बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा, राष्ट्रपति भण्डारीद्वारा स्वागत
काठमाडौंः जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा काठमाण्डौं आइपुगेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् ।
राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाले सलामी अर्पर्ण गरेको थियो । उनी राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपालको भ्रमणमा आएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उनीसँग भेटवार्ता गर्ने छ ।
भ्रमणमा रहँदा राष्ट्रपति हमिदले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्ने छन् । त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समेत उनले अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
मोहम्मद अब्दुल हमिद