स्वास्थ्य

वायु प्रदूषणको च्याम्वर बन्दै उपत्यका : श्वासप्रश्वास, उच्च रक्तचाप र आँखासम्बन्धी रोगको अत्याधिक जोखिम

वायु प्रदूषणको च्याम्वर बन्दै उपत्यका : श्वासप्रश्वास, उच्च रक्तचाप र आँखासम्बन्धी रोगको अत्याधिक जोखिम

काठमाडौं । मौसम परिवर्तन भएसँगै उपत्यकामा प्रदूषणको मात्रा बढ्दो क्रममा छ । हरेक वर्ष प्रदूषणको विषय उठे पनि सरकारले न्यूनीकरणका लागि प्रभावकारी योजना ल्याउन सकेको छैन । प्रदूषणका कारण उपत्यकावासी आक्रान्त बनिरहेका छन् ।

प्रदूषण बढ्दै जाँदा उपत्यकामा बिरामीको संख्या बढ्दो क्रममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले सार्वजनिक गरेको तथ्यांकले पनि नेपालमा वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको देखाएको छ । वायु प्रदूषणको मापन गर्ने विषयमा सरकार सचेत भए पनि त्यसलाई न्यूनीकरण गर्ने विषयमा सरकारको योजना देखिँदैन । स्थानीय तहहरूले प्रदूषण न्यूनीकरणका लागि कुनै योजना बनाएका छैनन् ।

भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत प्रभाव परेको छ।  नेपालको पश्चिम तराईका भू–भागमा दूषित वायुको प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भूभागमा भारतीय वायुको आंशिक प्रभाव परेको छ । उद्योग, कलकारखाना र सवारीबाट निस्कने धुलो, धुवाँ, घरायसी र अन्य प्रयोजनका लागि बालिने आगोका कारण यो मौसममा वायु प्रदूषण बढ्ने गरेको विज्ञहरू बताउँछन् ।

दक्षिण एसियामा वायु प्रदूषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदूषण पनि उच्च छ । हेल्थ इफेक्ट्स इन्स्टिच्युट र इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्बन्धी रिपोर्ट २०१८ सार्वजनिक गरेको छ । जसअनुसार नेपालमा प्रति १ लाख मृत्युमा २१५ वायु प्रदूषणका कारण हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

यो दक्षिण एसियाकै उच्च हो । दोस्रो स्थानमा पाकिस्तान छ, त्यहाँ १ लाखमा २०७ को वायु प्रदूषणका कारण मृत्यु हुन्छ । बंगलादेशमा १९८, भारत १९४ छ । सबैभन्दा कम भुटानमा छ, त्यहाँ १ लाख मृत्युमा वायु प्रदूषणका कारण ११४ छ । नेपालमा वायु प्रदूषणका कारण हुने मृत्युको दर चीनको भन्दा पनि बढी पाइएको छ । चीनमा यो दर ११७ रहेको विश्वमा हावाको अवस्थासम्बन्धी रिपोर्टले जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा सबिन शर्माले लेखेका छन।  

विशेष