स्वास्थ्य

आफ्नै छालाबारे कति जानकार हुनुहुन्छ ?

आफ्नै छालाबारे कति जानकार हुनुहुन्छ ?

छाला नभए मान्छेको शरीर कस्तो होला ? यो कुरा कल्पना गर्दा पनि तपाईं तर्सनु हुन्छ । हो, छाला जस्तो टिकाउ परिधान मानिसले अहिलेसम्म आविष्कार गर्न सकेको छैन । एकदमै दामी र टिकाउ भनिएका कपडा पनि एकाध वर्षमा च्यातिन्छन, खुइलिन्छन् । छाता कोतरिए पनि फेरि पलाउँछ । त्यसैले छालालाई शरीरको अभिन्न आभूषण पनि भनिन्छ । 

शरीरविज्ञका अनुसार एक सामान्य मानिसको छालाको भार ६ पौण्ड हुन्छ । यसलाई फैल्याउने हो भने २५० वर्ग फिटको ठाउँ ढाक्छ । यसको सवैभन्दा पातलो पत्र आँखा र बाक्लो पाइतालामा हुन्छ । छालामा अनगिन्ती छिद्रहरु हुन्छन् । पसिनाको माध्यमबाट शरीरका विकार यही छिद्रबाट निस्कन्छ । छालाको एक वर्ग सेन्टिमिटर क्षेत्रमा एक मिटर रक्तवाहिनी रेशा हुन्छन् ।

मान्छेको छालाले २४ घण्टामा ५ देखि ६ सय ग्रामसम्म पानी निकाल्छ । छालाका प्वालहरुले पसिना मात्र हैन, श्वासप्रश्वासमा समेत उत्तिक्कै सक्रिय भूमिका निर्वाह गरेका हुन्छन् । यदि छालाका सबै प्वाल बन्द गरिदिने हो भने मान्छे भित्रभित्रै छटपटाएर केही छिनमै मर्ने अवस्थामा पुग्छ । प्राचीन समयमा मृत्युदण्ड दिने यस्तै एउटा अनौठो तरिका थियो ।

अपराधीका सम्पूर्ण शरीरभरि मैन पोतिन्थ्यो । उसले मैन हटाउन नसकोस भनेर हातखुट्टा बाँधिन्थ्यो । छालाका सम्पूर्ण छिद्रहरु बन्द भएका कारण उ छटपटाउँदै केही छिनमा निर्जीव हुन्थ्यो । छालामा जम्मा भएको मयलको पत्र हटाउने उद्देश्यले नै नुहाउने प्रचलन शुरु भएको हो– स्वस्थ शरीरका लागि ।

मान्छेले पनि काँचुली फेर्छ । सर्पको काँचुलीजस्तै मान्छेको प्रत्येक २६ दिनमा फेरिन्छ । तर यो फेरिने क्रम यति विस्तारो हुन्छ कि उसले पत्तै पाउँदैन । छाला फेरिएको कसैले देख्दैन । ओर्किन फर्किन नसक्ने कुनै रोगी धेरै दिन एकै ठाउँमा बसिरहेको भए उसको छालाबाट धुलो झरिरहेको देख्न सकिन्छ । शरीर रगड्दा मयलजस्तै मृत छालाका अंशहरु झर्न थाल्छन् ।

हामी देख्दैनो, यद्यपि छालाका कोशिका मर्दै जान्छन् । र नयाँ कोशिकाहरु जन्मछन् । मान्छेको छाला बाहिरी आवरण वा पत्र मात्र होइन, यसमा ज्ञान तन्तुहरुको सञ्जाल हुन्छ । यो यति संवेदनशील हुन्छ कि हावाको सानो झोंक्का वा लामखुट्टे शरीरमा बस्दा पनि त्यसको सूचना तुरुन्तै मस्तिष्कमा पुर्याउँछ । फलस्वरुप मस्तिकष्कले त्यसको प्रतिरोध गर्न निर्देशन दिन्छ । यी ज्ञान तन्तुहरुको लम्बाई ४५ माइल भएको अनुमान छ ।

अर्को किसिमले विश्लेषण गर्ने हो भने छाला सौन्दर्य पनि हो । त्यसमा मेलनिनको कण पनि हुन्छ ।  यसले छालाको रंग निर्धारण गर्दछ । शरीरको छाला निक्कै संवेदनशील पनि हुन्छ । यसबाट एक्सरे मेसिनको जस्तो काम पनि लिन सकिन्छ । यसको संवेदनशीलताको सही उपयोग गर्न सकियो भने छालाको स्पर्शबाटै शरीरभित्रका अदृश्य भागको पूर्ण जानकारी लिन सकिने चिकित्सकहरुको भनाइ छ । 

तपाईंहरुले ब्रेललिपिबारे सुन्नुभएको हुनुपर्छ  । यो पनि छालाको चेतनाबाटै सञ्चालित विधा हो । औंलाको छालामा एकप्रकारको विशेष चेतना हुन्छ, जसले छुनेवित्तिक्कै संकेत बुझ्छ र त्यसको सन्देश मस्तिष्कमा पठाउँछ । यो क्षमता शरीरका अन्य भागमा हुन्छ हुँदैन भनेर अनुसन्धानमा विज्ञहरुका लागिपरेका छन् । पाखुरा, काँध, ढाड र खुट्टाका औंलामा पनि यसप्रकारको संवेदनशीलता विकास गर्न वैज्ञानिकहरु अहोरात्र जुटिरहेका छन् ।  
 

छाला रक्तवाहिनी रेशा

विशेष