नेपालमै मर्ने ‘ओके बाजे’को धोको
बुद्ध बोधगया गए, संसारले ज्ञान पायो । मदर टेरेसा कोलकाता आइन– मानिसले सेवा, करुणा र सहयोग पाए । माक्र्सले मातृ मुलुक छाडे– विश्वले एउटा नयाँ दर्शन पायो । जापानका काजुमासा काकिमी अर्थात ओके बाजे नेपाल आएको चाहिँ पूर्वी पाल्पाको दुर्गम गाउँका गरिब गाउँलेको मद्दतका लागि रहेछ । नत्र तिनको स्वास्थ्य, शिक्षा र खानेपानी सम्बन्धी विविध समस्या हल गर्दै बस्नु उनको दैनिकी किन बन्थ्यो ? उनी अहिले पनि हरेक दिन गाउँका घर चाहार्छन । गाउँका कुवा, पँधेरा, बाटाघाटा र पुलपुलेसाको सरसफाई एवं मर्मतमा ध्यान दिन्छन् ।
काजुमासा नेपाल र जापान दुवै ठाउँमा ओके बाजेका नामले प्रख्यात छन् । नयाँ नामको न्वारान पाल्पामै भएको हो । केटाकेटी भनेपछि हुरुक्कै हुने उनी र स्थानीय बालबालिकाबीच हुने कुराकानीमा शुरुशुरुमा भाषाको समस्या थियो । ज्यादाजसो उनी ‘ओके ओके’ मात्र भनिरहन्थे । त्यसैले केटाकेटीले उनलाई ओके बाजेको उपाधि दिए । उनलाई देख्ने वित्तिक्कै त्यहाँका बालबालिका मगर भाषामा भन्न थाले– ‘बाजी राहा ।’ अर्थात बाजे आए । आफ्नो अभियानमा वर्षेनी १० महिना पाल्पा र २ महिना जापान बस्ने नियम बनाएका ओके बाजे तिनै केटाकेटीको मुस्कानमा सबथोक पाउँछन् । घाँटीमा तौलिया बेरेका, ढाडमा पुरानो रुकस्याक भिरेका, झ्याप्प दारी पालेका ओके बाजे दैनिक पाँच घण्टा उकाली ओराली गर्छन् । सन् १९४२ देखि १९५४ सम्म म्याराथन धावक ओके बाजे भन्छन– ‘त्यसैको बलले मलाई गाउँमा उकाली ओराली गर्न अप्ठ्यारो परेन ।’
टोकियो विश्वविद्यालयबाट अर्थशास्त्र र शिक्षामा स्नातकोत्तर उनले जापानकै एक उच्च माध्यमिक विद्यालयमा २३ वर्षजति पढाएर निवृत्तिभरण लिएका हुन् । तर, अवकाशपछि आराम लिन मन मानेन उनको । कालापत्थरबारे जापानमै सुनेर आकर्षित भएका ओके बाजे सन् १९८८ मा नेपाल आएका हुन् । यो ठाउँले उनलाई मोहनी मात्र लगाएन, समाज सेवाको गोरेटो नै बसालिदियो । समाजसेवाको भोक पूरा गर्न पाल्पा नै रोज्नु पछाडि एउटा संयोग जोडिएको छ । कालापत्थर जाँदा उनले पाल्पाली ठिटो तिलक आलेमगरलाई भेटे । तिलककै आग्रहमा उनले पाल्पाको ढोलिमाराबाट सेवाको बत्ती झुल्काएका हुन् ।
शुरुवातका दिनमा कम कठिनाई भएन । खानपान, भाषा, पैदल यात्रा । अंग्रेजी भाषा नबुझ्ने गाउँले माझ तीन वर्षसम्म बस्दाको अनुभव उनले जापानी भाषामा लेखेको ‘ओके बाजे’ पुस्तकमा मार्मिक ढंगमा वर्णन गरिएको छ । जसमा सेवायात्राको सम्झना पनि रोचकसंग गरिएको छ । ढोलिमारा गाउँ पुगेपछि उनले गाउँलेलाई सोधेछन– ‘तपाईंहरुलाई के चाहिन्छ ?’ गाउँलेले भनेछन– ‘प्रौढ शिक्षा भवन ।’ त्यसैको देखासिकी गर्दै छिमेकी गाउँका मानिसले पनि त्यही माग दोहोर्याएछन् । बस्दै जाँदा उनले त्यो गाउँमा खानेपानीको विकराल समस्या देखे । ओके बाजेले सम्पूर्ण गाउँमा खानेपानीको व्यवस्था मिलाइदिए । यसरी काम गर्दै जाँदा पाल्पाका खलिवन, गाँडाकोट, गेझा, गल्धा, जल्पा, ज्यामिरे, झिरुवास, ताहु, दर्छा, देवीनगर, फोक्सिङकोट, वाकामलाङ, वीरकोट, मित्याल, रामपुर, रिङनेरह, पिपलडाँडा, सहलकोट, सिलुवा, हुमिन, हेक्लाङ र अर्चले गरी २२ वटा गाउँलाई उनले आफ्नो कार्यक्षेत्रमा विस्तार गरे ।
प्रौढ शिक्षा, खानेपानी पछि स्वास्थ्योपचारलाई उनले आफ्नो कामको प्राथमिक सूचिमा थपे । अचम्म त के छ भने सबै कामको अनुगमन उनी स्वयं गर्छन् । सबै गाउँ घुम्न एक महिना लाग्छ । कामको सिलसिलामा जहाँ रात पर्छ, त्यहीँ बास बस्छन् । चुलोमा जे पाकेको हुन्छ, त्यही स्वाद मानेर खान्छन् । सबैलाई उनले भन्ने सन्देश एउटै छ– ‘संसारका सबै मानिस एक हुन् । भावना फराकिलो भएपछि तेरो मेरो भन्ने साँगुरो विचारधाराबाट मानिस माथि उठ्छ । मानव सन्तानलाई जहाँ पनि माया, ममता सेवा र सहयोग दिन सकिँदो रहेछ । सहजाति र सहभाषी भन्ने संकीर्ण भावनाबाट पनि मुक्ति मिल्दो रहेछ ।’
पुरानो रुकस्याक नै उनको कार्यालय हो । जसमा स्लिपिङ ब्याग, केही औषधी, नोटबुक, क्यामेरा, चकलेट, टुथपेस्ट, ब्रस, केही थान कपडा कहिल्यै छुट्दैनन् । यसबाहेक कहिले स्कुललाई बाँड्ने शैक्षिक सामग्री त कहिले स्वास्थ्य केन्द्रलाई दिइने स्वास्थ्य उपकरण पनि त्यही झोलामा अटाइ नअटाई बोकेरै हिँडेका हुन्छन् उनी । उनको काम देखेकाहरु शहरमा कार्यालय खोल्न सल्लाह दिन्छन् । तर उनलाई आफ्नै शैली उत्तम लाग्छ । समाजसेवाका लागि छुट्याएको पैसा कार्यालय, कर्मचारीमा खर्च गरेको उनलाई रत्तिभर मन पर्दैन । गाउँको समस्या भारी बोकेरै गर्नुपर्छ भन्ने विचारबाट ओके बाजेका दिन वित्ने गर्छन् ।
उनले गरेको सेवाबाट गाउँले त खुसी छन् नै, तर त्यो भन्दा बढी सन्तुष्ट चाहिँ ओके बाजे नै छन् । उनी भन्छन– ‘मैले दिएभन्दा बढी पाएको छु । बालबालिका चोटपटक र विरामीबाट निको हुँदा औधी खुशी हुन्छु । त्यस्तै स्वास्थ्य चौकी, विद्यालय भवन र झोलुँगे पुल बन्दा पनि मलाई असाध्य सन्तोष लाग्छ ।’ उनी साना झुपडीका आँखीझ्यालबाट ठूला समस्या निदान गर्न मन पराउँछन् । दुखी, गरिब, निमुखा र दुर्गम भेगका बासिन्दा उनका मुख्य सरोकार हुन् ।
मध्यम वर्गीय परिवारका सदस्य ओके बाजे प्रशस्त सम्पत्ति भएर समाजसेवामा उत्रिएका होइनन् । समाजसेवाका लागि ठूलो मन र प्रतिवद्धता हुनुपर्छ भन्नेमा उनी उदाहण बनेका छन् । ओकेबाजेको अनुभवमा गाउँलेको विश्वास जित्न सकियो भने जस्तोसुकै अप्ठ्यारो काम पनि पार लाग्छ । गाउँको योजना गाउँलेकै लागि हो भनी गौरव गर्न सक्ने बनाउन सक्नु झन ठूलो सफलता हो । ओके बाजेले यसक्षेत्रमा २० करोड बढी खर्च गरिसकेका छन् ।
ओके बाजेका लागि गाउँमा खान बस्न पैसा लाग्दैन । जहाँ जाउ उहाँ सत्कार हुन्छ । खाना, खाजा गाउँलेको सौजन्यमा टरेको छ ।
गाउँको खाना धेरै पिरो र नुनिलो हुने उनको अनुभव छ । अब त जिब्रो बानी परिसकेको छ । गाउँलेले बाजेलाई मायाप्रेमसंगै उच्च सम्मान पनि दिएका छन् । त्यसले त झन् ओके बाजेलाई थप हौसला मिलेको छ । बडो मितव्ययी जीवनशैली छ उनको । जोकोहीको हातमा मोबाइल छ, तर ओके बाजे मोबाइल नै बोक्दैनन् । ओके बाजेको सहयोग कति व्यवस्थित छ भने विकासको काम शिलान्यासदेखि उद्घाटनसम्मको जिम्मेवारी फत्ते भएपछि मात्र उनी फुर्सदिला हुन्छन् ।
ओके बाजेले प्राथमिक र पूर्वप्राथमिक तहका विद्यार्थी केन्द्रित गरेर पाल्पा जिल्लाको पूर्वी भेगमा दजनौं बाल विहानी कक्षा सञ्चालनका लागि सहयोग गरेका छन् । यहाँका ५० प्रतिशत बढी जीर्ण विद्यालय भवनलाई नयाँ रुप दिएका छन् । ती विद्यालयहरु बाजेको सहयोगबाट शौचालय, छात्रवृत्ति, फर्निचर, पुस्तकालय लगायतका भौतिक पूर्वाधारले सुसम्पन्न भएका छन् ।
यसबाहेक बाजेले शिक्षक तलबको व्यवस्था समेत गरेका छन् । गाउँघरका आँगनचोटा, पिँढी र छिँडीहरुमा पुगिरहने ओके बाजे फाटेको लुगा आफैं तुनेर लगाउँछन् । स्थानीय किसान खेमबहादुर भन्छन– ‘मदनपुरका जलदेवता हुन ओके बाजे । मिल्ने भए घरघरैमा मूर्ति बनाएर राख्थ्यौं । बाजेको भारा चानचुने हिसावमा तिर्न सकिदैन ।’
एकपटक भेटेको मानिस कहिल्यै भुल्दैनन बाजे । त्यसैले विदेशबाट फर्किएकाहरु भाइभतिजासरि खुशी हुन्छन् । ‘एकजनालाई सय पाइला अगाडि बढाउनुभन्दा सय जनालाई एक पाइला अघि बढाउनु नै विकास हो ।’ योगी, सन्त, महात्माजस्तो जीवनशैलीका ओकेबाजे भन्छन् । उनी शिफारिस मन पराउँदैनन् । बाजे जन्मले विदेशी भएपनि कर्मले नेपाली हुन । ‘बाँकी जीवन पूर्वी पाल्पामै विताउन चाहन्छु ।’ उनी भन्छन्– ‘मेरो अन्तिम इच्छाबारे परिवारका सदस्यलाई भनिसकेको छु ।’