प्रधानमन्त्री ओलीद्वारा ‘एक्शन रुम’ बाट माथिल्लो त्रिशूली थ्री ‘ए’ उद्घाटन
काठमाडौंः नेपाल बिद्युत प्राधिकरणले समयमै काम गर्न नसकेको भनेर आरोप खेप्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट स्वीट थिचि माथिल्लो त्रिशूली थ्री ‘ए’ को औपचारिक उद्घाटन गरेका हुन् ।
गत चैतदेखि परीक्षणका रुपमा नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन भएको हो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गरेका छन् ।
आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान रहेको छ । लागत रु १२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।
इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।
आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।