मैत्रीपूर्ण खेलमा तेन्दुलकरको टोली विजयी
काठमाडौँ । मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सचिन तेन्दुलकरको टोली विजयी भएको छ । तेन्दुलकरको टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको टोलीलाई ९ विकेटले पराजित गर्यो । त्रिवि क्रिकेट मैदानमा भएको दश ओभरको खेलमा ४५ रनको लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमै १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकिपरको भूमिका निभाउँदै समर्थकलाई मनोरञ्जन प्रदान गरेका थिए । सचिनले ७ रन बनाएर अन्य खेलाडीलाई मौका दिएका थिए । सचिनले एक चौका प्रहार गरे ।
सचिनले मैदानमा खेलाडीलाई ब्याटिङ र बलिङ दुबै कुरा सिकाए । खेलमा विनोद दासले १ विकेट लिए । टस हारेर विनोद दासको टोली रेडले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।
कीर्तिपुरमा सचिनले नेतृत्व गरेको बालबालिकाको एउटा टोली र नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले नेतृत्व गरेको बालबालिकाकै अर्को टोलीबीच मैत्रीपूर्ण क्रिकेट भएको हो ।
युनिसेफ नेपालले आयोजना गरेको मैत्रीपूर्ण खेलमा सहभागी हुन सचिन शुक्रबार राती नेपाल आएका हुन् । उनी शनिवार नै भारत फर्कने कार्यक्रम छ । बालअधिकार सम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो ।
क्रिकेटमा ‘लिटिल मास्टर’का रूपमा समेत चिनिने सचिन युनिसेफका दक्षिण एशियाली सद्भावना दूत हुन् ।