चितुवा नियन्त्रण गर्न ३० लाख बजेट
तनहुँ । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार आवश्यक परे थप बजेट विनियोजन गरिनेछ ।
चितुवा नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने मन्त्री गुरुङले बताए । “चितुवाको आक्रमणले भानुमा ६ बालबालिकाको ज्यान गइसकेको छ,” मन्त्री गुरुङले भने, “चितुवा नियन्त्रणका लागि के कस्ता काम गर्न सकिन्छ सबैका लागि प्रदेश सरकारको सहयोग रहनेछ ।”
प्रदेश सरकारले विनियोजन गरेको बजेट सामुदायिक वनमा खोर निर्माण, सचेतनामूलक कार्यक्रम लगायतका काममा खर्च गरिने डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।