मुख्य समाचार

‘घुमुवा’ले बदनाम हुँदै नेपाल प्रहरी, गोप्य रूपमा सूचना संकलन गर्नुपर्नेमा लुटपाट

‘घुमुवा’ले बदनाम हुँदै नेपाल प्रहरी, गोप्य रूपमा सूचना संकलन गर्नुपर्नेमा लुटपाट

काठमाडौंः असइ प्रितम लामा महानगरीय प्रहरी परिसरको विशेष टिममा थिए । डिएसपी होवीन्द्र बोगटीको कमान्डमा सादा पोसाकको प्रहरी टोलीका उनी एक सदस्य थिए । प्रहरीका महत्वपूर्ण अप्रेसनमा सहभागी भएर धेरै अभियुक्त पक्राउ गरेका उनी पैसाको लोभमा परेर आफैँ अपराधमा लागे । गत साउनमा बौद्धमा ६ सय ग्राम सुन लुटपाटमा संलग्न भएको खुलेपछि उनलाई नै हिरासतमा राखेर परिसरले मुद्दा चलायो । हाल उनी जेलमा छन् । 

असइ सन्तोष सुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले आफ्नो विशेष टोलीका इन्चार्जका रूपमा खटाएका थिए । सुवेदीको टोलीले अपराध अनुसन्धानमा केही राम्रा काम पनि गरेका थिए । काम गर्ने मात्र नभई उनीहरू अवैध असुलीका गतिविधिमा पनि संलग्न थिए । ९ कात्तिकमा उनको असली रूप थाहा भयो ।

लेकसाइडको होटेल क्रिस्टल प्यालेसमा उनीहरू छापा हान्न गएका थिए । जुवाखालबाट बरामद एक लाख २० हजार रुपैयाँ उनीहरूले आफ्नो स्कुटरमा लुकाएका थिए । जसमा असइ गौतमसहित जवान अनिल ढकाल र जीवनाथ लामिछानेको समेत संलग्नता थियो । हाल उनीहरूलाई निलम्बन गरेर कारबाही अघि बढाइएको छ । 

यी घटनाले सूचना संकलन र अपराध अनुसन्धानका नाममा खटाइने ‘घुमुवा प्रहरी’हरू कस्ता गतिविधिमा संलग्न हुन्छन् भन्ने प्रस्ट हुन्छ । सादा पोसाकमा खटिने प्रहरीहरू विगतमा पटक–पटक विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका थिए । जसका कारण संगठन नै बदनाम भएको थियो । तर, प्रहरी नेतृत्वले उनीहरूलाई सच्याउन कुनै पहल गरेको छैन । 

यस्ता प्रहरीलाई अपराध अनुसन्धान समूह बनाएर परिचालन गर्न पाँच वर्षअघि नै प्रहरी प्रधान कार्यालयले योजना बनाएको थियो । उनीहरूलाई गैरकानुनी गतिविधिबाट रोक्न अपराध अनुसन्धान विभागले नियमन गर्ने योजना बनाएको थियो । तर, योजना कार्यान्वयन नहुँदा उनीहरूका अवैध गतिविधि बढेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

नेपाल प्रहरी लुटपाट घुमुवा

विशेष