फिफा विश्वकप छनौट : नेपाल कुवेतसँग १–० ले पराजित
भुटान । फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपाल १–० ले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो।
कुवेतलाई जित दिलाउन उसका कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । कुवेतविरुद्ध नेपालले पनि गोलको थुप्रै अवसर पाएपनि सदुपयोग गर्न सकेन । सुजल श्रेष्ठको क्रसमा २२ औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएको थियो ।
यस्तै ४० औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले मुस्किलले बचाएका थिए । यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो । हारसँगै छनोटको समूह बी मा रहेको नेपालले ५ खेलमा ३ अंक जोडेको छ ।