कोइरालाको गीति एल्बम समय सार्वजनिक
काठमाडौँ । पूर्वमन्त्री, गीतकार एस्पी कोइरालाको एकल गीति एल्बम समय लोकार्पण गरिएको छ । राजधानीमा शुक्रबार एक विशेष कार्यक्रमबीच एल्बम लोकार्पण गरिएको हो ।
आलोक श्रीले संगीतबद्ध गरेको एल्बममा १३ गीत समावेश छन् । एल्बमको शताब्दी पुरुष सत्यमोहन जोशी, गीतकार किरण खरेल, रत्नशमसेर थापा, दीपक जंगम र शम्भूजित बाँस्कोटाले संयुक्तरुपमा विमोचन गरे । एल्बममा प्रेमध्वज प्रधान, अन्जु पन्त, रामकृष्ण ढकाल, यम बराल, दीपक लिम्बु लगायतले स्वर दिएका छन् ।
म्युजिक नेपालले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसर पारेर एल्बम सार्वजनिक गरेको हो । कार्यक्रममा म्युजिक नेपालले गीतसंगीतको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै किरण खरेल, रत्नशमसेर थापा, दीपक जंगम, शम्भूजित बाँस्कोटालाई म्युजिक नेपाल सम्मान–२०७६ले सम्मान गरेको थियो ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल विविधताको देश नेपालमा राष्ट्र उठाउने गीतको खँडेरी भएको गुनासो गर्नुभयो । ‘नेपाल विविधताको देश हो । राष्ट्रका निम्ति भरिएको गीत चाहिन्छ । अहिले त्यस्ता गीतको खँडेरी भएको लाग्छ ।’ उहाँले गीत संगीत तथा गायनको संगमबाट विविधतालाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
संगीतकार शम्भुजित बाँस्कोटाले अग्रज श्रष्टाका त्याग तपस्या योगदानको संरक्षणका लागि रोयल्टीको संरक्षण जरुरी रहेको बताउनुभयो ।
त्यस्तै सर्जक शंकरप्रसाद कोइरालाले गीतले समाज साहित्य तथा संस्कृति जोड्ने भन्दै गीत संगीतको उद्योग फराकिलो बन्दै गएको बताउनुभयो । ‘गीतले मनोरञ्जनमात्र दिएको छैन । समाज, साहित्य जोडेको छ ।’ उहाँले बताउनुभयो ।