खेल

आइपीएल २०२० को अक्सनअघि नै आरसीबीले ‘रिलिज’ गर्नसक्ने खेलाडी

आइपीएल २०२० को अक्सनअघि नै आरसीबीले ‘रिलिज’ गर्नसक्ने खेलाडी

काठमाडौंः रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले हालसम्म इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जित्न सकेको छैन । आरसीबीले उपाधि जित्ने मौका भने नपाएको होइन । तर, फाइनल जहिल्यै पनि विपक्षी टिमको पक्षमा रह्यो । गत सिजनमा निकै खराब प्रदर्शन गरेको विराट कोहली नेतृत्वको आरसीबीले आउँदो सिजन कस्तो गर्ला? यो प्रश्न आरसीबीका समर्थकका लागि निकै रुचिकर हुनसक्छ । 

आरसीबीका समर्थक धेरै छन् । टिममा विराट कोहली, एवी डिभिलियर्स, मोइन अलि जस्ता स्टार क्रिकेटर छन् । विगत सिजनमा त टिममा विश्व क्रिकेटका विस्फोटक ब्याट्स्म्यान क्रिस गेल पनि थिए । तर, यति हुँदाहुँदै पनि टिम भने जहिल्यै उपाधिबिहीन रह्यो । 

आइपीएलमा निकै अभागी टिम मानिएको आरसीबीले २०२० को उपाधि आफ्नो पक्षमा पार्न आन्तरिक तयारी थलिसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आरसीबीले ‘अक्सन’ अघि ‘रिलिज’ गर्नसक्ने खेलाडीको नामसमेत लगभग तय गरिसकेको छ । 

यो पटक आरसीबीले गत सिजनमा आशा विपरित प्रदर्शन गरेका खेलाडीलाई नै ‘रिलिज’ गर्ने सम्भावना छ । उसो भए योपटक आरसीबीले को–को विदेशी खेलाडीलाई ‘अक्सन’ अघि नै ‘रिलिज’ गर्न गर्ला? स्पोर्ट किडा नामको अनलाइन लेख्छ–

हेनरिक क्लानेसनः दक्षिण अफ्रिकाका क्लासेन टी–२० क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यानका रुपमा चिनिन्छन् । उनी ब्याट्सम्यान मात्र नभएर विकेटकीपर पनि हुन् । क्लासेन आरसीबीबाट आइपीएल खेल्छन् । गत सिजन उनका लागि निकै खराब रह्यो । क्लासेनले गएकाे संस्करणमा ३ म्याच खेल्दा मात्र ९ रन बनाए । गत सिजनकै प्रदर्शनलाई हेर्ने हो भने आरसीबीले उनलाई ‘रिलिज’ गर्ने सम्भावना बलियो छ । तर, यो वर्ष क्यानडामा भएको ग्लोबल टी–२० लिगमा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

मार्कस स्टोइनिसः अष्ट्रेलिया टिमका स्टोइनिस अलराउन्डर हुन् । उनी ब्याटिङसँगै बलिङमा पनि क्षमता राख्छन् । गत सिजनमा स्टोइनिसलाई किंग्स इलाभेन पन्जाबले आरसीबीलाई बेचेको थियो । आइपीएल २०१९ उनका लागि सन्तोषजनक रहेन । स्टोइनिसले गएकाे आइपीएलमा १० म्याच खेल्दा १३५ को स्ट्राइक रेटमा २ सय ११ रन मात्र बनाएका थिए । आरसीबीसँग शिवम दुबे, मोइन अलि, वासिङटन सुन्दर, पवन नेगी जस्ता अलराउन्डर छन् । उनीहरुले स्टोइनिसको स्थान लिन सक्छन् । यसो भएमा उनलाई आरसीबीले ‘रिलिज’ गर्ने पक्का जस्तै छ । 

टिम साउथीः आरसीबीले साउथीलाई २०१८ मा टिममा समावेश गरिएको थियो । उनले उक्त सिजनमा सन्तोषजनक प्रदर्शन पनि गरेका थिए । तर आइपीएल २०१९ भने साउथीको निकै खराब रह्यो । न्यूजिल्याण्ड क्रिकेट टिमका महत्वपूर्ण सदस्य उनले गत सिजनको आइपीएलमा ३ म्याचमा १३.११ को इकोनमीमा मात्र एक विकेट लिन सके । यसकारण पनि अब उनलाई आरसीबीले ‘रिलिज’ गर्नसक्छ । साथै टिममा तिव्र गतिका बलर नवदीप सैनी रहेकाले साउथीले मौका पाउन सक्ने सम्भावना न्यून छ । 

इन्डियन प्रिमियर लिग आइपीएल विराट कोहली रोयल च्यालेन्जर्स बैंग्लोर आरसीबी

विशेष