एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालकाे पहिलो जित : शरद भेषवाकर बने नायक
काठमाडौँ । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा हङकङलाई ४० रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हङकङले ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७७ रन मात्र बनाउन सक्यो । हङकङलाई सस्तैमा रोक्न नेपालका करण केसी र अविनास बोहराले ३र३ विकेट लिए । सुशन भारीले २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालले ३ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई शुन्य र कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो । तर, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेल्दै नेपालको इनिङ्स उकासेका थिए । उनले ८९ रन बनाए ।
शरदले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरेका थिए । दिपेन्द्र ३७ रनमा आउट भए । शरदले चौंथो विकेटका लागि आरिफ शेखसँग ७४ रनको साझेदारी गरे । आरिफले ४८ रन बनाए ।
यस्तै विनोद भण्डारीले १५ रन जोड्दा अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । अब नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।