कस्तो छ ‘घामड शेरे’?
काठमाडौंः नेपालका धेरै युवाहरु पैसा कमाउने उदेश्यका साथ विदेश पुग्ने गरेका छन् । आर्थिक अपेक्षा सहितको विदेश यात्रा रहर, बाध्यता या देखासेखी के होला? अनि विदेश पुग्नेहरुको अवस्था र विदेशबाट फर्केपछिको अवस्था कस्तो हुन्छ ?
धेरैलाई लाग्ने गरेको छ विदेश पुगेर आउनेहरुको जीवन शुखमय हुन्छ । आम हेराईका पात्रहरुलाई के थाह विदेश मोहको यात्रा पछिको पीडा । हो त्यहि पीडाको सेरोफेरोमा अगाडि बढेको छ निश्चल वस्नेतको ‘घामड शेरे’ ।
विदेश यात्राबाट फर्किएका निश्चल वस्नेत (शेरबहादुर) को विदेश वितृष्णा र स्वदेशको कृषि मोहबाट अघि बढेको कथा परिवार, प्रेम र धोखा हुदै भावनात्मक मिलनमा पुगेर सकिएको छ । यो विषयवस्तु चलचित्रको सहायक पक्ष भएपनि मुख्य पक्ष खोलालाई मुद्दाहालेको प्रशंग तन्कन नसक्दा सहायक पक्षनै चलचित्रमा हावी भएको देखिन्छ ।
धेरै प्रशंगहरुको बीचमा ‘घामड शेरे’ले नेपालको प्रशासनिक कार्यशैलीका कारण जनताले खेप्नु परेको पीडा, मुलुकमा फस्टाउदो डनगिरी, कानुन कार्यान्वयनमा प्रहरीको उदेक लाग्दो भूमिका र संघिय संरचना अनुसार निर्माण भएका स्थानिय पालिकामा रहेको न्यायीक समितिको अन्यौलतालाई समेत चित्रण गरेको छ । नेपालमा मौलाउदै गएको हरेक क्षेत्रको बेथितीको शिकार बनेका शेरबहादुरले विदेशबाट कमाएर ल्याउको पैसाले जोडेको खेत बाढीले बगाई दिन्छ, जुन खेतमा शेरबहादुरको हजारौ सपनाहरु धानको बाला बनेर झुलिरहेका थिए ।
विदेशमा श्रीमानले कठिन श्रम गरेर पैसा कमाउने अनि गाँउमा रहेका श्रीमती सहरिया हुदै पैसा सहित अर्कोसंग कुलेलाम ठोक्ने गलत परिपाटी बस्दै गएको सन्र्दभलाई समेत ‘घामड शेरे’को कथामा सन्देश मूलक ढङ्गले प्रस्तुत गरिएको छ ।
सुर्खेतको छिन्चु आसपास घुमेको कथावस्तुको मुख्य पात्र हुन शेरबहादुर । रिसालु तर सोझा र इमान्दार निश्चल (शेरबहादुर) आफ्नो श्रीमती (सुष्मा निरौला) लाई निक्कै माया गर्छन र विश्वास पनि । तर उनको श्रीमती शेरबहादुरसंग इमान्दार छैनन् । न शेरबहादुरको बुबा आमा प्रति सर्मपितनै छिन् । उनको ध्यान सहरमा बसाई सर्नेे र श्रीमानको पैसा कुमलाएर आफ्नो प्रेमीकासंग कुलेलाम ठोक्ने कुरामै केन्द्रित रहेको हुन्छ । न श्रीमानको मान न छोराको माया । आफ्नो नाममा पैसा उम्काएपछि शेरबहादुरको श्रीमती योजना अनुसारनै प्रेमीसंग टाप कस्छिन् ।
यहि सेरोफेरोमा शेरबहादुरको साली गौरी (स्वस्थीमा खड्का) को भावनात्मक प्रवेश हुन्छ । मनैमन भिनाजु शेरबहादुरसंग माया गाँसेकी गौरीले पीडामा छटपटीएका शेरबहादुर र आमाको मायाबाट बञ्चित शेरबहादुरको छोरालाई दिएको मायाले टुहुरा हुदाको पीडामा प्राप्त सहानुभूति र माया कति महत्वपूर्ण र आत्मिय हुन्छ भन्ने देखाएको छ । गौरीको माया आत्मिय नभएको भए शेरबहादुरले अर्कोसंग गएर पनि फिर्ता भएकी श्रीमतीलाई साथमा बस्ने सहमति दिन्थे साहेद, तर अघात पीडामा गौरीको मायालु मल्हमले नयाँ जीवन पाएका शेरबहादुरले पनि गौरीलाई आफ्नो मनको अन्तरकुन्तरमा अधिकार दिईसकेका थिए । र त शेरबहादुर नयाँ जीवन, नयाँ उत्साह र खुशीसंग रमाउदै कथाको अन्तमा गौरीको विशुद्ध तर विछट्ट मायामा हेलिएका छन् ।
भनिन्छ कानुनका नौ सिंग हुन्छ र कानुनका व्याख्याताहरु काईते हुन्छन् । ‘घामड शेरे’को कथामा खोलालाई मुद्दा हालेको प्रशंगले यहि सत्यलाई विम्वको रुपमा प्रस्तुत गरिएको छ । कानुनको व्याख्याताहरुले पैसाको लागि संविधान र ऐनको दफा उपदफाहरुलाई काईते ढङ्गले प्रस्तुत गरेको भएपनि अन्तमा तेहि काईते काईताले शेरबहादुरको जीवनमा नयाँ चमक भरीदिएको छ । कानुनका ब्याख्याताहरुको काईते फैसलालाईनै शेरबहादुरले न्यायका नौ सिंग मध्यबाट एउटा सिंगलाई आधार बनाउदै आफ्नो पक्षमा समाधान खोजी खोलाबाट क्षतिपूर्ति भराउन सफल भएका छन् ।
समग्रमा ‘घामड शेरे’को कथावस्तुले समाजका धेरै तितो सत्यलाई पस्केको भएपनि पटकथा र फिल्मको प्रस्तुति सोचेजस्तो र कथाले मागेजस्तो उत्कृष्ठ हुन सकेको छैन । अभिनयको हिसाबले निश्चल वस्नेत मध्यम लाग्छन् भने स्वस्थीका खड्का र सुष्मा निरौला उत्कृष्ठ छन् । कथाको पात्र अनुसार गौरी मल्लको प्रस्तुतिलाई पनि नराम्रो भन्ने ठाँउ छैन । तर उनको विगतलाई हेर्दा भने उनलाई दिईएको भूमिकानै न्यायोचित हैनकी भन्ने लाग्छ । कथाको त्यो भूमिकामा गौरी मल्लले अभिनय गर्ने भएपछि निर्देशक हेमराज विसीले अलिक बढी ध्यान दिनुपर्ने थियोकी भन्ने आम दर्शकलाई लागेकै हो ।
कथा छनौट जस्तोसुकै भएपनि निर्देशक विसीले पटकथाका प्रशंगहरुलाई समयानुकुल प्रस्तुत गर्न सक्नु पथ्र्यो जहाँ उनी चुकेकैे मान्नु पर्छ । पात्र छनौटमा पनि निर्देशकले न्याय गर्न सकेको देखिदैन् । चलचित्रको नेता, टोले डन लगायतका केहि पात्रहरु कथाको माग अनुसारको देखिदैनन् । छायाँङ्कनमा भने नरेन्द्र मैनालीलाई खासै खोट लगाउने ठाँउ छैन । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
घामड शेरे