काठमाडौँमा बस्नेहरुको समा चकेवा
काठमाडौँ । काठमाडौमा बस्दै आएका मध्य तराईका मधेसी तथा थारु समुदायका सर्वसाधारणहरुले बुधबार काठमाडौंमा समाचकेवा पर्व मनाए। सांस्कृतिक भेषभूषामा सजिएका उनीहरुले बुधबार काठमाडौंको माइतीघरमा भेला भएर समाचकेवा पर्व मनाएका हुन् ।
थारु महिला समाज नेपाल, थारु सांस्कृतिक संगीत विकास मञ्च लगायतका संस्थाको अगुवाइमा सांस्कृतिक -याली समेत निकालिएको थियो । भाइटीकाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्ने गर्दछन् ।
दाजुभाइ तथा दिदीबहिनीको प्रेम तथा मायालाई झल्काउने समाचकेवा पर्व वर्षमा एक पटक खेल्नाले दाइभाइको प्रेम, माया, मामता र दीर्घायु बढ्ने धार्मिक किंवदन्ती छ । द्धापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जंगलमा घुम्न जाँदा ऋषिसँग रमन गरेको झूठो कुरा सेविका डिहुलीले कृष्णसमक्ष लगाएकाले आवेशमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएका थिए ।
यो कुरा सुनेपछि सामाका भाइ साम्बले दिदीलाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको किंवदन्ती छ ।
भाइले दिदीलाई श्रापबाट मुक्त गराएकाले सोही दिनदेखि माटाको समा चकेवा पर्व मनाउन थालिएको जनविश्वास छ ।