटो र गोरेटोलाई नै यातायात मार्ग मान्नुपर्ने अवस्था थियो । अधिकांश ठाउँमा गोरु, खच्चर, गधा र घोडा यातायातका विकल्प थिए ।
त्यसबखतको समयमा उनको कार्यक्षेत्र तोकियो– तानसेन मिसन अस्पताल । तानसेन अहिले पर्यटकीय गन्तव्यका रुपमा जसरी परिचित छ, पहिलाको अवस्था त्यस्तो थिएन । काठमाडौंबाट ३ दिन हिँडेर पाल्पा पुगेका इवामुरा दम्पत्तिले तानसेनमा १८ वर्ष विताए ।
इवामुरा तानसेन अस्पतालमा जागिरेको रुपमा मात्र थन्किन चाहेनन । त्यहाँका दुर्गम बस्ती चाहारे । एक्सरे र उपचारका उपकरण चाहारेर जनताको सेवामा अहोरात्र जुटे । मानवकल्याणमा लिप्त इवामुरा गाउँबाट आफैं विरामी बोकेर अस्पताल लिएर आउँथे । त्यसक्रममा एकदिन गुल्मीबाट एउटा विरामी बोकेर ल्याउँदा एउटा ठिटोले उनलाई सहयोग गरेछ । इवामुराले पारिश्रमिकवापत दिएको पैसा लिन ठिटोले इन्कार गरेछ । यो घटनाले समाजसेवामा थप एकाग्र भएर लाग्न उनलाई प्रेरणा दिएछ ।
फुर्सदका बेला गाउँघर डुल्दासमेत हातेव्यागमा उपकरण बोक्न कहिल्यै छुटाउँदैनथे इवामुरा । उनी विरामीको सेवामा लाग्दालाग्दै कतिपटक धपेडीका कारण बेहोस हुन्थे तर उनी आफूलाई सम्हालेर तत्काल सेवामा जुट्थे । रोगीको ओठमा आएको मुस्कान उनका लागि सबैथोकको प्राप्ति थियो ।
एकातिर ओखतीमूलोको अभाव अर्कातिर हैजा, टीवी र औलोजस्ता सरुवा रोगीलाई घर परिवारकाले नै तिरस्कार गरेर अलग्गै राख्ने गलत चलन व्याप्त थियो । यस्तो मानसिकतालाई गाउँबाटै जरोकिलो फाल्ने काम यिनैबाट भएको हो । गजक्क परेर सल्लाह दिने भन्दा आफैं काममा उत्रिएर देखाउने उनको स्वभाव थियो । कामको सिलसिलामा पाल्पा, गोरखा र ओखलढुंगामा लामो समय काम गरेका इवामुराले तानसेन र भारतका सीमावर्ती शहरहरुमा क्षयरोगको प्रकृतिका बारेमा विभिन्न अनुसन्धान गरेका थिए । उनले मुलुकका ७५ जिल्लाको भ्रमण गरेका थिए ।
तानसेन अस्पतालले यस्तो डाक्टर पायो कि केही समयमै उनको ख्याति वरिपरि मात्र सीमित भएन । इवामुराको ख्याती भारतको उत्तरप्रदेशसम्म फैलियो । उनी जहाँ जहाँ पुगे, त्यहाँ त्यहाँ खानेपानी, सरसफाईका सम्बन्धमा चेतना प्रवाह गरे । त्यतिमात्र नभई उनले गाउँलेलाई सीप र आयमूलक विभिन्न प्राविधिक तालिम दिलाए । कतिपय शारीरिक र मानसिक रुपमा असक्षम व्यक्तिलाई तिनले रुचाएको इलम विदेश लगेर सिकाए ।
ओखतीमूलोका लागि गाउँका कुनाकन्दरा घुम्दै हिँड्ने इवामुरा जहाँ जे पाक्थ्यो, त्यही खान्थे । उनलाई जातीय विभेद फिटिक्कै मन पर्दैनथ्यो । सरकारी र गैरसरकारी अनुदान लक्षित समूहसम्म पुग्दैन भन्ने तथ्यसंग उनी काम गर्दागर्दै परिचित भए । विकासोन्मुख राष्ट्रमा प्रगति गर्न बाहिरबाट आएका विशेषज्ञभन्दा स्थानीय उत्साही मानिसहरुको भूमिका नै प्रभावकारी हुन्छ भन्ने उनमा प्रवल विश्वास थियो । त्यसैले एशियाका पछि परेका जनतामा जापानी दक्षता, पूँजी र ज्ञान बाँड्ने प्रयास उनकै अगुवाइमा सन् १९८१ मा खुल्यो– शान्ति, स्वास्थ्य तथा मानव विकास प्रतिष्ठान । यो संगसंगै नेपालमा दर्जनौं दातृसंस्थाका कार्यालय खुले ।
सन् १९४५ को दास्रो विश्वयुद्धमा अमेरिकाले जापानका दुई शहर ध्वस्त पारेको थियो । त्यसैको आणविक विकिरणबाट इवामुरा प्रभावित थिए । फलस्वरुप उनीबाट जन्मिने सन्तान शारीरिक रुपले असक्षम हुने सम्भावना थियो । त्यसैले इवामुरा दम्पत्तिले विवाहपूर्व नै बच्चा नजन्माउने निर्णय गरेका थिए । सन्तान नजन्माए पनि इवामुरा दम्पत्तिले १३ नेपाली बालबालिकालाई धर्मसन्तान बनाएर हुर्काए, पढाए र आत्मनिर्भर बनाए । ३५ वर्ष इवामुरासंग बसेका एलपी न्यौपानेका अनुसार त्यसका लागि दम्पत्तिले आमाघर अर्थात ओकाचुन होम बनाएका थिए, जहाँ अनाथ बालबालिका बस्थे ।
ओकाचुनमा हुर्किएकी पूर्णिमा गुरुङले भारतमा नर्सिङ सिध्याएर अहिले सेवामा छिन् । तानसेन अस्पतालमा काम गर्दा भेटिएकी आठवर्षे पूर्णिमासंगै उनका दुई भाइबहिनीको सम्पूर्ण जिम्मेवारी इवामुरा दम्पत्तिले लिएको थियो । उनकै प्रेरणाले स्कुल खोलेकी पूर्णिमाको स्कुलमा अहिले सयौं अनाथ पढ्छन् ।
नेपाल बसाइको अनुभवलाई इवामुराले चारवटा कितावमा व्यक्त गरेका छन्– अ हस्पिटल अन माउन्टेन, ब्लु स्काई अफ नेपाल, मेसेज फ्रम द हिमालयाज टु जापान र हिज लाईफ एण्ड वाक ईन नेपाल । यो पछिल्लो कितावमा एक क्षयरोगी मर्मस्पर्शी जीवनगाथा कोरिएको छ । यिनको व्यक्तित्व, लेखन र अनुभवबाट प्र्रेरित भएर थुप्रै जापानीले नेपाली भूमिलाई समाजसेवाको थलो बनाएका छन् । त्यसैले उनलाई जापान– नेपालका सेतू मानिन्छ ।
दोश्रो विश्वयुद्धको आक्रमणमा इवामुराले ७९ जना दौंतरी गुमाए । तर उनको परिवार भाग्यमानी हुनपुग्यो, जसले त्यत्रो त्रासदीमा पनि पुनर्मिलनको अवसर पायो । नरसंहारको त्यो दुखद समयमा उनको उद्दार पाँच दिनपछि मात्र भयो । उनी जमिनको पाँचसय मिटर मुनि कलेजका सहपाठीको शबमुनि चेपिएको अवस्थामा फेला परेका थिए । यस घटनापछि ती गुमेका दौंतरीहरुको क्षतिपूर्ति लिनुपर्छ भन्ने उनलाई लाग्यो । त्यसैले आफ्नो बाँकी जीवन कमजोर समुदायको स्वास्थ्योपचारमा खर्च गर्ने अठोट लिए । त्यो भयानक अवसरबाट जीवन बाँचे पनि इवामुरालाई ल्युकेमिया रोगले छाडेन ।
गोरखा पालुङटारका जगतबहादुर श्रेष्ठ क्षयरोगी थिए । जगतलाई सम्भावित सामाजिक तिरस्कारबाट जोगाउन र समाजमा क्षयरोगीका बारे रहेको अन्धविश्वास हटाउन इवामुरा उनीसंगै विछ्यौनामा सुत्थे । नेपाली क्षयरोगीका लागि इवामुराले जापानीसंग मात्र नभएर नेपालीसंग पनि अनुदान बटुलेका थिए । नजिकै चेपे र मस्र्याङदी नदी बगेपनि सुख्खा टार रहेको गोरखाको पालुङटारमा इवामुराकै कारण इनार खनियो । इनारको सफा पानी र करेसाबारीका हरिया तरकारी खान थालेपछि ५० प्रतिशत सानातिना रोग पाखा लागे । त्यहाँको शैक्षिक जागरणमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
जापानमा समेत उनको नाम उत्तिक्कै लोकप्रिय बन्यो । त्यहाँको पाठ्यपुस्तकमा उनको जीवनी पढाइन थाल्यो । उनी चढेको गाडीमाम म्वाईं खाएर मानिसहरु श्रद्धा प्रकट गर्थे । सन् १९७७ मा युएमएनको प्रतिनिधिबाट अवकाश पाए पनि उनी समाजसेवाबाट अलग भएनन् । समाजसेवाकै सिलसिलामा उनी थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स र विभिन्न ल्याटिन अमेरिकी मुलुक पुगे । त्यतमात्र होइन, आसियान मुलुकका नेताहरुको सहकार्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेवापत सन् १९९३ मा अन्तर्राष्ट्रिय म्यागासेसे पुरस्कार पनि पाए । चिकित्साक्षेत्रका मानिसलाई दिइएको यो पहिलो पुरस्कार हो ।
रोटरीबाट पाएको पुरस्कारबाट उनले दक्षिण एशियाका गरिब तथा मेधावी विद्यार्थीका लागि छात्रवृत्ति कोष खडा गरिदिए । जाइकालाई नेपाल भित्र्याउने जस पनि उनैलाई छ । नेपाल र नेपालसंग मन, मुटु गाँसिएका यी महान सेवक सन् २००५ मा सधैंका लागि यो धर्तीबाट विलाए । यो धराबाट उनको भौतिक अस्तित्व मेटिए पनि नेपाल र नेपालीले युग युगान्तरसम्म उनको त्यो मानवीय कर्मको उच्च मूल्यांकन गर्नेछन् ।